भूवन पोख्रेल
नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । यो महाधिवेशनले सशक्त, जागरुक, प्रष्ट, जनउत्तरदायी नेतृत्व छनोट गर्ने संकल्प लिनुपर्छ । आम जनता अहिले राजनीतिक पार्टीप्रति निराशमात्र छैनन्, आक्रोशित पनि छन् । देशमा एउटा जनउत्तरदायी शासन व्यवस्था स्थापनाका लागि संघर्षमा होमिएर ७५ वर्षअघि स्थापित नेपाली कांग्रेस पार्टीको महाधिवेशन नेतृत्व चयन मात्र नगरी आम नागरिकका पक्षमा सशक्तरुपले उभिने अवसरको सदुपयोग गर्दै आशा र भरोसाको सञ्चार गर्नुपर्छ ।
मुलुकको लोकतान्त्रिक व्यवस्थाको कडी हुनुको नाताले यसलाई जोगाउने र समयअनुसार विकसित गर्दैै लैजाने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ । देशलाई उन्नत लोकतन्त्रको पथमा डोराएर अधिनायकवादी प्रवृत्तिलाई परास्त गर्ने अवसर जुरेको छ । कांग्रेस यसपालि ३३ प्रतिशत १६ देखि ४० वर्ष उमेरका युवा क्रियाशील सदस्य हुनुले अब कांग्रेस युवा पिढीको काँधमा छ । अधिवेशनबाट ठूलो संख्यामा वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेशमा युवा चुनिएका छन् । यसले कांग्रेसमा पुनर्जागरण अभियान अघि बढ्ने देखिन्छ । पार्टीमा अवसरको समानुपातिक वितरण गरी एक व्यक्ति एक पदको सिद्धान्त अवलम्ब गर्न सक्ने हो भने पार्टीमा लोकप्रियता झनै बढेर जान्छ ।
बुढो पुस्ताको कांग्रेस भन्नेहरुले युवा पुस्ताको काँधमा जिम्मेवारी सुम्पनु कांग्रेसका लागि चुनौती र अवसर दुबै हो । जनतालाई सम्पन्न, सुखी र मुलुकमा समृद्धि ल्याउनु राजनीतिक दलको उद्देश्य हो । पार्टीमा आउने नयाँ नेतृत्वले यसै उद्देश्य प्राप्तिका लागि कटिबद्ध हुनुपर्छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, उद्यमशीलता, आत्मनिर्भरताजस्ता जनसरोकारका मुद्दामा नेपाली कांग्रेसमा आउने नयाँ नेतृत्वले यी विषयमा ठोस् योजना बनाउनुपर्छ । नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउनु राज्यको कर्तव्य हो ।
संविधानका पानामा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्यजस्ता मौलिक हकहरुलाई अक्षरशः पालना गरी व्यवहारमा कार्यान्वयन गर्नु वा संविधानलाई जीवन्त बनाउने नेतृत्वदायी भूमिका नेपाली कांग्रेसको काँधमा छ । कांग्रेसले सार्वजनिक मुद्दाहरुमा निर्णय दिन ढिला र आलटाल गर्दा सुस्त पार्टीका रुपमा सार्वजनिक टिप्पणी र आलोचना खेप्नुपरेको छ । कांग्रेसको गरिमामय इतिहार तर आशलाग्दो भविष्य अहिलेका पुस्ताहरुले निर्माण गर्नुपर्छ । इतिहासका गाथा गाएर मात्र केही हुँदैन बरु गौरवशाली इतिहासको जगमा टेकेर सिक्दै वर्तमानमा यथार्थको धरातलमा अडिएर भविष्यमुखी लोकतान्त्रिक समुन्नत पथको यात्रा रोज्नुपर्छ ।
