लैङ्गिक हिंसा अन्त्यका लागि सोचमा परिवर्तन आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १५ मंसिर । समाजमा पहिले र अहिलेको अवस्थामा केही परिवर्तन भए पनि अझै समाजमा जकडिएको हिंसामा कमी आउन नसकेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । उनीहरूले महिला हिंसा विरूद्धको अभियानमा सबैका साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै राजपुर गाउँपालिका उपाध्य धनपति यादवले महिलामाथि हुने हिंसालाई बढावा दिने कुसंस्कार र करीतिका विरूद्धमा सबैको एकमत हुन आवश्यक रहेको बताइन् । उनले सामूहिकताबाट नै कुसंस्कार र कुरीतिलाई अन्त्य गर्न सकिने बताइन् । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरूद्ध दिने अभियानअन्तर्गत् ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा भएको कार्यक्रममा बौल्दै प्रमुख अतिथि यादवले परिवर्तनका लागि हरेक व्यक्तिहरूले घरबाटै लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने बताएकी थिइन् ।

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एवं राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले १६ दिने अभियानअन्तर्गत् सबै मिलेर हातेमालो गर्दै घरबाटै हिंसाको अन्त्यको संकल्प गर्नुपर्ने बताए ।

राम्रो मेलमिलाप हुने घरलाई सम्मान र हिंसा हुने घरका व्यक्तिलाई दण्ड सजायको व्यवस्था भएमा केही हदसम्म महिला हिंसाको न्यूनीकरण गर्न सकिने कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए । उनीहरूले महिला हिंसा अन्त्य गर्न १६ दिनमा मात्र सीमित नराखेर ३६५ दिन नै आवाज उठाउनु पर्नेमा जोड दिए । कार्यक्रममा हिंसा अन्त्यका लागि परम्परागत सोचमा परिवर्तन गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले मुख्य रूपमा मानिसको जीवन व्यवहार नै हिंसा मुक्त हुनुपर्ने बताउँदै महिला हिंसा अन्त्य गर्न महिलालाई सक्षम बनाउन आवश्यक रहेको बताइन् । महिलालाई आत्मनिर्भर बनाउनसके लैङ्गिक हिंसामा कमी ल्याउन सकिने बताइन् ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतनासँगै कानुनलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएकी थिइन् । कमजोर व्यक्तिमाथि नै समाजमा हिंसा हुने गरेको भन्दै उनले कमजोर व्यक्तिमाथि हिंसा गर्नेलाई कडा कारबाहीको व्यवस्था हुन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, मानव अधिकारकर्मी विनोद केसी, जिल्ला प्रहरी कार्यालय महिला सेलका निमा डिसी, रेडियो मध्यपश्चिमका सुशीला आचार्य, स्थानीय सभा लक्ष्मीपुरका दिलबहादुर घर्ती, शिवा डाँगी, ग्रामीण महिला उत्थान केन्द्रका भीमकान्त चौधरी, एचबी थापा, रजनी श्रेष्ठ, मुक्त कम्लहरी सन्तोली चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी पैरवी अधिकृत शिवा चौधरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सूचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन् ।