लिलाधर वली
दाङ,१२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण मंगलवारदेखि बजार सुनसान रहेका छन् । सोमवारदेखि यातायातका साधनहरु चलिरहेका छैनन् ।
लकडाउन उल्लघन गरेर बजारमा सडकमा निस्कने सवारीसाधनसँगै व्यक्तिहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारवार्हीे गर्ने चेतनावनी दिएको छ ।
सरकारले कोरोना भाइरसबाट बच्नका लागि सरसफाईमा ध्यान दिन आग्रह गरिरहेको छ । कोरोना भाइरसका लक्षणहरु देखा परे नजिकैको स्वास्थ्य सँस्थामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । तर गाउँमा भने यी कुराहरुमा खासै ध्यान दिएको देखिदैन ।
सहरमा बजार, विद्यालय, उद्योग, कलकारखानालगायत बन्द भएपछि अधिकांस मानिसहरु गाउँ फर्केका छन् । यसरी गाँउ फर्केका मानिसहरु भने निर्वाध रुपमा घुमफिरसँगै भेटघाट गरिरहेका छन् । कोरोना भाइरस भन्ने सुनेपनि त्यसबाट बच्नका लागि के के गर्ने भन्ने अधिकांस मानिसमा जानकारी छैन ।
जसले गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको उच्च जोखिम रहेको घोराही उपमहानगरपालिका वडा नं। ५ भैसापथ्राका ताराबहादुर वलीले बताए । सचेत मानिसहरुले सरसफाईमा ध्यान दिने गरेपनि अधिकांस मानिसले सावधानी नअपनाएको उनी बताउँछन । सामाजिक सञ्जाल प्रयोगसँगै रेडियो सुन्ने र टिभी हेर्ने मानिसहरुले जानकारी पाएपनि त्यसको पहुँच नहुने र सञ्चारमाध्यममा चासो नदिनेहरु भने सतर्कताका उपायहरुवाट बेखबर देखिन्छन् ।
‘गाउँघरमा यो रोगबाट बच्नका लागि कसैले सावधानी अपनाएको दैखिदैन’,उनले भने, ‘रोगबाट बच्नका लागि सावुनपानीले हातधुने, मास्कको प्रयोग गर्ने भन्छन,तर गाउँघरमा यो देखिदैन ।’
गाउँघरमा बाहिरीदेश वा रोजगारीका सिलसिलामा घर बाहिर रहेका मानिसहरु आइरहेका छन् । उनीहरु कस्तो अवस्थामा फर्किएका छन्र भन्ने समेत थाहा नहुने अवस्था रहेको उनले बताए ।
त्यस्तै देउखुरीमा पनि यस्तै अवस्था रहेको लमही नगरपालिका–५ प्रभाकर चौधरीले बताएका छन् ।
गाउँमा कृषि व्यवसायीका रुपमा काम गर्दै आएका उनले कोरोना भाइरसबाट बच्नका लागि आफुले सावधनी अपनाए पनि गाउँमा अधिकांसले नअपनाएको बताउँछन् । सचेतनाको कमीसँगै हेलचक्राईका कारण गाउँमा भेटघाट गर्ने, सामुहिक रुपमा बसेर गफ गर्ने क्रम रोकिन नसकेको उनले बताए । ‘रेडियाबाट बाहिरबाट आउने मानिसहरुसँग सकभर नभेट्नु वा नजिकै रहेर कुरा नगर्नु भन्ने गरेको सुनिन्छ’,उनले भने, ‘तर गाउँमा त्यससको पालना देखिदैन ।
भारतबाट आएका मानिसहरु पनि निर्वाध रुपमा परिवारसँग बसेर गाउँघरमा भेटघाट गरिरहेका छन्। कामको सिलसिला तथा पढाईका लागि बाहिर गएका मानिसहरु गाउँमा फर्किएपछि संक्रमणको जोखिमबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भएपनि निर्वाध रुपमा भेटघाट गरिरहेको उनले बताए ।
त्यस्तै उनले २५ जना भन्दा ठुलो संख्यामा जम्मा नहुन आग्रह गरेपनि देउखुरीका कतिपय इटा उद्योगहरुमा अभै पनि धेरै संख्यामा काम गरिरहेको समेत बताए । यसले गर्दा गाउँमा जोखिम समेत देखिएको उनी बताउँछन् ।
यी प्रतिनिधि मुलक गाउँहरु हुन । विश्वव्यापी रुपमा रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण गाउँदेखि सहर पसेका मानिसहरुसंंगै रोजगारीका लागि छिमेकी देशभारतमा गएका धेरै नागरिकहरु घरफर्किएका छन् । कोरोनाको जोखिमबाट बच्नका लागि उनीहरुसित समेत जोगिन आवश्यक रहेको छ ।
जोखिमबाट बच्नका लागि सवैले सावधानी अपनाउन आवश्यक रहेको छ । कोरोना भाइरसबाट बच्नका लागि भीडभाडमा नजाने, पशुपन्क्षीदेखि टाढा रहने, सावुनपानीले राम्रोसँग हात धुने,खानेकुरा सफा पानीले राम्रोसँग धोइ पखाली मात्र पकाउने, मास्कको नियमित प्रयोगलगायतका कुरामा ध्यान दिन आवश्यक छ । त्यसका लागि स्थानीय सरकारले जनतामा सचेतना फैलाउन आवश्यक देखिन्छ ।