मेरो खुशी : प्लेन चढ्दा…

व्यावसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील भरतप्रसाद रेग्मी उमेरले पाँच दशक नाघिसकेका छन् । लामो समय कोरियन नेपाल कम्पनी (कोनेको) माध्यममा विकास निर्माणका क्षेत्रमा कामगरेका रेग्मी विगत ९ वर्षदेखि घोराहीमा व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।

सरकार र माओवादीको तत्कालीन सशस्त्र द्वन्द्वको समयमा उक्त कम्पनीले नेपालमा काम गर्ने अवस्था नरहेपछि कम्पनीसँगै उनी कोरिया पुगेका थिए । कोरिया बसेर दुई वर्ष काम गरेका रेग्मी पछिल्लो समय पश्चिम नेपालमै पहिलो पटक दाङमा खानेपानीका धारा तथा बाथरूमा राखिने धारा बनाउने उद्योग सञ्चालन गर्दै आएका छन् । जिल्लालाई व्यावसायिक र आर्थिक रूपमा सफल बनाउन भूमिका खेल्दै आएका ५८ वर्षीय भरत रेग्मीको जीवनीमा आधारित भएर यस अङ्गमा खुसीका क्षणहरू खोज्ने प्रयास गरेका छौँ ।

सरल र सहज स्वभावका व्यवसायी एवं उद्यमी रेग्मीलाई आफ्नो जीवनको पहिलो खुसीको क्षण सुनाउन आग्रह गर्दा उनले २०३५ सालमा एसएलसी पास गर्दाको क्षणलाई आप्mनो पहिलो खुसीको क्षणका रूपमा सुनाए । २०२४ सालदेखि गाउँकै बागेश्वरी प्राथमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेका रेग्मीले २०३५ सालमा जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यमिक विद्यालयबाट सेकेण्ड डिभिजनमा एलएलसी पास गरेका थिए । त्यो बेलाको समय अहिले जस्तो परीक्षाको रिजल्ट प्रकाशन हुने बित्तिकै थाहा हुने अवस्था थिएन । रिजल्ट प्रकाशन भएको करिब एक महिनापछि मात्र थाहा हुन्थ्यो ।

रेग्मीलाई पनि त्यस्तै भयो । २०३५ सालको पुस महिनामा एसएलसीको परीक्षा दिएका थिए । परीक्षाको रिजल्ट जेठमा आएको थियो तर पास फेल भन्ने थाहा नै भएन । त्यसका लागि गोरखापत्र कुर्नुको विकल्प नै थिएन । रिजल्ट हेर्नका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय खलंगामा धेरै दिन जानुपरेको थियो तर पत्रिका नआउँदा निराश भएर फर्किनुपथ्र्याे । धेरै समयपछि असारको पहिलो सातातिर पत्रिका आइपुगेपछि सरले एसएलसीमा सेकेण्ड डिभिजनमा पास भएको कुरा सुनाउँदाको क्षण मेरो जीवनको पहिलो खुसीको क्षण हो ।

‘विद्यालयबाट १५ जनाले एसएलसी परीक्षा दिएका थियौँ । त्यसमध्ये ३ जना विद्यार्थी मात्र पास भएका थियौँ’,उ नले भने, ‘त्यो पास भएको एक महिनापछि थाहा भयो । काठमाडौंबाट गोरखापत्र पत्रिका खलंगाको जिल्ला शिक्षा कार्यालयमा पुगेपछि । सरले पास भएको खबर सुनाउँदाको क्षण म धेरै खुसी भएको थिएँ, जुन क्षणलाई कहिल्यै बिर्सिन सक्दैनँ ।’ त्रिुभवन माध्यमिक विद्यालय जाजरकोटबाट एसएलसी पास गरेपछि उनी जिल्लाका साविक सीमा गाविस, जुँगाथापाचौर गाविस र भाला रैकर गाविसमा पहिलो एसएलसी पास गर्ने व्यक्ति समेत बन्न पुगेका थिए ।

एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययन गर्नुपर्ने भयो । त्यसका लागि जाजरकोटमा थिएन । उनलाई उच्च शिक्षाका लागि नेपालगञ्ज आउनुपर्ने भयो तर आइकम पढ्नका लागि नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा पाँच दिन मात्र भर्नाको दिन बाँकी रहेछ तर खलंगाबाट हिडेर आउँदा पाँच दिन लाग्थ्यो । गाडी चल्ने व्यवस्था थिएन तर प्लेनको चल्ने गरेको थियो, खलंगा–नेपालगञ्ज । एसएलसी पास गरेपछि उनी घरमा नगएर खलंगामा आफन्तसँग केही पैसा जुटाएर साथीसँग कलेज भर्नाका लागि खलंगाबाट दाङको टरिगाउँ एयरपोर्ट हुँदै नेपालगञ्जमा क्याम्पसमा अध्ययनका लागि भर्ना हुन जाँदाको क्षणलाई अर्काे खुसीको क्षणका रूपमा सुनाए ।

