चारलेनमा हेलचक्राइ

करिब दुई महिना अघि निर्माण सम्पन्न भइसक्नुपर्ने दाङ जिल्लाका प्रमुख बजार घोराही–तुलसीपुर जोड्ने चारलेन सडक निर्माण अझै पनि अर्थपूर्ण रुपमा सुरु हुनसकेको छैन । यस अघिका पेटी ठेकेदारले थला पारेर छाडेको चारलेन सडकलाई पूर्णता दिन भारतको आधिकारिक निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले फेरि तीनवटा पेटी ठेकेदार उभ्याएका त छन्, यद्यपि कामले गति लिनसकेको छैन ।

अघिल्लो पेटी ठेकेदारमार्फत् जम्मा ७ प्रतिशत मात्र भौतिक प्रगति भएको परियोजना कार्यालयले जनाएको छ । चारलेन सडक निर्माणमा ढिलासुस्ती भइरहँदा प्रमुख जिल्ला अधिकारीको समेत निद हराम भइरहेको छ । पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदा–दिँदा दिक्क भएपछि अन्ततः शुक्रवार प्रमुख जिल्ला अधिकारीले तीनैजना पेटी ठेकेदार र तथ्य इन्जिनियरिङका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर तथ्यको तथ्य जान्ने प्रयास समेत गरे तर अझै पनि कामले गति लिने कुनै लक्षण देखिएको छैन ।

भारतको एक्जिम बैंकको लगानीमा निर्माण हुने सडक स्तरोन्नति परियोजनाका लागि कच्चा पदार्थको अभाव छैन । पैसाको कुनै पनि अभाव छैन । गाडीघोडा सबै भारतबाट भन्सार सहुलियतमै आउन पाउने सम्झौतामै उल्लेख छ । यति हुँदाहुँदै पनि दुई वर्षसम्म चारलेन परियोजना कछुवाको तालमा चलिरहँदा यसले नागरिक आक्रोश मात्रै बढाएको छैन, यस अवधिमा बिगारिएको सडकमा कम्तिमा पनि एक दर्जनभन्दा बढीले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । दैनिक यातायात सेवा कष्टकर बन्दै गएको छ । आवागमनमा निकै कठिनाइ उत्पन्न भएको छ । बिग्रिएको सडकमा यात्रा गर्दा हजारौँ सवारी साधनका इन्जिन समेत बिग्रिइरहेका छन् तर निर्माण कम्पनी कहिले एउटा त कहिले अर्को पेटी ठेकेदारलाई अघि सारेर काममा ढिलासुस्ती गरिरहेको छ ।

चारलेन सडक ठेकेदारको कमजोरीकै कारण मात्रै स्वीकार्न सकिँदैन । निर्माण कम्पनीलाई काम लगाउने विषयगत परियोजना कार्यालय पनि लमहीमै रहेको छ तर यसबीचमा लमहीमै रहेको विषयगत परियोजना कार्यालयले ढिलासुस्तीका विषयमा एक पटक पनि समीक्षात्मक विज्ञप्ति जारी गर्नसकेको छैन । कार्यालयका अधिकारीहरु ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही प्रक्रियामा लैजानुको साटो स्वयम् सम्पर्कविहीनजस्तै भएर समय खर्चिरहेका छन् । संघीय कार्यालयले कुनै आधिकारिक अभिव्यक्ति सार्वजनिक गरिरहेको छैन ।

राजनीतिक दल, नागरिक समाज तथा उद्योगी व्यवसायीहरुले समेत यो परियोजनाको आलोचना सामाजिक सञ्जालमा गर्नुबाहेक कुनै अर्थपूर्ण समाधानका लागि सरकारलाई दबाब दिन सकिरहेका छैनन् । काममा यति धेरै लापरबाही हुँदा पनि तैँ चुप मै चुपको अवस्था किन भइरहेको छ ? किन चारलेन परियोजनामा खेलाँची भइरहेको छ ? नागरिकले सरकारलाई यही प्रश्न सोधिरहेका छन् । जिल्लाको गौरवको योजनामा काम गर्न नसक्ने जोसकुै निर्माण व्यवसायी भए पनि सरकारले काम लगाउन सक्नुपर्दछ या त कारबाही प्रक्रिया अघि बढाएर ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान उपयुक्त हुन्छ । चारलेन सडक परियोजनामा खेलाँची नगरौँ ।