दाङ, २२ मंसिर । फोहरलाई व्यवस्थित रुपमा छुटाएर राख्न सके नगरवासीले फोहरबाटै आम्दानी लिन सक्ने भएका छन् । घोराही उपमहानगरपालिकालाई फोहरमैला मुक्त उपमहानगरपालिका बनाउने अभियान उपमहानगररपालिकाले दैनिक रुपमा घरबाट निस्कने फोहरलाई व्यवस्थितरुपमा छुट्टाएर राख्न नगरवासीलाई आग्रह गर्दै त्यसका लागि जनप्रतिनिधिहरुलाई भूमिका खेलिदिन आग्रह समेत गरेको छ ।
नगरलाई सरसफाईमुक्त नगर बनाउने अभियानअन्तर्गत मंगलवार पूर्ण सरसफाईसम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सफा र स्वच्छ नगर निर्माणको अभियानमा सहयोग खेल्न समेत आग्रह गरेका हुन् । घोराहीमा सरसफाई व्यवस्थापनको कार्यलाई अघि बढाउनका लागि जनप्रतिनिधिहरुसँग छलफल गरेको हो । कार्यक्रममा स्याङ्जा वालिङका सरसफाई सहजकर्ता कृष्ण भण्डारीले पूर्ण सरसफाई तथा एकीकृत नगरजन्य फोहरमैला व्यवस्थापन संक्षिप्त परिचय, विधि र प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए ।
उनले अन्य स्थानीय पालिकाभन्दा घोराही उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा प्राथमिकता दिएको बताउँदै आगामी दिनमा थप काम गर्न बाँकी रहेको बताए । नगर क्षेत्रबाट उत्पादन हुने ९५ प्रतिशत फोहरलाई फेरि प्रयोग गर्न सकिने भएकाले फोहर व्यवस्थापनमा नगरवासीले ध्यान दिनुपर्ने बताए । उनले पाँच प्रतिशत मात्र फोहर काम नलाग्ने भएकाले त्यस्ता फोहरलाई खाल्डाखुल्डी पुर्नका लागि प्रयोग गर्न सकिने बताएका थिए ।
उत्पादन हुने फोहर कुनै पनि हालतमा खेर जान दिन नहुने उनको भनाइ थियो । स्याङ्जाको वालिङमा गरिएको फोहर व्यवस्थापनको विषयमा जानकारी गराउँदै त्यो अभ्यास दाङमा गर्न सकिने बताए । फोहरका रुपमा फालिने वस्तुलाई स्रोतमा परिणत गर्दै रोजगारी सिर्जना गर्ने र समुदायबाट उत्पादन हुने फोहर व्यवस्थापनका लागि व्यवस्थापन विधिहरुमध्ये उपयुक्त विकल्प छनोट गरी कार्यान्वयन गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा फोहर व्यवस्थापन तथा सरसफाई शाखा संयोजक शक्तिराम डाँगीले घोराही १४ र १५ नं. वडामा फोहर खरिद गर्ने काम सुरु गरिएको जानकारी गराएका थिए । फोहर खरिद गर्ने काम गत आर्थिक वर्षबाट सुरु गरिएको हो । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सूर्तिजन्य प्लाष्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको छ । खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइडमा रहेको बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरूसँंग समन्वय गरेर बिक्री गरिने बताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले फोहरलाई व्यवस्थित गर्न नगरवासीलाई आग्रह गर्दै फोहर संकलन गरे किन्ने बताए । उनले त्यसका लागि नगरवासीलाई गल्ने फोहर र नगल्ने फोहरलाई छुट्याउन अनुरोध गरे । घोराही उपमहानगरपालिका १६ मा बायोग्यास प्लान्टमा दैनिक ३० हजार टन गल्ने फोहर आवश्यक पर्ने भन्दै उनले फोहरलाई व्यवस्थित गर्न समस्या नभएको बताउँदै फोहरलाई व्यवस्थित गरे नगरवासीले आम्दानी समेत लिन सक्ने बताए ।
नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले घोराहीलाई पूर्ण सरसफाईको बिन्दुमा पु¥याउन सबैको सहकार्य आवश्यक भएको बताइन् । उनले आगामी फागुन अन्तिममा घोराहीलाई पूर्ण सरसफाई नगर तथा बालमैत्री नगर घोषणाको तयारी थालिएको हुँदा अभियानमा सबैलाई जोडिन आग्रह गरिन् । कार्यक्रममा पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, पत्रकार गोविन्द खड्काले अभियानमा पत्रकारिताको क्षेत्रबाट सहयोग गर्ने बताएका थिए । कार्यक्रम फोहर व्यवस्थापन तथा सरसफाई संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले गरेका थिए ।