नेताहरुको परम्परागत शैलीले मात्र कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छैन, नीति र नेतृत्व दुबै दृष्टिले लामो समयदेखि संक्रमणकालबाट गुज्रिएको सत्तारुढ कांग्रेसको बहुप्रतिक्षित महाधिवेशन प्रक्रिया आरम्प भएपछि पार्टीको भावी नीति र नेतृत्वको पक्षमा बहस चलिरहेको छ । पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा नीति र नेतृत्वका बारेमा चर्चा, छलफल र बहस हुनु स्वाभाविक हो । आसन्न महाधिवेशन नेतृत्व छनोटमा मात्रै सीमित हुने भएपछि कांग्रेसको सैद्धान्तिक, वैचारिक र नीतिगत बहस ओझेलमा परेको छ । नेतृत्वका लागि प्रतिस्पर्धा, धु्रवीकरण, समीकरण, गणितीय जोड–घटाऊ, बहस विवादजस्ता विषय चर्चामा छन् । आसन्न महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने चुनौतीपूर्ण अभिभारा बोकेको छ । कांग्रेस भावी नीति र नीतिप्रधान बन्नुपर्दछ, नेतृत्वप्रधान होइन ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसले स्थापनाकालदेखि अख्तियार गर्दै आएका मार्गनिर्देशक सिद्धान्त हुन् । सिद्धान्त र विचारका दृष्टिले कांग्रेस लोकतन्त्रवादी, उत्तरदायी र मध्यमार्गी पार्टी भएकाले यसका लागि सिद्धान्ततः उपयुक्त छन् तर परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिदृश्यमा कांग्रेसका मार्गनिर्देशक सिद्धान्तलाई पुनर्परिभाषित गर्नैपर्ने परिस्थिति उत्पन्न भएको छ । राष्ट्रियताको संरक्षण र राष्ट्रहितको प्रवद्र्धनलाई कांग्रेसले मूलमन्त्रका रुपमा व्याख्या गर्दै आइरहेको छ । यसका लागि युगान्तकारी भूमिका पनि निर्वाह गर्दै आएको छ । जहानियाँ राणाशासन र तानाशाही राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।
कांग्रेसले लोकतन्त्र स्थापनाका लागि गरेको बलिदानीपूर्ण संघर्षको विपक्षीले समेत प्रशंसा गर्दै आएका छन् तर कांग्रेसले लोकतन्त्र स्थापनाका लागि जति अग्रणी भूमिका निर्वाह गरेको थियो त्यति लोकतन्त्रको सम्वद्र्धन र संस्थागत विकासमा अपेक्षित योगदान गर्न नसकेको आलोचना खेप्नुपरेको छ । संविधानसभामार्फत बनेको संविधानले मिश्रित निर्वाचन प्रणालीसहितको समावेशी र सहभागितामूलक परिमार्जित लोकतान्त्रिक प्रणाली संस्थागत गरेको छ । त्यसैले समावेशी र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको अक्षर र भावनालाई पूर्णरुपमा आत्मसात गरी सोही सिद्धान्तअनुरुप राज्य र पार्टी सञ्चालन गर्ने प्रतिबद्धता महाधिवेशनमार्फत सार्वजनिक गर्नु कांग्रेसको सुनिश्चित भविष्यका लागि लाभदायी हुनेछ ।
कांग्रेस कन्जरभेटिभ वा दक्षिणपन्थी होइन, थप लोकतन्त्रवादी, उदार र प्रगतिशील पार्टीका रुपमा रुपान्तरण गरिनुपर्छ । वास्तवमा अतिवाद र उग्रवाद होइन, लोकतन्त्र, उदारवाद र मध्यमार्ग नै नेपाली राजनीतिको बाटो हो । स्थापनाकालदेखि हालसम्म राजनीतिक अभ्यासका आधारमा विश्लेषण गर्दा नेपाली कांग्रेसले नीतिलाई भन्दा नेतृत्वलाई प्राथमिकतामा राखेको पार्टी हो । त्यसैले पार्टीमा विधिसम्मत प्रणाली, संस्थागत विकास र आन्तरिक लोकतन्त्र कमजोर बन्न पुगेको हो । अब कांग्रेसलाई नेतृत्वमुखी होइन, नीतिमुखी पार्टीको रुपमा रुपान्तरण गर्नुपर्छ ।
