सञ्चालनमा आएन आयुर्वेद शिक्षण अस्पताल

खेमराज रिजाल
बेलझुण्डी, ५ पुस । नेपाल संस्कृत विश्वविद्यालय मातहतको आयुर्वेद स्नातक तह (बिएएमएस)का विद्यार्थीहरूका लागि शिक्षण अस्पताल अझै सञ्चालनमा आउनसकेको छैन । शिक्षण अस्पताल सञ्चालनमा नआउँदा यो वर्ष पनि विद्यार्थीहरूलाई ओजेटी गर्न एलोप्याथिक अस्पतालमै धाउनुपर्ने वाध्यता देखिएको छ ।

यस अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजौरी आयुर्वेद अस्पताल र तुलसीपुर प्रादेशिक अस्पतालमा यहाँ अध्ययनरत विद्यार्थीहरूले ओजेटी गर्दै आएका छन् । बल्लतल्ल ओपिडी सेवा सञ्चालनमा आइरहँदा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणसँगै यहाँको शिक्षण अस्पताललाई प्रदेश सरकारले अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालन गरेपछि ओपिडी सेवा मात्र होइन सम्पूर्ण पठनपाठन नै दुई वर्षदेखि ठप्प थियो ।

कोरोना भाइरसको संक्रमण मत्थर भएसँगै अस्थायी अस्पताललाई तुलसीपुरको प्रादेशिक अस्पतालमा सारेपछि विएएमएसको सैद्धान्तिक कक्षा केही सातादेखि सञ्चालनमा आए पनि ओपिडी सेवा भने सञ्चालनमा आउन सकेको छैन । क्याम्पस प्रशासनले ओपिडी सेवा सञ्चालनको सम्पूर्ण तयारी भए पनि प्रयोगशाला सञ्चालनका लागि आवश्यक प्राविधिक नभएका कारण सञ्चालन हुन नसकेको बताइएको छ । यस अघि कार्यरत प्राविधिक (विएमएलटी सरहको)को सडक दुर्घटनामा निधन भएसँगै सो पद खाली रहेको थियो तर विश्वविद्यालय प्रशासनले सो तहमा नयाँ प्राविधिकको व्यवस्थापन अझैसम्म गर्न सकेको छैन ।

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको विएएमएस कोर्षका ५ वटा व्याच पास आउन भइसकेका छन् तर बाँकी ५ वटा व्याचको पढाइ सुरु भए पनि प्रयोगात्मक कक्षा अझै पनि नियमित हुन सकिरहेको छैन । ओपिडी सञ्चालनमा नआउँदा उनीहरूले ओजेटी गर्न समेत समस्या भएको छ । पाँच वर्षे आयुर्वेद स्नातक तह उत्तीर्ण गर्न विद्यार्थीहरूलाई कम्तिमा ७ वर्षसम्म समय लागिरहेको अवस्थामा बेलझुण्डीमा सञ्चालित आयर्वेद केन्द्रीय विद्यापीठमा शिक्षण अस्पतालसँगै ओपिडी सेवा समेत अझै अनिश्चित बनेको छ ।

यस अघि विभिन्न विधामा कम्तिमा ४ विशेषज्ञ सेवा सहितको ओपिडी र प्रयोगशाला समेत सञ्चालनमा आएको थियो । शिक्षण अस्पताललाई स्वीकृति दिलाउनका लागि करिब–करिब एक सय बेडको आइपिडी समेत व्यवस्थापन हुन थालेको थियो । तर, कोरोना भाइरसको संक्रमणसँगै प्रदेश सरकारले दुई वर्षसम्म यो अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाएपछि आयुर्वेद अध्ययन गर्ने विद्यार्थीहरूको ओपिडीसँगै प्रयोगशाला समेत बन्द प्रायः रहे ।

