गोरक्ष समाचारदाता
दाङ, १४ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले सोमवार वडा कार्यालयमा पहिलो चौमासिकमा गरेका कामको प्रगति र चालु आर्थिक वर्षका योजना नीति कार्यक्रम र वडाबासीको सुझाव लिनका लागि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सेवाग्राही र सेवाप्रदायक संस्था बीचको सम्वन्ध बलियो बनाउन र भएका कामका बारेमा वडाबासीहरुलाई समय मै सुसूचित गराउने उद्देश्यले आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षका लागि ७१ वटा वडा स्तरीय कार्यक्रम मध्ये २४ वटा स्वीकृत भई सकेको, ३ वटा कार्य सम्पन्न भएको तथा २१ वटा प्रकृया वा अधुरो रहेको वडा सचिव तुलसीराम डि सीले जानकारी दिए । उनका अनुसार, नगरी स्तरीय १४ वटा योजना परेकोमा केही प्रकृयामा गई सकेको बताए ।
यसैगरी, वडा कार्यालयले ६४ जन्मदर्ता, २८ विवाह दर्ता, २३ मृत्यु दर्ता, ५७ वटा बसाईसराई गरेका, सम्बन्ध विच्छेदका ४, बसाईसराई गरी आउने ४३ का घटनाहरु दर्ता भएको जनाएको छ । यस आर्थिक वर्षका लागि तय भएका कार्यक्रम तथा बजेटको प्रगति र वडा बासीहरुको गुनासा एवं सुझावका बिषयमा नगरपालिकाका विभिन्न शाखा तथा महाशाखाका प्रमुखहरुले तत्का लै समाधान सहितको जवाफ दिएका थिए ।
सो अवसरमा वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुले सडक कालोपत्रे दिगो बन्नु पर्ने, नालामा ढक्कन हुनु पर्ने, पार्कीङ सहित ट्राफिक व्यवस्थापन उचित हुनु पर्ने, सार्वजनिक जग्गाको उचित संरक्षण हुनु पर्ने, केवुल र विद्युतीय तारहरुलाई व्यवस्थित बनाउनु पर्ने, लागु औषध नियन्त्रणमा प्रहरी र वडा कार्यालयको विशेष पहल हुनु पर्ने लगायतका सुझाव दिएका थिए ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाबासीले छनोट गरेका योजना पुरा गर्न वडा कार्यालय, सिंगो नगरपालिका तथा शाखा महाशाखा गम्भीर रहेको बताए । स्थानीय तहलाई सुशासन युक्त बनाउन नगरबासी, टोलबासीहरुको उत्साहपूर्ण सल्लाह सुझावले ठूलो भूमिका खेल्ने हुँदा निरन्तर खबरदारी गर्न अपिल गरे ।
कार्यक्रममा उपमहानगरका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी, वडा प्रहरी कार्यालयका प्रमुख हृदयेश सापकोटा, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी लगायतले सार्वजनिक सुनुवाईका क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष शक्तिराम डाँगीले वडाबासी स्थानीय सरकारको साझा नागरिक भएकाले कोही कसैलाई काखा र पाखा नगरिएको बताए । वडा बासीको सर्वोपरी हीत हुने काममा दिन रात खट्दा कहिले काँही अपेक्षित नतिजा नागरिकले पाउन बिलम्ब हुने भएपनि आफुहरु वडाबासी हरेक दृष्टिकोणले सेवा सुविधा र पहुँच युक्त बनून् भन्ने नै वडा कार्यालयको चाहना रहेको उनले बताए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा गौतमले गरेकी थिइन् ।