तुलसीपुर महोत्सव : मेला कि झमेला ?

कतै पीडा, कतै उत्साह
खेमराज रिजाल
तुलसीपुर, २२ मंसिर । तुलसीपुरमा आउँदो पुस १ गतेदेखि व्यापारिक मेला आयोजना हुने तयारी भइरहँदा जिल्लाभरका व्यवसायी दीर्घा तथा राजनीतिक व्यक्तित्वबीच यसको चर्चा परिचर्चा सुरु भएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा लगाइने भनिएको उद्योग व्यापार तथा पर्यटन मेलाका सन्दर्भमा विभिन्न सामाजिक सञ्जालहरुमा पनि पक्ष–विपक्षका सन्देशहरु सार्वजनिक भइरहेका छन् ।

तुलसीपुर चेम्बर अफ कमर्शले व्यापारिक मेलाका विषयमा पत्रकार सम्मेलन गरिरहँदा तुलसीपुरकै ७ सय ९० जना फेन्सी व्यवसायीहरुले मेला रोक्न आग्रह गर्दै व्यवसायीहरुको छाता संस्था तुलसीपुर उद्योग वाणिज्य संघमा निवेदन दिइरहेका छन् । मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले भने मेलास्थलको व्यवस्थापनलगायत प्रमुख अतिथिलाई निम्तो दिन काठमाडौँ पुग्ने समेत तयारीमा जुटेको छ । सर्वसाधारण नागरिकहरु भने यसलाई मेला कि झमेला भनेरटिप्पणी गरिरहेका छन् ।

राजनीतिक दलहरु मेलाकै सन्दर्भमा विभक्त छन्, व्यवसायीहरु विभक्त छन् । तर मेला आयोजनाको सिफारिस दिने तुलसीपुर उपमहानगरपालिका भने मेलाका विषयमा केही आधिकारिक अभिव्यक्ति दिएको छैन । प्रमुख जिल्ला अधिकारीले सरकारले मेला रोक्न नभनेको र स्थानीय सरकारले सिफारिस दिएकाले मेला सञ्चालनको अनुमति दिएको बताएको छ ।

‘हामीले आफूले लगाउनका लागि मेला रोक्न आग्रह गरेका होइनौं, करिब ८ सय जना फेन्सी व्यवसायीहरुले मेला रोक्न पुकार गरेपछि मात्र आयोजक चेम्बर अफ कमर्श तुलसीपुरलाई आग्रह गरेका हौं’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले गोरक्षलाई भने । उनले आफ्नो एउटा मात्र धारणा के हो भने यहीकै व्यवसायीहरुलाई समस्या हुन्छ भने मेला किन लगाइरहनुप¥यो भन्ने अभिव्यक्ति दिए । अहिले तुलसीपुरका सम्पूर्ण फेन्सी व्यवसायीहरुले आउँदो जाडो मौसमका लागि न्यानो कपडा झारिसकेको बताउँदै यहाँ आयोजना हुने मेलाका कारण ती व्यवसायीहरुका कुनै पनि न्यानोका कपडा बिक्री नहुने अध्यक्ष चालिसेको अभिव्यक्ति थियो ।

‘हामी स्वयं मेलामा सहभागी भएर मेलालाई थप उत्साहित बनाउन चाहेका छौं तर ती ८ सय फेन्सी व्यवसायी रोएको हामी नेतृत्वले टुलुटुलु हेरिरहन सक्दैनौं, हामीले भनेको मेलामा फेन्सी र कस्मेटिक सामान नराखिदिनुस् वा हाम्रा व्यवसायीहरुले न्यानोका कपडा बिक्री नगरुञ्जेलसम्म केही साता मेला सारिदिनुस्’, अध्यक्ष चालिसेको स्पष्ट अभिव्यक्ति थियो । यति आग्रह गर्दागर्दै पनि जवर्जस्तरुपमा मेला आयोजना हुन्छन् भने हामीले सहयोग गरिरहन सक्दैनौं । चालिसे फेरि पोखिए, अहिले आम नागरिकसँग मेला महोत्सवका लागि पर्याप्त व्याकअप पनि छैन ।

