वास्तविकतामा रमाउन सिकौँ

नारायणप्रसाद श्रेष्ठ
सिर्जनात्मक चैतन्य स्वरुप निराकार आत्मा, जसले जीवन र जगतलाई सृष्टिचक्रको इतिहासभित्र परिभाषित गरी बत्तीको प्रकाश बनेर सांसारिक गतिविधिमा हाड, मासुको शरीर बनेर आफूलाई गतिशील गरेको छ, प्रेमको प्रतिमूर्ति बनेर कर्म र व्यवहारलाई परिस्कृत गर्दै अघि बढेको छ, वास्तवमा त्यो जीवन साच्चिकै प्रेमको सागर हो, शान्त स्वरुप आत्माको सूचक हो, विश्वास र भरोषा हो ।

त्यही जीवन परिवर्तनको सम्वाहक पनि हो । मूर्त र अमूर्त भएर देखापर्ने आचरण र व्यवहारको कारक पनि हो । समस्याको समाधान पनि हो । जसरी समय परिवर्तित भइरहन्छ त्यसरी नै यसको गतिशीलतमा परिवर्तन आइरहन्छ । जसरी समयले बिहान, दिउँसो, साँझ र राती गरी आफूलाई परिवर्तन गरिरहेको हुन्छ त्यसरी नै जीवन पनि बाल, युवा, बयस्क र वृद्ध हुँदै चलायमान भएको हुन्छ । कर्म र व्यवहारमा परिपक्वता प्रदर्शन गर्दै सामाजिक अभियन्ता बनिरहेको हुन्छ ।

यसरी अभियन्ता बन्ने क्रममा जीवनले एकअर्काबीचको सहयोग र सद्भाव बटुल्दै प्रेम र सहानुभूति बाँडिरहेको हुन्छ । कर्म र व्यवहारलाई परिस्कृत गर्दै सहयोग, विश्वास र भारोषा प्रदर्शन गरिरहेको हुन्छ । जीवन उच्च विचार र प्रेमले परिपोषित सागर हो । यहाँ अनेकौँ विचारको भण्डार हुन्छ । केवल यसलाई छटनी गर्ने बुद्धि र विवेकले यसको गरिमालाई जान्ने सक्नुपर्छ । जीवनको सारभूत महत्व र यसको उद्देश्य तथा गन्तव्यलाई बुझेर आहार, विहार, आचरण र व्यवहारमा शुद्धता ल्याइ वरदान स्वरुप प्राप्त भएको जीवनको रहस्यलाई उद्घाटन गर्नुपर्छ । जीवन के किन र कसका लागि हो भन्ने बुझेर यसको गरिमा र महत्वलाई प्रदर्शन गर्नुपर्छ ।

सृष्टिचक्रको इतिहासमा जीवन जन्म र मरणको प्राकृतिक नियममा बाँधिएको हुन्छ । जीवनलाई सहज सम्झिए यसले उत्तम गति निर्धारण गरी सबैको कृपा पात्र पनि बन्न सक्छ । यदि अहंकार र घमण्डले परिपोषित भइ विचारमा संकीर्णता र कर्म र व्यवहारमा स्वार्थ पैदा गर्ने गरी परिचालन गरिने हो भने यसले मानसिक विचलन पैदा गरी जीवन व्यर्थ पनि बन्नसक्छ । जीवनको गतिशीलतामा देखापर्ने यस्ता गैरचरित्रलाई पञ्छानउन सक्नु नै वास्तवमा मानिसको विवेकशीलता हो ।

त्यसैले त भन्ने गरिन्छ– कुनै पनि कर्म र व्यवहार गरिनु पूर्व मानवीय चैतन्यलाई बुद्धि र विवेकले परिपोषित गरी जीवनलाई गति दिने गर्नुपर्छ । कोरा कागजसरी जीवनको हरेक पहलुलाई मनोविज्ञानद्वारा असल र सकारात्मक चिन्तनले सजाउँदै सहयोग र सद्भाव बढाउने कर्मप्रति अभिप्रेरित गरिनु पर्दछ । आफै बोक्सी आफै धामी बनेर कसैलाई गुम्राह गराउनु, गर्न कोशिस गर्नु हुँदैन । अरुलाई पछार्छु भन्दा पहिले आफू र आफ्नो परिवेशलाई विश्वासको बलियो धागोले बाँध्न सक्नुपर्छ । म उसको लागि जन्मिएको हुँ र मेरो उद्देश्य उसको भलाइ खातिर हुनुपर्छ भन्ने सोच बनाएर जीवनलाई गतिशील बनाउनु पर्छ ।

