सक्रिय राजनीति, अपाङ्गताको क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा उनी जहिले पनि तल्लीन छन् । उनी जहिले पनि सक्रियतापूर्वक सामाजिक अभियानमा लागेकी छिन् । चाहे त्यो पार्टीको काम होस् वा सामाजिक अभियानमा सक्रिय छिन् । हँसिली, मिजासिली र सबैका मन–मनमा बस्न सफल उनी आफू अपाङ्ग भए पनि कहिल्यै आफूलाई अपाङ्ग छु भन्ने महसुस गरिनन् । तुलसीपुर–८ निवासी देवा डाँगी अहिले आधा दर्जन बढी अपाङ्गतासम्बन्धी काम गर्ने संघसंस्था र नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छिन् ।
डाँगीले आफू समाजसेवा र राजनीतिमा खुसीका साथ दिनचर्या बिताइरहेको बताउँछिन् । उनका खुसीहरू खोज्दै जाँदा उनी आफ्नो कर्ममै तल्लीन् थिइन् । उनका खुसीहरू मैले खोतल्दै जाँदा उनी एक छिन् भावुक पनि भइन् । उनले आफ्नो जीवनमा धेरै खुसीहरू भए पनि पहिलो खुसी मावि अश्वाराबाट एसएलसी पास गर्दाको क्षणलाई लिइन् । राप्ती बहिरा संघको कार्यक्रम अधिकृत तथा अपाङ्ग सेवा संघ दाङको अध्यक्ष समेत रहेकी डाँगीले २०५८ सालमा एसएलसी पास गर्दा आफू जीवनमै पहिलो खुसी प्राप्त गरेको सुनाइन् ।
बाल्यकाल त्यो पनि एक वर्षको हुँदा आगोले टाउकोमा पोल्दा अपाङ्ग भएकी डाँगीलाई डाक्टरले स्वास्थ्यका कारण पढ्न नहुँने भनेर सल्लाह दिएका थिए । तर उनी विद्यालयमा भर्ना भएर पढेर एसएलसी पास गर्न सफल भइन् । त्यो दिन मेरो खुसीको सीमा नै रहेन उनले भनिन्, ‘मलाई डाक्टरले टाउकामा समस्या छ, यदि तनाव तथा पढ्ने लेख्ने गरेमा मनोसामाजिक समस्या हुनसक्छ भन्ने सल्लाह दिएका थिए । त्यो भन्दाभन्दै पनि मैले उच्च शिक्षा हासिलका लागि एउटा गेट पार गरेँ त्यो भन्दा पहिलो खुसी मेरो के हुन सक्छ र ?’
मेरो पहिलो खुसी एसएलसी पास लेखिदिनु उनले भनिन्न् । त्यसमा पनि सो विद्यालय एसएलसीमा जहिल्यै पनि नील हुने र आफूहरू २ जनाले मात्र एसएलसी पास गर्दा निकै खुसी भएको सुनाइन् । धेरै जसो मानिस अपाङ्गता भएका कारण पढन नपाउने भए पनि आफूले पढ्न पाएको र यसमा सबै घरपरिवारले पनि सहयोग गर्दा अर्को खुसी मिलेको उनले सुनाइन् । त्यस्तै डाँगीले अर्को खुसी विसं २०६४ सालमा काठमाडौं महाराजगञ्जमा आफ्नो सफलताको साथ शल्यक्रिया हुँदा लागेको सुनाइन् ।
बाल्यकालमा आगोले पोल्दा टाउको र कुम जोडिएको टाउको उठाउँन नसक्ने अवस्थामा आफू भएको र शल्यक्रियापछि आफनो टाउको शरीरभन्दा माथि उठेको पाउँदा खुसीले गदगद भएको सुनाइन् । ‘मेरो दोस्रो खुसी शल्यक्रिया सफल भएको दिनको थियो, मैले त्यो बेला नयाँ जीवन पाएको अनुभूति भएको थियो –उनले भनिन् । उनले त्यस अघि आफूलाई कुनै समस्या नभए पनि टाउको र कुम जोडिएकाले टाउको कोल्टो परेको सम्झिइन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल दाङको अध्यक्ष समेत रहेकी डाँगीले अर्को खुसी २०७० सालमा नेपाली विषय लिएर त्रिभुवन विश्वविद्यालयबाट डिग्री गर्दा लागेको सुनाइन् । त्यति बेलासम्म आफू अपाङ्ग भएको अनुभूति नभएको भन्दै उनले काठमाडौंबाट अपाङ्गता परिचय–पत्र लिएर आफूले अपाङ्गतासम्बन्धी काम गर्नका लागि सक्रिय भएको सुनाइन् ।
