शेर बने शेरबहादुर

सुभाष न्यौपाने
कांग्रेसको मानचित्रमा फेरि राज गर्ने गरी ।
सभापतिमा बाजी मारे शेरबहादुरले फेरि पनि ।।
बधाई छ तिमीलाई संगठन गतिशील बनाउ ।
शुभकामना छ फेरि पनि कांग्रेसको सरकार बनाउ ।।

मंसिर २४ को उद्घाटनसत्रसँगै पार्टी सभापतिमा शेरबहदाुर देउवा निर्वाचित भएसँगै चौधौँ महाधिवेशनको समापन भएको छ । २०७८ मंसिर २९ को नतिजाअनुसार देउवा दोस्रो कार्यकालको लागि नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएका हुन् । जम्मा मतदाता अर्थात् महाधिवेशन संख्या ४ हजार ७ सय ४३ रहेकोमा चार हजार ६ सय २३ मत खसेको थियो भने जसमध्ये शेरबहादुर देउवाले दुई हजार सात सय ३३ मत प्राप्त गरेर विजय हासिल गरेका थिए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला एक हजार ८ सय ५५ मत प्राप्त गरेका थिए भने खसेको मतमा ३५ मत बदर भएको थियो ।

जसमा देउवा र कोइरालाबीचको मतान्तर ८ सय ७८ रहेको छ । मंसिर २७ गते भएको पहिलो चरणको मतदानमा कसैले पनि स्पष्ट बहुमत हासिल गर्न नसक्दाको कारण फेरि दोस्रो चरणको मतदानमा जानु परेको हो । पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो भने चुनावी मैदानमा शेरबहादुर शेखर, प्रकाशमान, बिमलेन्द्र र कल्याण गरी जम्मा पाँच प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका थिए भने शेरबहादुरले २ हजार २ सय ५८, शेखरले एक हजार ७ सय २ मत प्राप्त गरेका थिए भने त्यसमा शेरबहादुरको मत प्रतिशत ४८ दशमलव २५ प्रतिशत रहेको थियो भने शेखर कोइरालाको ३६ दशमलव ३७ प्रतिशत रहेको थियो ।

अन्य उम्मेद्वारहरु प्रकाशमान सिंहले ३ सय ७१ प्राप्त गरेका थिए । जसको खसेको मतको अनुपातमा ७ दशमलव ९२ प्रतिशत हुन आउँछ । त्यस्तै निधिले २ सय ५० मत अर्थात् खसेको मतको ५ दशमलव ३४ प्रतिशत र कल्याण गुरुङले सभापति पदको उम्मेद्वार बनेर प्रतप्त गरेको मत संख्या २२ जस्तो खसेको मतको अनुपातमा शून्य दशमलव ४७ प्रतिशत हुन आउँछ । एक प्रतिशत पुगेको छैन । चौधौँ महाधिवेशनको नतिजाबाट नेपाली कांग्रेस शेरबहादुर, देउवालाई दोस्रो कार्यकालको लागि पुनः सभापति बनाएको छ भने अर्को धारको नेताका रुपमा शोखर उदय भएका छन् ।

सिंह र निधिहरु राजनैतिक दौडको थकानबाट विश्राम लिन पुगेको देखिन्छ । यस मानेमा प्रधानमन्त्री तथा निवर्तमान सभापति फेरि पनि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुन सफल भएकोमा नेपाली जनता र नेपाली कांग्रेसको समग्र कार्यकर्ताले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन् । विश्वास नभए पनि आश गरिरहेका छन् अब त शेरबहादुरले देश र जनताको लागि केही गर्छन् कि भनेर ।

प्रश्न पनि उठिरहेको छ नेपाली राजनीतिमा शेरबहादुरलाई नेपाली कांग्रेसको पार्टी सभापतिमा जिताउन पश्चिम र दक्षिणले किन साम र दामको रणनीति अवलम्बन गरे ? यसको जवाफ पनि शेरबहादुरजीले जनतालाई दिनुपर्ने हुन्छ । मुलुकको वृहत्तर विकास र समृद्ध नेपालको चाहनालाई पूरा गर्न शेरबहादुर देउवाको पाइला कसरी अगाडि बढ्लान् र बढाउलान् ? देउवाप्रति नेपाली जनताको अर्को जाज्वल्यमान प्रश्न छ कि उनको पत्नी आरजु राणाले सञ्चालन गरेको आइएनजिओमा किन अमेरिकाले वर्षेनी प्रपोजलको आधारमा भन्दै करोडौँ डलर पठाउने गर्छ ? यसबाट नेपाली जनतालाई उपलब्धि के छ र किन पठाउँछ ? आरोप पनि लागिरहेको, हाम्रो धर्म संस्कृति बेचिरहेका छन् भनेर । यी विषयमा पनि गम्भीर भएर जवाफ दिँदा बेस होला ।

