खेमराज रिजाल
दाङ, १२ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत् जिल्ला अधिवेशनका क्रममा शनिवार मतदान सम्पन्न भएको छ । जिल्ला सभापति, अन्य पदाधिकारीलगायत सम्पूर्ण कार्यसमिति सदस्यहरूका लागि निर्वाचन सम्पन्न भएको छ । मतदाताहरूले अत्यन्त उत्साहजक एवं सौहार्दपूर्ण वातावरणमा मतदान गरेको मुख्य निर्वाच्न अधिकृत प्रह्लाद कार्कीले जानकारी दिएका छन् । मतदानमा भाग लिन शनिवार बिहानै देउखुरीदेखि बबई गाउँपालिकासम्मका प्रतिनिधिहरू लाइनमा बसेका थिए ।
‘अत्यन्तै सौहार्दपूर्ण एवं उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ, मतदानका क्रममा कुनै पनि अप्रिय घटनाहरू भएनन्’–मुख्य निर्वाचन अधिकृत कार्कीले भने । निर्वाचनका लागि ६ वटा प्रदेशको भिन्नाभिन्नै लाइन बनाइएको थियो । हरेक प्रदेश क्षेत्रको एउटा कक्षमा एउटा महिला र अर्को पुरूषको लाइन गरी जम्मा १२ वटा लाइन थिए ।
धेरै पदहरू भएका कारण एक जनालाई मतदान गर्न कम्तिमा ८ मिनेट समय लागेको थियो । अपाङ्ग, ज्येष्ठ नागरिकका लागि लाइनमै बस्नु नपर्ने व्यवस्थापन गरिएको थियो । लाइनबाट मतदान स्थल छिरेपछि त्यहाँ कम्तिमा पनि ५४ स्थानमा मतपत्रमा टीक लगाउन सकिने गरी व्यवस्थापन गरिएको थियो । निर्वाचनका लागि कम्तिमा ४० जना कर्मचारीहरू परिचालन गरीएको निर्वाचन समितिले जनाएको छ ।
‘मतदान स्थल निकै व्यवस्थित थियो, लाइनमै बस्नु परेन’, अपाङ्गता भएका मतदाता कृष्णबहादुर बुढाथोकीले भने । यसैगरी ज्येष्ठ नागरिक पोषणकुमार आचार्यले पनि मतदानमा बृद्धबृद्धालाई कुनै समस्या नभएको बताएका छन् । मतदानलाई व्यवस्थित बनाउनका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरीले पनि बाहिरी घेराबाट सुरक्षा प्रदान गरेको थियो ।
मतदानका लागि जिल्ला भरबाट आएका क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस शुभेच्छुकहरूले मतदान स्थल रहेको भरतपुरको पद्मोदय पब्लिक नमुना मावि भरिभराउ थियो भने घोराहीका ठूला होटल भिंग्रेली भिलेज, मालाइन, सिटीप्लाजा, थ्री–स्टार, पौवा घरलगायतका प्रायः सबै होटलहरू शुक्रवारदेखि नै भरिभराउ देखिएका छन् । भरतपुर क्षेत्रका साना होटलहरूमा पनि दिनभर खचाखच भीड देखिएको थियो ।
प्राप्त जानकारीअनुसार शनिवार भएको निर्वाचनमा कूल मतदाता २ हजार १ सय ९२ भएकोमा २ हजार १ सय ३८ मत खसेको छ । मतदान सकिएलगत्तै आचारसंहिता बनाएर शनिवार साँझैदेखि मत गणना सुरु भएको छ । जिल्ला सभापतिलगायत पदाधिकारीहरूको मतपरिणाम मध्यरातसम्म सार्वजनिक गरिने निर्वाचन समितिले तयारी गरिसकेको छ । ‘हामी सम्भवतः सभापतिलगायत पदाधिकारीहरूको मत गणना परिणाम मध्यरातसम्म सार्वजनिक गरिसक्ने छौँ, अन्य सदस्यहरूको मत गणनाको परिणाम पनि आइतवार दिउँसोसम्म सार्वजनिक भइसक्नेछ’, निर्वाचन अधिकृत सन्तोष सुवेदीले भने ।
पहिलो चरणमा सभापतिलगायत पदाधिकारीहरूको मतगणना सकिने र त्यसपछि मात्रै अन्य सदस्यहरूको मतगणना सुरु हुने निर्वाचन समितिको तयारी छ । सभापति पदमा विजयी हुनका लागि कम्तिमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । जिल्लामा ४ जना होनहार व्यक्तित्वहरूले निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण पहिलो चरणमै एक जनाले ६० प्रतिशतभन्दा बढी मत ल्याउनसक्ने सम्भावना नरहेको बताइएको छ ।
यो अवस्थामा बढी मत ल्याउने दुई जनाबीच फेरि अर्को निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचन पनि आइतवार नै हुने तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ । सामान्यतया शनिवारकै सेडुलमा आइतवार पनि दोस्रो चरणको निर्वाचन हुने निर्वाचन समितिले बताएको छ । यद्यपि, यसको आधिकारिक सूचना टाँस भने गरिएको छैन । सम्भवतः आइतवार बिहानै यो विषयमा औपचारिक जानकारी हुने बताइएको छ ।
जिल्ला सभापतिका लागि वर्तमान कार्यसमितिका सचिव शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, देउखुरीलाई कार्यक्षेत्र बनाएका नेता जानकीलाल बस्नेत र दाङ निर्वाचन क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीले सभापतिमा उम्मेद्वारी दिएका थिए । उपसभापतिमा कमानसिंङ भारती, गिरिराज सुवेदीले उम्मेदवारी दिएका छन् भने सचिवमा अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश राणाबीच प्रतिस्पर्धा भएको छ ।
सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यहरू मध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक, जिल्ला अधिवेशनले जिल्ला अधिवेशनका प्रतिनिधि मध्येबाट प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक महिलासहित दुई जना, नगरपालिकाबाट कम्तिमा एक महिलासहित तीनजना, उपमहानगरपालिकाबाट कम्तिमा दुई महिलासहित पाँच जना, महानगरपालिकाबाट कम्तिमा तीन महिलासहित सातजना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ ।
महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुईतिहाइ सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोटअनुसार, तोकिएवमोजिम समानुपातिक आधारमा निर्वाचित गर्नेछ । अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एकजना प्रत्यक्ष निर्वाचित गर्नेछ । सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्नेछ ।