‘हामी एक÷दुई दिनमे ओपिडी चलाउने अन्तिम तयारीमा छौँ तर ओपिडी सेवासँगै सामान्य प्रयोगशाला परीक्षणका लागि प्राविधिक जनशक्तिको व्यवस्थापन हुन नसक्दा समस्या देखिएको छ’, आयुर्वेद केन्द्रीय विद्यपीठका प्राचार्य प्राडा मंगलाकान्त झाले भने । ओपिडी र आइपिडी कक्ष सञ्चालनका लागि सामान्य प्रयोगशाला परीक्षण अपरिहार्य हुन्छ तर विश्वविद्यालयले प्राविधिकको व्यवस्थापन गर्न सकेको छैन । विश्वविद्यालयका पदाधिकारीहरू यो विषयमा कत्ति पनि गम्भीर देखिएका छैनन् ।

‘हामीले विएमएलटी सरहको प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि पटक–पटक लिखित एवं मौखिक पत्राचार समेत पदाधिकारीहरूलाई गराइसकेका छौँ तर अझै पनि प्राविधिक व्यवस्थापनको टुङ्गो लाग्न सकेको छैन’, प्राचार्य झाले भने । विश्वविद्यालय विनियमअनुसार विएएमएस क्याम्पसमा प्रयोगशालाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने जिम्मा केन्द्रीय कार्यालयको हो तर केन्द्रीय कार्यालयले यो विषयमा कुनै गम्भीरता देखाउन नसकेको गुनासो स्वयम् विद्यार्थीहरूले बारम्बार गर्दै आएका छन् । यसैगरी अस्पताल फार्मेसीमा पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन ।

सरकारी शिक्षण अस्पतालमा ओपिडी सञ्चालन गरेसँगै अस्पताल हातामै औषधी उपलब्ध हुन सकेन भने बिरामी आउने कुनै सम्भावना नै नरहने क्याम्पस प्रशासनले जनाएको छ । सामान्य रूपमा सुगर परीक्षण गर्न समेत प्रयोगशाला नहुने र औषधी पसल पनि नहुने अवस्थामा ओपिडी सेवा सञ्चालनको परिकल्पना समेत गर्न नसकिने क्याम्पस प्रशासनको भनाइ रहेको छ ।

भर्खरै प्लस–टुको नतिजा सार्वजनिक भएको छ । अब चाँडै नै फेरि चिकित्सा शिक्षा आयोगको बेलझुण्डीमा स्थलगत अनुगमन हुनेछ । अबको एक महिनाभित्र हुने अनुगमनमा आयुर्वेद विद्यपीठले कम्तिमा ४ वटा विशेषज्ञ सहितको ओपिडी सेवा र कम्तिमा एक सय बेडको आइपिडी सेवा सञ्चालन गरेको अवस्थामा मात्र विश्वविद्यालयलाई आयुर्वेद चिकित्सामा विएएमएस सञ्चालनका लागि शिक्षण अस्पतालको अनुमति हुन सक्छ तर पछिल्लो यो अवस्थाले तत्काल ओपिडी सेवा समेत सञ्चालन हुने देखिँदैन । एक÷दुई दर्जन दैनिक बिरामी नआएको अवस्थामा ओपिडी सञ्चालनको कुनै अर्थ रहँदैन ।

कोरोना अस्थायी अस्पतालका नाममा दुई–दुई वर्षसम्म यस क्याम्पसमा सञ्चालन भइरहँदा विश्वविद्यालयले केही पाउनुको साटो धेरै संरचनाहरू तोडमरोड समेत भएका छन् । यो अस्पताललाई एकीकृत विशेष सरुवा रोग अस्पताल बनाउने तात्कालीन प्रदेश सरकारका मुख्यमन्त्रीले आश्वासन बाँडे । तर, कोरोना अस्पताल तुलसीपुर सारिरहँदा बेलझुण्डीले प्रदेश सरकारबाट कुनै सहयोग पाउन सकेन ।