कोरोनाले धेरै परिवारलाई साँझ–विहानै हातमुख जोर्न मुस्किल भइरहेको समयमा मनोरञ्जनका कार्यक्रम त्यति उपयुक्त होइनन् भन्ने पनि उनको अभिव्यक्ति थियो । अर्को कुरा विश्व समुदाय अहिले ओमिक्रोन भेरियन्टको चपेटोमा परिरहेको र त्यसको संक्रमण नेपालमा पनि देखा परिसकेकाले स्थानीय सरकारले पनि बेलैमा यस्ता भीड जम्मा पार्ने कार्यक्रमलाई प्रोत्साहन दिन नहुने पनि उनले बताए । ‘हामीले कोरोना भाइरसको दोस्रो लहरमा कसरी नागरिकलाई जोगाएका थियौं, कति ठूलो धनराशि अक्सिजन व्यवस्थापन र अस्पताल व्यवस्थापनका लागि भएको थियो त्यो फेरि एकपटक स्मरण गर्न आवश्यक छ’, चालिसेले भनेका छन्– ‘एकपटक जनस्वास्थ्यका विषयमा पनि व्यवसायीहरुले आफ्नो दायित्व निर्वाह गर्ने हो कि ?’

दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भेरियन्ट विश्वका ४० भन्दा बढी मुलुकमा फैलिइसकेको छ भने छिमेकी भारतलगायत नेपालमा पनि सोमवार दुईजना संक्रमित देखिएको पुष्टि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरिसकेको छ । संसदको स्वास्थ्य समितिले सरकारलाई नयाँ भेरियन्टको संक्रमणबाट बच्नका लागि जुनसुकै स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्य उपचार व्यवस्थापनको तयारी गर्न नेपाल सरकारलाई निर्देशन दिइसकेको छ । तर यस विषयमा जिल्लाको विपद् व्यवस्थापन केन्द्र भने मौनजस्तै रहेको छ ।

उता, आयोजकले मेला महोत्सवको आयोजना तुलसीपुर उद्योग वाणिज्य संघको मात्रै ठेक्का नभएको बताउँदै आएको छ । चेम्बर पनि व्यवसायीहरुकै संस्था भएकाले व्यावसायिक समृद्धिका लागि मेला महोत्सवको आयोजना गरिएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले बताएको छ । चेम्बरले सातामा करिब दुईपटकसम्म पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको तयारीका सन्दर्भमा जानकारी गराएको छ । गएको शनिवार महोत्सवस्थल सरसफाईसँगै आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष टोपबहादुर घर्तीले चराले पनि आफ्नै गुड बनाएर बसेको अभिव्यक्ति दिँदै आफ्नो संस्थाको पनि आफ्नै स्वामित्वको भवन बनाउन मेलाको आयोजना गरिएको अभिव्यक्ति दिएका थिए ।

साथै उनले मेला महोत्सवस्थलमा स्थानीय व्यवसायीलाई नै प्रोत्साहन दिने बताउँदै स्थानीयलाई स्टलमा समेत ५० प्रतिशत छुट दिने अभिव्यक्ति दिएका थिए । त्यसैगरी आयोजक संस्थाले मंगलवार फेरि पत्रकार सम्मेलनको आयोजना गरेको छ । तुलसीपुर चेम्बर अफ कमर्शले लगाउन लागेको महोत्सवको तयारी नब्वे प्रतिशत पूरा भएको मंगलवारको पत्रकार सम्मेलनमा जनाइएको छ । पुस १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुन लागेको मेला महोत्सवको तुलसीपुर उद्योग वाणिज्य संघलगायत फेन्सी व्यवसायीले आपत्ति जनाएकोप्रति आफ्नो ध्यानाकर्षण भएको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

‘यदि स्थानीय फेन्सी व्यवसायीले स्टल चाहन्छन् भने हामीले बाहिरबाट आउने सम्पूर्ण व्यवसायीहरुको बुकिङ रद्द गरेर यहाँकालाई पचास प्रतिशत छुटमा स्टल उपलव्ध गराउने छौं’, पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्श तुलसीपुरका पदाधिकारी ऋषि भण्डारीले भने । त्यस्तै महासचिव प्रेमप्रकाश गिरीले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमणलगायतको कारण देखाउँदै मेला रद्द गर्न लागिपरेकालाई जवाफ दिँदै जिल्लामा लाग्ने सम्पूर्ण मेला महोत्सवलाई रद्द गरेमा आफूहरु पनि त्यसो गर्न तयार रहेको बताए । ‘यदि कोरोनाको संक्रमण यहाँ पनि देखिन थाल्यो र मेला महोत्सव रद्द गर्नुपर्ने अवस्था आयो भने हामी एक दिन पनि ढिला नगरी मेला महोत्सव रोक्ने छौं’, महासचिव गिरीले भने ।