पार्टीका नेता, कार्यकर्ता पनि नेताप्रति बफादार होइन, जनताप्रति उत्तरदायी हुने प्रणाली विकास गर्नुपर्छ । कांग्रेसलाई कार्यकर्तामा आधारित पार्टी बनाउने ज्वलन्त मुद्दा हो । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक, पारदर्शिता र उदार प्रणालीद्वारा सञ्चालित हुनुपर्दछ । लोकतान्त्रिक पार्टी आफ्नो मौलिक सिद्धान्तबाट विचलित हुनुहुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको सन्दर्भमा अब नेपालमा आन्दोलन र संघर्षको अध्याय अन्त्य भइसकेको छ ।
कम्युनिष्ट पार्टीहरुसमेत कार्यकर्तामा आधारितबाट क्रमशः जनतामा आधारित पार्टीमा रुपान्तरित हुँदै गएका छन् भने, कांग्रेसजस्तो उदार लोकतान्त्रिक पार्टीको संगठन प्रणाली कार्यकर्तामा आधारित हुने प्रश्नै भएन । त्यसैले आधारभूत रुपमा कांग्रेसलाई उदार, लोकतान्त्रिक र जनतामा आधारित पार्टीका रुपमा विकसित गर्नुपर्दछ । सम्पूर्ण लोकतन्त्रवादीको साझा छाता पार्टीको रुपमा विकसित गरिनुपर्दछ । कुनै पनि पार्टी निर्माण प्रक्रिया र सदस्यता प्रणालीलाई पनि लोकतान्त्रिक, पारदर्शी र उदार बनाउनुपर्छ । उदार र पारदर्शी सदस्यता प्रणाली कांग्रेस पुनःसंरचनाको प्रस्तान विन्दु हुनसक्छ तर कांग्रेसको सदस्यता प्रणाली अत्यन्त विवादास्पद र नियन्त्रणमुखी छ ।
त्यसैले महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यताका बारेमा विवाद हुँदै आइरहेको छ, जुन दुर्भाग्यपूर्ण छ । कांग्रेस पुनर्जीवन र रुपान्तरणको विकल्प छैन । असम्भव पनि पक्कै होइन । यसका लागि चुनौतीलाई चिर्दै अघि बढ्नुपर्छ । यो सम्पूर्ण नेतृत्व वर्गलाई बेलैमा चेतना हुनुपर्छ । अहिले नेपाली कांग्रेसको मात्र नभई सबै राजनैतिक दलहरुको महाधिवेशनको लहर छ । अर्को वर्ष चुनावको लहर छ । यी महाधिवेशनहरु एकातिर सम्बन्धित दलको वैधताका लागि अनिवार्य थिए भने अर्कोतर्फ निकट आइरहेको चुनाव लक्षित पनि छन् ।
विचार, सिद्धान्त र नीतिले अनुप्राणित नगर्ने हो भने राजनीतिक पार्टी केवल सत्ताको भ¥याङमा सीमित हुनछ, नितान्त निजी स्वार्थमा केन्द्रित हुन्छ र पार्टी लेनदेनको अखडा बन्छ । भर्खरै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा समर्थकहरुको भीड र तामझाम निकै देखियो । भक्तजनको भीड बढाएर, स्वार्थ समूहको झण्ड खेरेर पार्टी सिद्धान्तविहीन बन्ने हो भने लोकतन्त्रको समुन्नत मार्गमा अघि बढ्न कदापि सक्दैन । वि.सं. २०१५ सालमा निर्वाचित विपी कोइरालाको सरकार समाजवादी सिद्धान्तकै बाटोमा थियो ।