प्रदेश स्तरीय सरुवा रोग अस्पताल बनाउने भन्दै विश्वविद्यालयलाई झुठो आश्वासन दिइरहेको प्रदेश सरकारले अन्ततः प्रदेश स्तरीय विशेष सरुवा रोग अस्पताल कपिलवस्तुमा बनाउने निर्णय गर्दै बजेट समेत विनियोजन गरेको छ । बेलझुण्डस्लाई भने केही सहयोग प्रदेश सरकारबाट हुन सकेन ।

घटे बिएएमएसमा विद्यार्थी

चिकित्सा शिक्षा सेवा आयोगको गुणस्तर मापन परीक्षामा उत्तीर्ण हुन नसकेपछि नेसंवि बिएएमएस क्याम्पसमा विद्यार्थीहरू पनि घटेका छन् । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यपीठमा एक वर्षमा ४० जनाले बिएएमएस अध्ययन गर्नसक्ने गरी पूर्वाधार निर्माण भएको छ । त्यत्तिकै कोटाको स्वीकृति समेत पाएको छ तर यो शैक्षिक सत्रमा बेलझुण्डी विश्वविद्यालय मातहतको यो क्याम्पसमा जम्मा १२ जना विद्यार्थीहरू मात्र भर्ना हुन पाएका छन् । ती सबै विद्यार्थीहरू पूर्ण छात्रवृत्तिका हुन् । जसका कारण आयुर्वेद क्याम्पसको आर्थिक स्रोत पनि भारी मात्रामा घटेको छ ।

यस अघि नेपाल संस्कृत विश्वविद्यालयले नै आयुर्वेद चिकित्सा क्षेत्र स्नातक तह (बिएएमएस) तहको प्रवेश परीक्षाको जाँच नेपाल संस्कृत विश्वविद्यालयले नै ल्याउने गरेको थियो । विश्वविद्यालयले जाँच लिँदा आवश्यक कोटा संख्या वमोजिम उत्तीर्ण गराउने गरिएको थियो । यसमा सशुल्क र छात्रवृत्ति दुवैका विद्यार्थी भर्ना हुन्थे तर यो वर्षदेखि चिकित्सा शिक्षा सेवा आयोगले परीक्षा लिँदा थोरै मात्र विद्यार्थीहरू प्रवेश परीक्षामा उत्तीर्ण भए । यही कारण जम्मा १२ जना विद्यार्थीहरू मात्रै क्याम्पस भर्ना हुन पाएका छन् । ‘हामी यति मात्रै विद्यार्थीलाई पढाउँदा आर्थिक रूपले पनि सशक्त हुने छैनौँ, आशा छ चिकित्सा सेवा आयोगले अरु विद्यार्थीहरू पठाउने छ’, क्याम्पसका प्राचार्य झाले भने, ‘तर आयोगले फेरि विद्यार्थी पठाउला नपठाउला केही भन्न सकिने अवस्था छैन ।’

यस अघि क्याम्पसमा प्रतिवर्ष करिब ४० जना विद्यार्थीहरू भर्ना हुँदै आएका थिए । हाल नेपाल संस्कृत विश्वविद्यालय मातहतको आयुर्वेद क्याम्पसमा ५ वटा व्याचका गरी करिब पौने २ सय विद्यार्थी विभिन्न सेमेस्टरमा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा सेवा आयोगले आयुर्वेद क्याम्पस सञ्चालनका लागि ५१ जना विशेषज्ञ चिकित्सकको दरबन्दी निर्धारण गरे पनि नेपाल संस्कृत विश्वविद्यालय मातहतको यो क्याम्पसमा भने जम्मा १५ जना विशेषज्ञ चिकित्सकहरूको पद पूर्ति भएको सो क्याम्पसले जनाएको छ । त्यसमा पनि अधिकांश अस्थायी र करारमा रहेका छन् । शिक्षण अस्पताल समेत सञ्चालनका लागि यी दरबन्दी पर्याप्त हुन सक्दैनन् ।