गोरक्ष समाचारदाता
घोराही, १५ मंसिर । दंगीशरण–५ सलौरा निवासी यशोधा न्यौपानेले तीन पुस्तासम्म भोगचलन गरेको जग्गाको लालपुर्जा पाउन सकेकी छैनन् । पटक–पटक बन्ने आयोगहरूले जग्गाको पुर्जाका लागि फारम भर्न लगाउने गरे पनि अहिलेस्म्म आपूmले जोतभोग गरेको जग्गाको पुर्जा नदिएको बताइन् । लालपुर्जा नहुँदा जग्गा धितो राखेर बैंकले ऋण समेत नदिने गरेको बताइन् ।
यसैगरी देउखुरी राजपुर गाउँपालिका वडा नं. २ बेलाका कुलबहादुर चौधरी सुकुम्बासी हुन् । उनलाई पनि वर्षौदेखि आफैले जोतभोग गरिरहेको जमिन आफ्नो नाममा ल्याउन मन छ । तर उनले भन्दा पहिले सुकुम्रुासीको नाममा नेताका पछि लाग्ने हुकुम्बासीले रजाइँ गरिरहेको बताए । उनले पछिल्ला केही वर्षयता गाउँमा हुकुम्बासीहरूले ऐलानी जग्गा हडप्ने, विक्री गर्ने, राज्यलाई राजस्व छली गर्ने जस्ता गलत काम गरिरहे पनि यसमा कोही कसैले चासो नदिएको बताएका थिए ।
उनीहरू मात्र होइन जिल्लाका धेरै भूमिहीन, सुकुम्बासी तथा मुक्त कमैयाहरू छन्, जसले वर्षौसम्म पुर्जाको लागि लडे पनि जमिनको पुर्जा पाउनसकेका छैनन् । भूमिहीन तथा सुकुम्बासीको समस्यामा राज्य जिम्मेवार नहुँदा आपूmहरूको समस्या समाधान हुन नसकेको उनीहरूले बताएका थिए । सोसाइटी वेलफेयर एक्सन नेपाल स्वान, जिल्ला भूमि अधिकार मञ्च दाङको आयोजना तथा आइएमको सहयोगमा गरिएको एक कार्यक्रमले यस्तो निष्कर्ष निकालेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले लक्षित वर्गलाई लालपुर्जा वितरण गर्नका लागि सरकारले काम गरिरहेको बताएका थिए । २०२७ सालदेखि नै भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि नेपालमा काम सुरु भए पनि अहिलेसम्म अन्त्य हुन नसक्नु दुःखद भएको भन्दै सचिव योगीले भूमिहीनलाई जमिन राज्यले उपलब्ध गराउनुपर्ने बताए ।
भूमि सुधार तथा मालपोत कार्यालय घोराहीका प्रमुख शालिकराम ढकालले भूमिहीन सुकुम्बासी, अव्यवस्थित भूमिहीन, जग्गाविहीन मुक्त कमैया, मोहीलगायतका समस्या समाधानका लागि राज्यले पहल गर्नुपर्ने बताए । नीतिगत समस्याका कारण भूमिसम्बन्धी समस्या समाधान गर्न अप्ठेरो रहेकाले राज्यले नै यस्ता समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नापी कार्यालय घोराही दाङका अधिकृत झमलाल गाहा, भूमि आयोग दाङका पूर्व अध्यक्ष शिवकुमार शर्मा, कृषि ज्ञान केन्द्र दाङका प्रमुख शिवराज घिमिरेले जग्गा नभएका भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि राज्यले तदारुकता देखाउँदै काम गर्न आवश्यक रहेको बताएका छन् । स्वान नेपालका अध्यक्ष कृष्णकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।