सुरुमा देविदत्त आचार्य र प्रतिमा शर्मासँग भेट भएर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रबद्र्धन र न्यायमा पहुँच कार्यक्रमअन्तर्गत दाङमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क संकलनमा लाग्न पाउँदा अर्को खुसी प्राप्त भएको सुनाइन् । ‘हामीले पहिलो पटक पालिकामा राप्ती बहिरा संघबाट नगर सञ्जाल गठन गरेर अपाङ्गता भएका व्यक्तिहरूको पहिचान सुरु गरेका थियौँ, त्यो अभियानमा लाग्दा अर्को खुसी लागेको छ’–उनले भनिन् ।
डाँगीले घरभित्र नै कष्टकर जीवन बिताउनुपरेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीदेखि परिचय–पत्र वितरण गर्ने अभियानमा लाग्न पाउँदा निकै खुसी भएको सुनाइन् । उनले धेरै व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य तथा खाद्यान्न वितरण गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाइन् । उनले विभिन्न शिक्षामार्फत् अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नमा पनि भूमिका आफूहरूले खेलेको भन्दै खुसी व्यक्त गरिन । विसं २०५२ सालमा नेपाल विद्यार्थी संघ मावि अश्वाराको सदस्यबाट राजनीति सुरु गरेकी डाँगीले विसं २०७० सालदेखि नेपाली कांग्रेसको जिल्ला सदस्यको रूपमा काम गर्न पाउँदा र राजनीतिमा लागेर सेवा गर्न पाउँदा खुसी मिलेको सुनाइन् ।
‘मेरो परिवार पनि राजनीतिमा सक्रिय थियो, परिवारबाटै म राजनीतिक संस्कार सिकेर अहिले कांग्रेसको राजनीतिमा सक्रिय छु’, उनले भनिन्, ‘राजनीतिका माध्यमबाट समाजसेवामा रमाउन चाहन्छु ।’ कांग्रेसको १३औँ महाधिवेशनबाट जिल्ला सदस्य जितेर अहिले पनि १४औँ महाधिवेशनमा लोकप्रिय भोट ल्यार महाधिवेशन प्रतिनिधिमा चुनाव जित्दा खुसी लागेको सुनाइन् ।
महिलाको खुल्ला कोटामा सबैभन्दा धेरै लोकप्रिय मत पाउँदा निकै खुसी लागेको सुनाइन् । ‘चुनाव हो, जित हार स्वाभाविक हुन्छ नै तर चुनावमा आपूmले हारिन्छ कि भनेर डर पनि लाग्ने गर्दछ । जुन मलाई पनि थियो’, उनले भनिन, ‘ चुनावमा हामी ९ जनाले प्रतिस्प्रर्धा गर्दा मैले भोट धेरै ल्याएँ, यसमा पनि म खुसी छु ।’
उनले सबै क्षेत्रीय प्रतिनिधि, सभापति तथा कांग्रेस नेताहरूले सहयोग गरेकोमा पनि खुसी व्यक्त गरिन् । त्यस्तै नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षा प्रतिष्ठानको केन्द्रीय सदस्यमा मनोनित हुँदा पनि आफू खुसी भएको उनले सुनाइन् । तुलसीपुर –८ निवासी देवा डाँगी राप्ती बहिरा संघको कार्यक्रम अधिकृत, अपाङ्ग सेवा संघ दाङको अध्यक्ष, राष्ट्रिय लोतान्त्रिक अपाङ्ग महासंघको महाविधेशन प्रतिनिधि, नेपाल रेडक्रस पवननगर उपशाखाको उपसभापति तथा नेपाली कांग्रेस क्षेत्र नंं ३ बाट महाधिवेशन प्रतिनिधि हुन् ।
प्रस्तुती : बालाराम खड्का