महोत्सवले आम्दानी भित्राउन सक्नुपर्छ : अध्यक्ष तिमिल्सिना

तुलसीपुर महोत्सव
तुलसीपुर, २ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मेला महोत्सव आम्दानी बाहिर पठाउने नभई भित्र्याउने गरी लगाउनुपर्ने बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामीले मेला महोत्सवमा संकलन भएको रकम सीमा पारी पठाउने गरी होइन सीमा पारीबाट भित्र्याउने गरी लगाउनुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने ।

मेला महोत्सवहरुमा यहाँका किसानले फलाएका चिजबीच र उद्यमीहरुको जीविकोपार्जनमा कस्तो फरक पा¥यो त्यसलाई ध्यानमा राख्न समेत सुझाव दिए । ‘दूरदराजका किसानले मेलामा आएर पैसा फाल्ने होइन यहाँबाट आफ्नो उत्पादन बिक्री गरेर पैसा लैजाने हुनुपर्छ’, उनले भने । अध्यक्ष तिमिल्सिनाले व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताए । उनले एक्लै हिँडेर समृद्धिको यात्रा पूरा नहुने भन्दै सबै सँगै हातेमालो गरेर उद्यमशीलताको विकास गरे समृद्धि हासिल गर्न सकिने बताए । ‘यहाँ एउटाले गर्न लागेको काममा अर्कोले साथ नदिने प्रचलन छ, व्यावसायीहरु पनि राजनीतिमा लागेको जस्तो देखिएको छ । व्यावसायिक क्षेत्रमा पनि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने देखिन्छ’, उनले भने । कसैलाई नाफा र कसैलाई घाटा हुने दृष्टिकोणले नभई स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

देशको व्यापार घाटा कम गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यसप्रति उद्योगी व्यवसायी लाग्नुपर्ने उनको भनाइ थियो । ‘राम्रा काम र विकासका लागि पछिल्लो समय हरेक सामाजिक संघसंस्थामा समेत खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै विकास र समृद्धिको लागि मिलेर अघि बढ्न उनले व्यावसायीहरुलाई आग्रह गरे । ‘यहाँ उद्योग वाणिज्य संघ पनि शुभकामना दिन आउनुपथ्र्यो त्यो मैले देखिन, सबैको साथ र सहयोग भयो भने मात्र उद्यमशीलताको विकास हुन्छ’, उनले भने । त्यसैगरी उनले अर्को प्रसंगमा आफू सरकारमा नभए पनि यहाँको विकासका लागि सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

‘म अहिले दल र सरकारको नेतृत्वमा छैन तर दाङको विकासका लागि मैले केन्द्रमा पहल पक्कै पनि गर्नेछु तपाईहरुलाई विश्वस्त बनाउछु’, उनले भने । उनले दाङका नगर प्रमुखहरुलाई घोराही तुलसीपुरको फोरलेन सडक र यहाँको एयरपोर्टको स्तरोन्नतिका लागि ध्यानाकर्षण समेत गराए । ‘म दुवै मेयरसापलाई आग्रह गर्दछु सडक निर्माण र एयरपोर्टको विकास छिटो गर्नुहोस्’, तिमिल्सिनाले भने । उनले दाङको थारु संस्कृतिको विकास र यहाँको अन्य भौतिक विकासका लागि सबै दलका नेताहरु तथा जनप्रतिनिधिहरु एक हुनुपर्ने सुझाव समेत दिए । ‘चुनावमा प्रतिस्पर्धा हुन्छ तर त्यसपछि विकासका लागि सबै एक हुनुपर्छ अनिमात्र विकास सम्भव छ’, उनले भने । उनले जितेकालाई काम गर्न नदिने संस्कृतिको अत्य हुनुपर्ने बताए ।

सो अवसरमा बोल्दै नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोख्रेलले निजी क्षेत्रलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए । राज्यले अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर निजी क्षेत्रको लगानी प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । राज्यले राजश्व संकलनमा मात्रै चासो दिने तर निजी क्षेत्रको विकासका लागि खासै ध्यान नदिएको उनको गुनासो थियो । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिसभा सदस्य कोमल वली, जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतले व्यावसायिक एकताले मात्र दाङको विकास हुने बताए । उनीहरुले स्थानीय उत्पादन कला–संस्कृतिको विकासका लागि यस्ता मेला महोत्सव आवश्यक रहेको बताए ।

तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष बेनु अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषिराज भण्डारी गरेका थिए । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार : गाउँदेखि शहरसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ तुलसीपुरमा महोत्सव सुरु भएको छ । बिहीवारबाट सुरु भएको महोत्सव पुस १२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सुरु हुनुअघि विभिन्न संघसंस्था, क्लब, विद्यालयले झाँकीसहित महोत्सवस्थल प्रवेश गरेका थिए ।