तुलसीपुरमा जेसीज भवन …

म त्यो वेला तुलसीपुर नगर जेसीजको अध्यक्ष थिएं । हामी सामाजिक अभियानका विभिन्न कार्यक्रममा सहभागी हुने गथ्र्यौ । तर तुलसीपुरका धेरै युवाहरूको ढुकढुकीको संस्था तुलसीपुर नगर जेसीजको आफ्नै भवन थिएन ।

हामीले संस्थाको कार्यालय एउटा झोलालाई बनाउदै आएका थियौँ । यसले काममा सहजता थिएन । रजिष्टर कहां राख्ने सम्मको समस्या थियो हामीलाई । त्यसैले हामीले पहिलेदेखि नै सोचेको आफ्नै भवन अभियानलाई साकार बनाउनु थियो । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकासँग समन्वय गरेर जग्गा प्राप्त गयौँ । तर भवन बनाउने पैसा हामीहरूसँग थिएन ।

म जेसीजको अध्यक्ष भएको नाताले देश विदेशमा रहेका साथिहरूसँग यो विषयमा सरसल्लाह गरे । घरपरिवार र तुलसीपुरकै अग्रज व्यक्तित्वहरूसँग भवन निर्माणका लागि सहयोग जुटाउने प्रस्ताव गरे । अन्ततः हामी पैसा जुटाउन पनि सफल भयौँ । र भवन निर्माण पनि सम्पन्न भयो । मलाई याद छ, त्यो भवन जेसीजलाई हस्तान्तरण भएको । अर्थात विसं २०७७ शाल पुस ११ गते सो भवनको हामीले भव्य रूपमा उद्घाटन गरेका थियौँ । लेखिदिनुहोला मेरो खुसी जेसीज भवन, जुन मेरै विशेष पहलमा निर्माण भएको थियो । आज जेसीज आफ्नै भवनमा बस्न पाउँदा मलाई अत्यन्तै खुसीको अनुभूति भइरहेको छ ।

त्यसो त खुसीका धेरै अन्य क्षणहरू पनि छन् । हामी समाजसेवामा जोडिएका युवाहरूको खुसी अरु के हुन्छ र ? अँ कोरोना भाइरसको दोस्रो लहरको अक्सिजन कहर पनि मैले स्मरण गराउन चाहन्छु । सायद गएको बैसाखको अन्तिम सातादेखि जेठ महिनाको पहिलो साता हुनुपर्छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक भइरहँदा दाङ जिल्लाका सवै स्वास्थ्य संस्थाहरू कोरोनाका बिरामीहरूले भरिभराउ थिए । एकै दिनमा आठ जना सम्मको ज्यान गएको अवस्था हुन्थ्यो ।

अस्पतालहरूमा अक्सिजनको चरम अभाव थियो । त्यसैबेला मेरै पहलमा तुलसीपुर क्षेत्रका राप्ती लाईफकेयर अस्पताल, वेलझुण्डी कोरोना अस्पताल, तुलसीपुर सिटि अस्पताल तथा प्रादेशिक अस्पतालमा समेत हामीले केहि मात्रामा भए पनि अक्सिजनको जोहो गरेका थियौँ । विभिन्न अटो ग्यारेजहरूमा थन्किएका अक्सिजन सिलिण्डर ल्याएर हामीहरूले अस्पतालमा पु¥याएका थियौँ । सायद यसले दर्जनौँ संक्रमितको ज्यान बचाएको थियो । अर्थात अक्सिजन मेरो खुसी ।

म समाजसेवा सँगै एउटा व्यवसायी र एउटा विद्यालयको खेलकुद शिक्षक तथा अनुशाशन पालक पनि हुं । म हाल सम्म पनि तुलसीपुरको नाम चलेको गोरखा माविमा खेलकुद शिक्षक तथा अनुशासन पालकका रूपमा काम गरीरहेको छु । मैले सिकाएका विद्यार्थिहरूले राष्ट्रिय प्रतियोगितामा पदक जित्दा र अन्तराष्ट्रिय साग गेममा एथ्लेटिक्समा नया रेकर्ड बनाउन सफल हुँदाको क्षणलाई पनि अविस्मरणिय क्षणका रूपमा स्मरण गर्न चाहन्छु ।

गएको राष्ट्रपति कप रनिङ शीलड राष्ट्रिय प्रतियोगितामा गोरखा स्कुलका धेरै विद्यार्थिहरूले एथलेटिक्समा पदक पाउन सफल भएका थिए । म अहिले मेरा विद्यार्थि अरुणा रिजाललाई विशेष स्मरण गर्न चाहन्छु, उनले ४ सय मीटरको एथ्लेटिक्समा राष्ट्रिय रेकर्ड बनाएकी थिइन् । उनलाई यसै पत्रिकामार्फत् विशेष धन्यवाद पनि दिन चाहन्छु । अर्थात खेलकुद र अनुशासन मेरो खुसी । अनुशासन र मेहनतले मानिसलाई जहिले पनि सफलता उन्मुख बनाउंछ । मेहनतपछिको उपलब्धि खुसी हो ।