यी सरकारको नीति–कार्यक्रम देशलाई समाजवादउन्मुख गराउने आधार थियो । वि.सं. २०१७ पुसको कु र प्रजातन्त्र पुनःस्थापनाका लागि भएका संघर्षका क्रममा ३० वर्षसम्म पनि नेपाली कांग्रेस समाजवादप्रति नै प्रतिबद्ध थियो । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकमना सरकार बनेपछि भने बाटो फरक भयो । यसरी कांग्रेसले बाटो बिराएको थियो । इतिहासको सकारात्मक र नकारात्मक पक्षमाथि विहेगम् दृष्टिले हेर्ने हो भने कांग्रेसले १४औं महाधिवेशनमा सिद्धान्त र उद्देश्य २०४८ पछि पार्टी र नेतृत्वमा देखिएका विकृति, विसंगति आदि पक्षमा राष्ट्रव्यापी छलफल गरी समाधान खोज्नु आवश्यक छ ।
विकृतितर्फ मोडिएको अति कमजोर भएको नेपाली कांग्रेसलाई आमूलरुपमा रुपान्तरण गर्ने अवसर इतिहासले प्रदान गरेको छ । नेपाली कांग्रेसको उद्देश्य प्रजातन्त्र र समाजवादको सिद्धान्त अघि सारी क्रान्तिमा जुट्नु र जनताको सहयोगले सामन्ती व्यवस्थामा युगौंदेखि जकडिएको देशलाई आधुनिक युगमा बदल्नु थियो । कांग्रेसले इतिहासमा अघि बढेर देशमा यति ठूलो परिवर्तन ल्याएको थियो, त्यसैबमोजिम अहिले पनि यो पार्टी समाजवादमा उत्पन्न भ्रमहरु चिर्दै अघि बढ्न सक्नुपर्छ । त्यसका लागि १४औं महाधिवेशनमा सिद्धान्त, नीति, कार्यक्रम, योजनाहरुबारेमा देशव्यापी छलफल हुनुपर्ने देखिन्छ तर त्यो नभएको देखिन्छ ।
२०६४ देखिका निर्वाचनमा कांग्रेसको हारको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो । कांग्रेस राजनीतिमा पुरानो पुस्ताको होस र युवाको जोशको समन्वय हुन सक्यो भने नयाँ नेतृत्व जन्मन सक्छ । परिपक्व उमेरका नेताहरुको होस्टेमा युवाहरुले हैसै गर्दै पार्टी पंक्ति अगाडि बढ्नुपर्छ । कांग्रेसमा नेतृत्वको खडेरी देखिएको दूरावस्थालाई चिर्न गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप आदि युवा पंक्ति देखिएका छन्, धनराज गुरुङ, डिला संग्रौला, रञ्जित कर्ण आदि पार्टीमा अग्रपंक्तिमा छन् ।
कांग्रेसको आसन्न महाधिवेशनमा लोकप्रिय युवा नेताहरुले पनि उम्मेदवारी घोषणा गरेपछि पार्टीमा हलचल देखिएको छ । अबको नेतृत्व युवा पिढीको काँधमा सुम्पन सक्ने हो भने पार्टी रुपान्तरणको दिशामा अघि बढ्न सक्छ । अहिलेका पार्टीभित्र युवा आकर्षण बढेको छ । त्यसो त राजनीतिमा युवाको नेतृत्व मात्र प्रभावशाली हुन्छ, प्रौढ उमेरका नेताको नेतृत्व निम्मा हुन्छ भन्न खोजिएको होइन । राजनीतिमा उमेरको सुीमा र जन्मको बन्धन हुँदैन । प्रौढ उमेरका नेताहरुले युवा पिढीलाई नेतृत्वको छहारी दिइरहनुपर्दछ । युवाहरु राजनीतिक नेतृत्वको अग्रपंक्तिमा आए भने मुलुकले खोजेको परिवर्तन पाउँछ । युवा नेताहरुले अग्रपंक्तिमा आएर नेपाललाई स्वर्णीम युगमा पुराउन जरुरी छ ।