बालबालिकालाई शैक्षिक सामग्री

गोरक्ष समाचारदाता
दाङ, १४ मंसिर । सुनिता ट्रस्ट फाउन्डेशन घोराहीले आफ्नो दोस्रो वार्षिक स्थापनाका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार तथा सहयोगापेक्षी विद्याथीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक सदस्य समेत रहनु भएकी सुनिता चौधरीको विसं २०७० मंसिर १९ गते निधन भएपछि उनकै नाममा २०७६ मंसिर १३ गते स्थापित संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

वार्षिकोत्सव मनाउने क्रममा सुनिताले देखेको सपना र उनको कर्मको अभिलाषाअनुसार दूरदराजका विपन्न, जेहेन्दार तथा सहयोग आवश्यक परेका बालबालिकाहरूलाई लक्षित गरी शिक्षा क्षेत्रमा केही भए पनि योगदान दिने उद्देश्यले वार्षिकोत्सवको अवसर पारेर ४२ जना बालबालिकाहरूलाई सो शैक्षिक सहयोग गरिएको संस्थाकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिइन् ।

मावि डाँडागाउँ गोग्लीका अध्ययनरत १९ जना, आधारभूत विद्यालय सानीअम्बापुरमा अध्ययनरत ९ जना र सरस्वती मावि काठेकोहलमा अध्ययनरत १४ जना गरी ४२ जनालाई सोमवार एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री बालबालिका र उनीहरूका अभिभावकहरूलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको हो । उनीहरूले कापी, कलम, स्टेशनरी, झोला सहित तल्लो कक्षामा अध्ययन गर्नेले २ हजार र माथिल्लो कक्षामा अध्ययन गर्नेले २ हजार ५ सय बराबरको सहयोग गरिएको सो संस्थाकी पार्वती बस्नेतले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षाप्रेमी तथा समाजसेवी गोविन्दप्रसाद न्यौपानेले बालबालिकाहरूको पठनपाठनमा सहयोग पु¥याउन गरिएको प्रयासले उनीहरूको भविष्य सुन्दर बन्न टेवा पुग्ने बताए । बालक अवस्थामा असल शिक्षा दिन सकेको अवस्थामा उनीहरू भोलिको असल नागरिक बन्न मद्दत पुग्ने हुँदा सामाजिक रूपमा सबैको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।

ग्रामीण महिला तथा उत्थान केन्द्रका संस्थापक सल्लाहकार एवं फाउन्डेशनका सल्लाहकार सौगतवीर चौधरीले आत्मनिर्भर र सशक्त समाज निर्माणको कल्पनाका साथ स्थापित संस्थाले अहिले धेरैको जीवन बदल्न भूमिका खेल्दै आएको बताए । ट्रस्टमार्फत शिक्षामा गरिएको सानो लगानी र हौसलाले सुन्दर भविष्य बन्ने विश्वास उनको छ ।

आजीवन सदस्य त्रिभुवननगर जेसीज अध्यक्ष मुकेश शर्मा, रजनी श्रेष्ठ, पुशुराम चौधरी, पत्रकार बसुन्धरा गौतमलगायतले संस्थाको काम र योजनालाई साकार पार्न सबैको भूमिका हुनुपर्ने बताएका थिए । सो अवसरमा अध्यक्ष आशमानी चौधरीले संस्थाले प्रवाह गर्ने गरेका सेवा र योजनाका बारेमा सहभागीलाई अवगत गराएकी थिइन् । सदस्य मिरा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चालक समिति सदस्य बसन्ती पुनले गरेकी थिइन् ।