त्यसो त मैले पहिलो लहरको कोरोना भाइरसको संक्रमणका वेला पनि लकडाउनका कारण काम विहिन भएका भोका मज्दुरहरूलाई खाद्धान्न उपलव्ध गराउन संस्थागत रूपमा पहल गरेको थिएं । हाम्रो पहलमा जुटेको दालचामलले दर्जनौँ मज्दुरहरूको साझ विहानको हातमुखजोर्ने कामको जोहो भएको थियो । त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा एम्वुलेन्सले विरामी बोक्न मानिरहेका थिएनन् । अर्थात विरामीबाट अस्वाभाविक रूपमा भाडा असुल्ने सर्वत्र गुनासो थियो ।

त्यसैवेला तुलसीपुर उपमहानगरपालिकासँगको सहकार्यमा मेरै नेतृत्वमा तुलसीपुर क्षेत्रमा अटो एम्वुलेन्स चलाउने पहल भएको थियो । तोकिएको स्थानबाट तोकिएको भाडामा अटो एम्वुलेन्सले विरामी ओसार्न थालेपनि धेरै विरामीहरू समयमै अस्पताल आउन सफल भएका थिए । त्यसपछि तुलसीपुरमा एम्वुलेन्सको अभावको अवस्था कहीँ पनि देखिएन । अटोलाई व्यवस्थीत गरी बिरामी बोक्न प्रयोग गर्ने कामको समन्वय पनि यीनै सुनारले गरेका थिए । जुन अभियानलाई तुलसीपुर उपमहानगरपालिका पछि इटहरी उपमहानगरपालिकाले पनि अनुशरण गरेको थियो ।

माथि उल्लिखित खुसीका क्षणहरू तुलसीपुर उपमहानगरपालिका—८ दुधेना निवासी मोहन सुनारका । विसं २०४६ शालमा जन्मिएका युवा व्यवसायी तथा समाजसेवी सुनारले प्रार्थमिक शिक्षा तुलसी वोर्डिङबाट पुरा गरेका थिए भने एसएलसी परीक्षा तुलसीपुर उपमहानगरपालिका—५ को फातीमा वोर्डिङ स्कुलबाट गरेका थिए । ग्लोवल कलेज अफ म्यानेजमेन्ट काठमाण्डौबाट प्लस टु पुरा गरेका सुनारले राप्ती ववइ क्याम्पसबाट विविएस उत्तिर्ण गरेका छन् ।

खेलकुद क्षेत्रमा पनि विशेष रुचि भएका सुनारले कोरीयाको सिँगसुंग युनिभर्सिटिबाट तोक्वान्दोको डिग्री हासिल गरेका छन् । अहिले उनी तुलसीपुरका विभिन्न अस्पतालमा कुनैपनि समुहको रगतको अभाव भएमा त्यसको तत्काल आफूर्ति गर्नका लागि जेसीजको तर्फबाट समन्वयकारी भुमिकामा समेत रहेका छन् । ‘रगतको अभावमा कुनैपनि विरामी तुलसीपुरमा तड्मिनुपर्ने छैन, हामीले क्षणभरमै आवस्यकता अनुसारको समुहको रगत उपलव्ध गराउन प्रतिवद्ध छौँ’, मोहन सुनारले भनेका छन्, रगतको अभावमा तुलसीपुरका कुनैपनि विरामीको ज्यान जाने छैन ।

तुलसीपुर नगर जेसीजको निवर्तमान अध्यक्ष, एम्नेष्टि इन्टरनेश्नल दाङको निवर्तमान अध्यक्ष, लुम्बिनी प्रदेश टेक्वान्दो संघको कोषाध्यक्ष, गोरखा मावि तुलसीपुरका खेलकुद तथा अनुशासन सम्योजक समेत रहेका सुनार व्यापार व्यवसायसँग पनि जोडिएका छन् । दाङ जिल्ला भलिवल संघको उपाध्यक्षको जिम्मेवारीमा रहेका सुनार स्वीकार मोवाइल घरका सन्चालक तथा न्यु विजय सुनचांदि पशलका पनि सन्चालक हुन् ।

हालै सम्पन्न नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् उनी सवैभन्दा बढी मत ल्याएर प्रदेश प्रतिनिधिमा विजयी भएका छन् । उनले प्रतिस्पर्धिलाई दोव्वर मतले पराजित गरेका छन् । भन्छन् सवैथोक सुधार्न र नीति निर्माण गर्न युवाहरू पनि राजनीतिमा आउनुपर्दो रहेछ, त्यसैले पछिल्लो बाँकी समय राजनीतिमा पनि क्रियाशील बनाउने प्रण गरेको छु । अब आफुले पार्टिका अग्रज नेताहरूले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्न पनि तयार रहेको बताएका छन् ।

प्रस्तुती : बालाराम खड्का