२०४८ सालको आम निर्वाचनमा डडेलधुरा जिल्लाबाट भारी मतका साथ विजयी भएका थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री बनेका थिए भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि थिए । आफ्नै पार्टीभित्रको अन्तरकलहका कारण २०५१ सालको सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित हुन नसकेपछि गिरिजाप्रसाद कोइरालाद्वारा सदन विघटन गरी घोषणा गरेको मध्यावधि निर्वाचनमा पुनः डडेलधुरा जिल्लाबाट सांसदमा निर्वाचित भई नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुगेको नेता देउवा २०५२ भाद्र २७ गते पहिलो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेको नेपालको इतिहासमा प्रष्ट छ ।

स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँगको प्रतिस्पर्धामा हार भोग्दै आएका नेता शेरबहादुर देउवाले गिरिजाप्रसाद र सुशीलको देहावसानपश्चात कोइरालाको विरासत भत्काउन सुरु गरेका हुन् । तेह्रौँ महाधिवेशनमा झिाने मतले रामचन्द्र पौडेललाई पराजित गर्ने देउवा चौधौँ महाधिवेशनमा आएर डा.शेखर कोइरालालाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए । चौधौँ महाधिवेशनमा आउँदा उनको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

२०५६ मा तत्कालीन माओवादी वार्ताका लागि उच्च स्तरीय शान्ति वार्ता समितिका सभापति समेत भएका शेरबहादुर देउवा २०५८ साल साउन ११ गते प्रधानमन्त्री पदमा दोस्रोपटक विराजमान भएका थिए । यसरी प्रधानमन्त्री भइसकेपछि पाटीृको आन्तरिक मतान्तरलाई बढाउँदै संस्थापन पक्षका हरेक निर्णयको अवज्ञा गर्दै प्रजातान्त्रिक कांग्रेसको गठन गरेर सभापति बन्न पुगे । त्यसै अवसरमा ज्ञानेन्द्र शाहले आफ्नो अध्यक्षतामा शासन सत्ता सञ्चालन गर्ने मनसाय प्रकट गरेपछि असक्षम प्रधानमन्त्री भन्दै शेरबहादुर देउवालाई बर्खास्त गरिदिए ।

यही क्रम अगाडि बढ्दै जाँदा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर देउवा मनोनयन गरिएको ९ महिना मात्रै फेरि राजा ज्ञानेन्द्र शाहबाट पुनः बर्खास्तगीमा परे । २०५९ सालमा नेपाली कांग्रेसबाट अलग्गिएर प्रजातान्त्रिक कांग्रेसको सभापति बन्न पुगेका देउवा २०६४ सालमा फेरि एकीकरणको नाममा नेपाली कांग्रेसमा समाहित भएका देउवा नेपाली कांग्रेसको वरिष्ठ नेता बन्न पुगे ।

२०२८ सालमा नेविसंघको अध्यक्ष भइसकेपछि महामानव वीपी कोइरालाले पश्चिम कमाण्डको जिम्मेवारी दिएर पठाएका शेरबहादुर देउवा २०४६ सालमा नेपाली कांग्रेसले पहिलो जनआन्दोलनको सुरुवात गर्दा शेरबहादुर देउवा लण्डनमा स्स्कल अफ इकोनोमिक्सको फेलोसिप पढ्दै थिए । आन्दोलनको सफलतासँगै नेपाल आइपुगेका थिए । कोइरालाकै उत्साह र उत्प्रेरणाबाट पार्टी राजनीतिमा हुर्किँदै आएका देउवा अहिले कोइरालाको भागबण्डामा सीमित रहेको नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा आइपुग्दा आफ्नो गुटमा सर्वमान्य नेता हुन देउवा भन्ने पुष्टि भएको छ । किनकि उनको निर्णय सबैलाई सर्वमान्य नै छ ।