‘एसएलसी पास भएपछि उच्च अध्ययनका लागि बाहिर जानुपर्ने बाध्ययता थियो । त्यो बाध्यता मेरा सामू पनि आइलाग्यो । एलएलसी त पास भएँ तर उच्च शिक्षा पढ्नका लागि भर्ना हुने मात्र पाँच दिन रहेछ, नेपालगञ्जमा । नत्र एक वर्ष पछि जाने अवस्था थियो’, उनले भने, ‘ त्यसैले एसएलसी पास भएपछि खलंगामा आफन्तसँग पैसा जुटाएर भर्नाका लागि नेपालगञ्ज उडेँ, १२० रूपैयाँ प्लेन भाडा तिरेर । त्यो पनि पहिलो पटक । त्यो क्षण पनि मेरा लागि एउटा खुसीको क्षण हो ।’ सधैँ आकासमा देखेको प्लेनमा आफै चढेर नेपालगञ्ज पुग्दा मनमा आधा डर र आधा खुसी लागेको थियो । जुन सम्झँदा अहिले रमाइलो लाग्ने गरेको छ ।

उनको परिवार जाजरकोटमा सम्पन्न थियो । बुबा गाउँका प्रधानपञ्च भइसकाले सबैले मान्ने गरेका थिए । जग्गाजमिनको हिसाबले सम्पन्न नै थिए । त्यस हिसाबले पनि उनलाई जीवनमा आर्थिक कठिनाइ थिएन तर उनलाई पाइन्ट लगाएर पछाडिको गोजीमा काइँयो राख्ने चाहना थियो । जुन उनले गाउँमा आपूmभन्दा ठूलाले गरेको देखेका थिए तर पाइन्ट लाउन पाएका थिएनन् ।

पाइन्टभन्दा प्रायःले हापपाइन्ट लगाउने गर्थे । मैले पनि हाप पाइन्ट र चप्पल लगाएरै टेष्टसम्म पढेँ । टेष्टपास गरेपछि बुबाले मलाई पहिलो पटक पाइन्ट किनिदिनुभयो । बुबाले पहिलो पटक किनिदिएको पाइन्ट लगाउन पाउँदको क्षण मेरो जीवनको अर्काे खुशीको क्षण हो । ‘पाइन्ट लगाएपछि साथीसँग पाइन्टको पछाडिको गोजीमा काइँयो राखेर गाउँभरि घुम्दाको मेरो बाल्यकालको क्षण एउटा खुसी हो’, उनले भने, ‘अहिले पनि त्यो क्षण स्मृतिमा छ ।’

त्यही समयमा उनको जीवनमा अर्को मोड लियो । गाउँमा एसएलसी पास गरेको मान्छे नहुँदा थाला रैकर निवासी विद्यालय बन्द हुने अवस्था आयो । त्यो समय उनले नेपालगञ्जमा अध्ययन गरिरहेका थिए । गाउँमा एक्लो एसएलसी पास गरेको भएकाले सर र अभिभावकहरू मलाई विद्यालयको प्रधानाध्यापक बन्न आग्रह गर्नुभयो । तर मेरो पढाइ नेपालगञ्जमा भएकाले मैले भ्याउने अवस्था थिएन तर विद्यालय बचाउनकै लागि मैले करिब २ वर्ष थाला रैकर विद्यालयको प्रधानाध्यापकको रूपमा समेत काम गर्नुपरेको थियो ।

बुबा जनकराज रेग्मी र आमा निमा रेग्मीको माइलो सन्तानका रूपमा २०२० बैशाख २९ गते जाजरकोट जिल्ला शिवालय गाउँपालिका–१ सिमागाउँमा जन्मिएका हुन् । २०२४ सालमा औपचारिक पढाइ सुरु गरेका उनले विकमसम्मको अध्ययन गरेका छन् । २०४२ सालमा दाङ कोठरी निवासी उषा धितालसँग मागी विवाह गरेका रेग्मीका एक छोरा र एक छोरी छन् ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशील रेग्मी दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, स्वर्गद्वारी बिजनेस ग्रुपका अध्यक्ष, नमुना बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष, दाङ जिल्ला क्रसर व्यवसायी संघका सल्लाहकार, एग्रो सिपी फिटिङ प्रालिलगायतका क्षेत्रमा आबद्ध छन् ।

प्रस्तुती : लिलाधर वली