जीवनमा गरिने कुनै पनि कर्मले मानिसलाई चेतना शक्ति प्रदान गरेको हुन्छ । राम्रो नराम्रो छुट्याउने अवसर दिएको हुन्छ, समस्याको समाधान गर्दै अघि बढ्ने प्रेरणा दिएको हुन्छ । दुःख, सुख, लाभ, हानी, घामछायाँ हुन् । यी भौतिक मान्यताभित्रको आशक्ति मात्र हो भन्ने अन्तरआत्माको शक्तिभित्र चलायमान गराउन जीवनले सधैँ आफूलाई परिवर्तनको सम्वाहक बनाएर गतिशील गराएको हुन्छ । लोभ, मोह र अहंकारले परिपोषित भौतिक मान्यताको क्षणिकतालाई परित्याग गरी जीवनको हरेक गोरेटोलाई सहज बनाउन समयले अवसर दिइरहेको हुन्छ ।

त्यसैले समयको गति र परिवर्तनले दखाउने र ल्याउनसक्ने क्षमतालाई यो मेरो जीवनमा आएको परीक्षा हो भनी आफूलाई सतर्क र निश्चित बुद्धिमान बनाइरहनु पर्छ । जीवन सिक्ने सिकाउने समयको सम्वाहक पनि हो । समयले नै मानिसलाई उसको बुद्धिविनोदको सफाइ गर्दै सकारात्मक चिन्तनशील बनाउँदै लगेको हुन्छ । त्यसैले समय र परिवेशलाई मध्यनजर गर्दै समयानुकूल जीवनको गतिलाई विस्तारै अगाडि बढाउँदै लैजानुपर्छ । प्रकृतिको नियमभित्र बाँधिएको समय कुन गतिमा कसरी गतिशील भइरहेको हुन्छ ? यो बुझ्नु निकै कठिन विषय पनि हो ।

समय कुन गतिमा दौडिरहेको छ ? यसले भविष्यमा कस्तो अवस्था सिर्जना गर्ने हो ? भन्ने कुरा बुझ्नु भनेको गाह्रो विषय पनि हो । तर पनि जीवनको हरेक भोगाइले परिस्थितिको आँकलन गर्दै अघि बढ्नसक्ने क्षमता राख्नुपर्छ । कतिपय अवस्थामा समयको महत्वलाई नबुझी मानवीय चेतनाभित्र अविवेकीपन देखापरेको पाइन्छ । समय होइन म स्वयम् बलवान् हुँ भन्ने अहंकार गरेको पाइन्छ । वास्तवमा यस्तो चिन्तन बढाउनु भनेको विवेकहीन विचार हो । आफूले आफ्नो महत्व र उद्देश्यलाई नबुझ्नु हो ।

तसर्थ, जीवन क्षणिक छ भन्ने चिन्तन गर्नुभन्दा जीवनले गर्नुपर्ने दायित्व र कर्तव्यको बोध गरी आचरण र व्यवहारमा परिस्कृत गर्दै अगाडि बढ्नुपर्छ । पछि के हुन्छ भनेर होइन अहिले के राम्रो गर्न सक्छु भनी चिन्तनशील बन्नुपर्छ । सरल जीवन उच्च विचारले मानवीय जीवन सुन्दर र सबैको आशा तथा भरोषाको केन्द्र बन्नसक्छ भन्ने चिन्तन गरी सबैको भलाइ खातिर आफूलाई प्रदर्शन गर्नुपर्छ । चेतनशक्तिले अनुभूति गराउन खोजेको आत्मसन्तुष्टिभित्रको तृप्ति हासिल गर्न सक्नुपर्छ ।