आफ्नो गुटमा खतराको सम्भावना नदेखेपछि इतर गुटपक्षलाई पनि थप पद र प्रतिष्ठा दिएर आफ्नो गुटको डोरी बाँध्ने प्रयासको थालनी सुरु गरेका छन् । मुलुकको शान्तिवार्ताको सम्पन्नतापश्चात सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा पुनः डडेलधुराबाट निर्वाचित शेरबहादुर देउवा पार्टी एकीकरणपश्चात वरिष्ठ नेता बन्न पुगे भने संसद आफ्नो गुटका सर्वमान्य नै भए । त्यसपछि कञ्चनपुर र डडेलधुराबाट २०७० को दोस्रो संविधासभाको निर्वाचनमा निर्वाचित भएका शेरबहादुर देउवा २०७२ सालको तेह्रौँ महाधिवेशनमा रामचन्द्र पौडेलसँग झिनो मतान्तर राख्दै पार्टीको दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले निर्वाचित भएका थिए ।

त्यसपछि उनले आफ्ना सहयोगी र पार्टी इतर पंक्तिका नेताहरुको नाडी छाम्ने क्रममा उनी पार्टीको संसदीय दलको नेतामा २०७३मा निर्वाचित भए । २०७४ साल जेठ २३ गते मुलुकको चौथो प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर २०७८ साल असार २९ मा उनी मुलुकको पाँचौँ प्रधानमन्त्रीको रुपमा नेपाल अधिराज्यमा बहाल भएका हुन् । पाँचौँ प्रधानमन्त्रीको पाँच महिना बित्न नपाउँदै उनी राजनेतिक र संवैधानिक गतिविधिमा अलि बढी आलोचित पनि भए । पार्टीका नेता, कार्यकर्ताभन्दा विपक्षी दलसँगको गठबन्धनमा बढी समय र साँठगाँठमा बिताउन थाले भन्ने आरोप पनि नलागेको होइन ।

उनी विरासतबिनाका नेता हुन्, उनले विरासत बनाउनेभन्दा अरुको विरासत भत्काउने कार्यमा आफूलाई बढी संलग्न गरे । शेरबहादुर पछि शेरबहादुरको विरासतको नाममा उत्तराधिकारी बन्ने क्षमता राख्नेहरु शेरबहादुरको समूहमा नभएका कारण पनि उनको शेषपछि शेरबहादुरको इतिहास रहला तर उनको विरासत रहने देखिँदैन । त्यसैले पनि शेरबहादुर, कोइरालाको विरासत भत्काउन लागेका हुन् कि जस्तो देखियो ।

चौधौँ महाधिवेशनमा देउवा र कोइरालाको मतान्तर अलि फराकिलो देखिए पनि विजयको अंकगणित जुटाउन भने शेरबहादुरलाई हम्मे–हम्मे परेकै हो । त्यो कुरा उनले मात्र बुझ्दछन् । त्यसैले चौधौा महाधिवेशनमा प्रतिनिधिहरुले शेरबहादुर देउवलाई दिएको मत त केवल सच्चिन र सुध्रिनको लागि मात्र हो । पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका नेतालाई पनि चुनाव जित्न किन यस्तो ? उनका आसेपासेहरु भ्रष्ट र गलत प्रवृत्तिका भएका कारण पनि यस्तो परिस्थिति सिर्जना भएको हुनुपर्छ ।

यस्तो परिस्थितिलाई झेल्दै अघि बढेका अर्का नेता शेरबहादुरलाई चौधौँ महाधिवेशनबाट एउटा निखार नेता बनाएको छ भने प्रकाशमान र बिमलेन्द्रको मुखको बुजो अब झिकिने छैन । उनीहरुले जनता सामू हात जोड्ने ठाउँ पनि छैन । जसरी भए पनि विजयी बनेका शेरबहादुर यस पटक पनि पार्टी जीवनशैली बदल्नतर्फ लागेनन् भने उनको इतिहास कसैले मेटाउनु पर्दैन, आफै मेटिएर जानेछ । शेखर ! तिमीले पनि सकारात्मक विषयमा सकारात्मक सुझाव दिनैपर्छ ।

सिङ्गो पार्टीको नेता बन्ने हौ भने ? संगठन निर्वाचनको असहमतलाई लिएर यदि शेरबहादुरजी अघि बढ्ने हुन् र आउँदो तीनै तहको निर्वाचनमा रिसिवी र प्रतिशोध साँधेर अघि बढ्ने हुन् भने उनको आर्थिक जीवनशैलीमा त फरक नपर्ला, उनी अघोषित धनाड्य नै हुन् तर राजनैतिक धरातल खस्किन सक्छ भन्न प्रतिष्ठा हराउनसक्छ । त्यसैले यी सबै कलेकहरुबाट बचेर सफल काम गर्न सकून् भन्ने शुभकामना साथ बधाई, सभापति शेरबहादुर देउवालाई ।