दाङ कांग्रेसमा पद हस्तान्तरण
लिलाधर वली
दाङ,१४ मंसिर । नेपाली काँग्रेस दाङका नवनिर्वाचित पदाधिकारीहरुले पदभारगृहन गरेका छन् । जिल्ला निर्वाचन समितिले सोमवार घोराहीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिका पादाधिकारीहरुलाई सपथ ग्रहण गराएकोहो । कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनका तितामिठा कुराहरुलाई भुलेर पार्टीलाई एकतावद्ध र गतिशिल बनाउनतर्फ अघि बढ्नुपर्ने जोड दिएका थिए ।
निर्वाचनलाई पार्टी एकता र सहमतिको सन्देश दिदै अव नयाँ नेतृत्व संगठित र व्यवस्थीत बनाउनका लागि लाग्नुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले निर्वाचनलाई पार्टी एकता र सहमितको सन्देश दिदै पार्टीलाई व्यवस्थीत बनाउन नेतृत्व लाग्नुपर्ने बताए । उनले नयाँ नेतृत्वका सामु पार्टीलाई वडा तहदेखि जिल्ला तहसम्म सगठित गर्दै आगामी निर्वाचनमा जित्ने गरि अघि बढ्न सुझाव दिए । त्यसका लागि आफुहरुको सहयोग सधै रहने बताए ।
जिल्ला निर्वाचन समितिका संयोजक प्रल्हाद कार्कीको अध्यक्षतामा कार्यक्रममा बोल्दै कांग्रेस दाङका नवनिर्वाचित सभापति शंकरप्रसाद डाँगीले पार्टीलाई वडा तहदेखि जिल्लासम्म संगठित र क्रियाशिल बनाउने बताए । विगतमा दुई कार्यकाल जिल्ला कार्यसमितिमा गरेको अनुभवका आधारमा नयाँ अहिलेको कार्यसमितिलाई संगठित निर्माणमा लगाउने बताए ।
‘पार्टीका अग्रज नेताहरुको सुझावलाई दाङ कांग्रेसको सम्पतिका रुपमा लिएर पार्टी निर्माणको अभियानमा लाग्नेछु’, उनले भने,‘त्यसका लागि मलाई जिल्ला कार्यसमिति साथ र अग्रज नेताहरुको सुझाव आवश्यक रहनेछ ।’ उनले आफ्ना सामु अहिले महत्त्वपूर्ण जिम्मेवारी आएको भन्दै यो जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
उनले आफ्नो यो कार्यकालमा दाङ कांग्रेसलाई नवीनतम कांग्रेसका रुपमा अघि बढाउने समेत बताए । पदमा बसेका हरेक नेताहरुले पद ओगटेर मात्र भन्दा संगठन निर्माणका लागि लाग्नुपर्नेमा जोड दिदै उनले भने,‘ संगठनको आधार भनेको वडादेखि जिल्ला कार्यसमिति हो । यसमा ५ हजार बढि अहिले नयाँ नेता तथा कार्यकर्ता आएका छन । अव सबै पार्टी निर्माणमा लागे वडा तहबाटै कांग्रेसलाई बलियो बनाउन सकिन्छ ।’
कार्यक्रममा कांग्रेस दाङका निबर्तमान सभापति किर्तिबहादुर खड्काले नयाँ कार्यसमितिले नया उर्जा र जोसका साथ पार्टी निर्माणका लागि लाग्नुपर्ने बताए । अहिले निर्वाचित सभापति कांग्रेस दाङमा दुई कार्यकालको अनुभव लिएको र युवा नेतृत्व भएकाले पार्टीले जिल्लामा नया गति लिने विश्वास समेत व्यक्त गरे । उनले पार्टीका हरेक नेता तथा कार्यकर्ताहरु बिपिको नितिलाई आत्मसात गरेर अबको मिसन कांग्रेसको सरकार बनाउने हो भन्ने गरि अघि बढनुपर्ने बताए । त्यसका लागि उनले हरेक नेताहरुलाई वनताप्रती सहनसिन,चरित्रवान,नैतिकवान र इमानदार बनेर देखाउन समेत आग्रह गरे ।
उनले निर्वाचनका क्रममा इतिहास बोकेका नेतालाई कांग्रेसमा लात हान्ने काम भएको भन्दै क्षनिक लाभका लागि गरिएको निर्णयले पार्टीलाई घाटा लाग्ने बताए । कांग्रेस नेतृ तथा राष्टिय सभा सदस्य अनिता देबकोटा लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले निर्वाचनका क्रममा भएका मतभेदहरुलाई भुलेर अव सवै नेता तथा कार्यकर्ताहरु सगठन निर्माणमा लाग्नुपर्ने बताए । निर्वाचनबाट जित्नेहरुलाई अरुको साथ र सहयोग लिएर अघि बढ्न समेत आग्रह गरेकी थिइन । उनले बिजयी नेताहरुलाई बधाई दिदै अगामी निर्वाचनको तयारीमा लाग्न समेत सवैलाई आग्रह गरिन ।
पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले निति, नारा र नेतृत्वका आधार अघि बढनुपर्ने बताए । पार्टीको नीतिभन्दा बहिर कोहि पनि जान नहुने भन्दै निती र नियमलाई भुल्ने कांग्रेस बन्न नसक्ने बताएका थ्एि । लुम्बिनी प्रदेशका मन्त्री अर्जुनकुमार श्रेष्ठले निर्वाचनका क्रममा भएका तितामिठा कुरालाई भुलेर कांग्रेसलाई बलियो र संगठित बनाउन लाग्नुपर्ने बताएका थिए । सभापति पदका प्रत्यासी भुपबहादुर डाँगी स्वार्थरहित कांग्रेस निर्माण गर्नेगरी अघि बढनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीम प्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र न ३ का सभापति जगत खड्का, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अमरबहादुर खड्का,नेपाल टूेड युनियन कांग्रेस उपमहासचिव गणेश केसी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला निर्वाचन समितिका सहसंयोजक कुमारराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश डाँगीले गरेका थिए ।