‘सामाजिक परिर्वतनका लागि महत्वपूर्ण भूमिका’

दाङ, २२ मंसिर । सामाजिक परिवर्तनका लागि ग्रामीण महिला उत्थान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्र २७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सामाजिक परिर्वतनसँगै महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनले आत्मनिर्भर र सशक्त समाज निर्माणका लागि संस्थाले खेलेको भूमिकाको सराहनीय रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संस्थाले शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक सृदृढीकरणका माध्यमबाट समाज परिर्वतनका लागि २७ वर्षको समयमा ठूलो योगदान गरेको चर्चा गरेका थिए । साथै आगामी दिनहरुमा महिला तथा युवाहरुलाई आफ्नै ठाउँमा आत्मनिर्भर र सक्षम बनाउने गरी संस्थालाई काम गर्न आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार सौगतबीर चौधरी, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, पत्रकार सुशीला आचार्य, रेडक्रस घोराही उपशाखा प्रमुख थम्मन चौधरी, शिक्षिका मंगला श्रेष्ठ, मुक्त कमलरी सन्तोली चौधरी, सञ्चु चौधरी, नेबबहादुर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नृत्य तथा गीत प्रस्तृत गरिएको थियो । कार्यक्रममा संस्थाले केही दिनअघि गरेको रक्तदान कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाकी पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भीमकान्त चौधरीले गरेका थिए । संस्थाले दाङ, प्युठान, सल्यान, बाँके, बर्दियालगायतका जिल्लाहरुमा काम गर्दै आएको छ ।