नेपालको जनसंख्या ३ करोड पुग्ने अनुमान

गोरक्ष समाचारदाता

दाङ, १२ मंसिर । राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोधबिना सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए । जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्याङ्क विभागले विवरण इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए ।

‘सबैको लेखाजोखा गर्दा पहिलेको प्रोजेक्सन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाखसम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो’, उनले भने, ‘यसको इन्ट्री भइसकेपछि त थाहा हुन्छ, यद्यपि जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ । केन्द्रमा आइसकेपछि हामीले तथ्याङ्क इन्ट्री गर्ने काम गर्छौँ । डाटा–इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ । डाटा–इन्ट्री सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौँ ।’

एक वर्षपछि जनगणनाको रिपोर्ट निकाल्न सुरु गर्ने र दुई वर्षभित्रमा जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाइ छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए । ‘आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरू निकाल्ने क्रम जारी हुँदै जान्छ । यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टिभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ’, उनले भने ।

महानिर्देशक श्रेष्ठले केही गणकले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरीवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उनले स्पष्ट पारे । दुर्गम र पुग्न कठिन ठाउँमा पनि गणकले जनगणना गरेको उनले बताए । गणकहरू तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे ।

‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन, नरहेपछि हाम्रा साथीहरू मान्छे हिड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रूखका हाँगाहरू समातेर माथिसम्म पुग्नुभयो, तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो, बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन हिजो उहाँहरूलाई हेलिकप्टरबाट सदरमुकाम खलङगा ल्याउने काम सम्पन्न ग¥यौँ’, महानिर्देशक श्रेष्ठले भने ।

केन्द्रीय तथ्याङ्क विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरूमा भने कूटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।