बुद्धिविनोदको चिन्तन बढाइ कसैलाई खुशी दिनसक्नु भनेको आफैले प्राप्त गर्नु हो भन्ने मान्यता राखी जीवनलाई गतिशील बनाउनु पर्छ र जीवनमा प्रेमभाव जगाउने आचरण व्यवहार र कर्म गर्नुपर्छ । जहाँ प्रेमभाव जागृत हुन्छ त्यहाँ खुसी र आनन्द स्वतः प्राप्त हुन्छ । तसर्थ, जान्ने इच्छा र जान्न चाहने जीवनको प्रवृत्तिलाई बुझी त्यसको वास्तविकतालाई प्रितीपूर्वक श्रवण गरी परचिन्तनमा होइन, आत्मचिन्तनको माध्यमबाट जीवनको उद्देश्य र गन्तव्यलाई गतिशील बनाउनुपर्छ ।

सर्वजन हिताय, सर्वजन सुखायको मान्यताभित्र रमाउन जान्नुपर्छ । निरन्तरताले नै सफलता चुम्नसक्ने सत्यलाई मनन गरी जीवनको गतिलाई सधैँ उल्लासमय वातावरणमा अगाडि बढाउँदै आफ्ना कर्म र व्यवहारमा परिस्कृत गर्नुपर्छ । सत्य र यथार्थको धरातलमा रही वास्तवकितामा रमाउन सिक्नुपर्छ । यसै प्रशंगमा जीवन के रहेछ र यसको महत्व के रहेछ भन्ने बारे केही प्रसंग यहाँ प्रस्तुत गरिएको छ । एकपटक एकजना विद्वान्ले भरि सभामा एक हजारको नोट देखाउँदै सबैलाई भनेछन् – यो कसलाई चाहिन्छ ? कृपया हात उठाउनुहोस् ।

यति भनेपछि सभामा सबैले एकै स्वरमा हामीलाई चाहिन्छ भनी हात उठाएछन् । यो देखेर विद्वानले सबैलाई आश्वस्त पार्दै भनेछन्– यो नोट म सबैलाई दिन्छु तर धैर्य गर्नुहोला र मैले सोधेको प्रश्नको जवाफ दिँदै जानुहोला । त्यसपछि सबैलाई देखाउँदै पुनः त्यो हजारको नोटलाई हातले कच्यापकुचुप बनाएर खुट्टाले कुल्ची यो कसलाई चाहिन्छ भनेछन् । फेरि सबैले यो हामीलाई चाहिन्छ भनेछन् । तत्पश्चात पनि त्यो विद्वान्ले हजारको नोटलाई हिलोमा लतपत पारी खुट्टाले खुल्ची फोहर बनाएर भनेछन् – यो कसलाई चाहिन्छ ? तब सभामा बस्ने सबैले यो हामीलाई चाहिन्छ र हामी यसलाई स्वीकाछौँ भनेछन् ।

त्यसपछि विद्वानले भनेछन् – यो त हिलोमा लतपत छ, फोहरमैलो छ, यो चल्छ र भन्दा सबैले एउटै स्वरमा भनेछन् – हिलो लागेको छ तर पनि यसको मूल्य घटेको छैन । यति भनेपछि विद्वान्ले सबैलाई हेरेर भनेछन् –हजारको नोट च्यातिएर ननासिएसम्म जसरी यसको मूल्य घट्दैन त्यसैगरी जीवनको मूल्य पनि अनमोल हुन्छ । शरीर नाशवान् हुन्छ तर पनि यसको अस्तित्व मूल्यवान् हुन्छ । केही छिनको लागि हिलो मैलो लागे पनि चिन्तनमा सकारात्मक र विचारमा विवेकशीलता गराउने हो भने जीवनको हरेक पहलु महत्वपूर्ण हुन्छ । केवल यसको महत्वलाई जान्न र स्वीकार गर्नुपर्छ ।

जब यति कुरा विद्वान्ले सबैलाई भने तब सबैको मन जागृत हुनपुग्यो । केहीले भनेछन् विद्वान्वर्ग हामी त आशक्तिप्रति आकर्षित भएका रहेछौँ । वास्तवमा जीवनलाई रमाइलो र गतिशील बनाउन यसको महत्व र अस्तित्वलाई बुझ्नसक्नु पर्नेरहेछ । यसरी सबै आ–आफ्ना गन्तव्यमा गएछन् र हजारको नोट क्षणिक रहेछ भनी कसैले ध्यान दिएनछन् । कहानी यत्ति मात्र हो । वास्तवमा यसले हामीलाई कस्तो सन्देश दिन्छ पाठकवर्ग आफूले आफैलाई बुझ्नुहोस् ।