शरीर साधन हो साध्य होइन

नारायणप्रसाद श्रेष्ठ

जीवन धागोको डल्लो सरी हुन्छ । धागो फुकाउन जाने यो सजिलै फुकिँदै जान्छ र यसलाई फुकाउन नजाने जेलिएर टुक्रा–टुक्रा भइ आउनसक्छ । त्यसरी नै जीवन पनि सही र निर्दिष्ट गोरेटो समाउन सके सहज र सरल बनेर गतिशील रहन्छ अन्यथा जीवनको प्रत्येक कदममा धोका, दुःख, कष्ट र विविध समस्याहरु आइरहन्छन् र परिस्थिति असहज बन्दै जान्छ ।

तसर्थ, मानवीय मूल्य र मान्यताभित्र हुर्कंदै आएको संस्कार र चिन्तनलाई साध्य बनाउनेतर्फ सधैँ चिन्तनशील भइरहनुपर्छ । धन, सम्पत्ति, शरीर आत्माको साधन हो । कर्म र व्यवहार यसको उद्देश्य हो । साधनलाई साध्य बनाउने भनेको उसको उद्देश्यलाई सहज गति बनाउनु हो । तसर्थ, हाड–मासुको शरीरलाई गतिशील हुन उत्प्रेरित गर्ने जीवतत्व (जीवन)लाई र यसको गन्तव्यलाई बुझेर साध्य बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ ।

रुपैयाँ साधन हो साध्य होइन । साधनलाई साध्य बनाउने गरी कर्म र व्यवहारलाई परिस्कृत गर्दै जीवनलाई उत्तम गति दिन सधैँ एकाग्र र लगनशील भएर अंगीकार गरे यसले उचित गन्तव्य निर्धारण गरी खुसी र आनन्द प्राप्त हुन्छ । त्यसैले मनमा आउने व्यर्थ संकल्प जसले पवित्र विचार र आत्मसत्यलाई दूषित बनाउँछ, त्यसलाई परित्याग गरी नम्रतारुपी कवच धारण गरेर साधनलाई सफलता उन्मुख बनाउन हरहमेसा लागिरहनुपर्छ ।

वर्तमान समयमा मानिस केवल धन, सम्पत्ति र रुपैयाँ, पैसा नै सबै हो भन्ने मानसिकताले गाँजिएको छ । नाता, कूल, कुटुम्ब र समाजभन्दा पनि धन, पैसालाई महत्व दिई जीवनलाई भौतिकतातर्फ धकेलिएको अवस्था छ । रुपैयाँले सबै किन्न पाइन्छ, इमान, जमान, विश्वास, नाता, इष्टमित्र सबै खरिद गरिने वस्तु हुन् भनी आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ । यति मात्र होइन परिवारबाट प्राप्त हुने माया, ममता र विश्वास पनि खरिद गर्न सकिन्छ भनी अहंकार गरेर आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ ।

वास्तवमा यस्तो किसिमको सोच र चिन्तन गर्नु भनेको डल्लाको धागो सरी जीवनलाई बल्झाउँदै जानु हो । जीवनलाई असहज वातावरणमा लगी आफूले आफैलाई धोका दिनु हो । वास्तवमा यस्तो चिन्तन सल्बलाउनु भनेको भौतिकवादी गैरजिम्मेवारी सामाजिक चिन्तन हो । यसले न त सामाजलाई आदर्श गतिउन्मुख बनाउन सक्छ न त जीवनले आनन्द र खुसीको अनुभूति पाउँछ । तसर्थ, समय र परिस्थितिको आँकलन गरी जीवनको उद्देश्य र गतिशीलतालाई सरल र सहज बनाउने वातावरण सिर्जना गरी आफूलाई र आफ्नो परिवेशलाई बुझ्नु बुझाउनु पर्छ । जीवनलाई साध्य बनाउने चिन्तन गर्न सक्नुपर्छ ।

भौतिकता भनेको क्षणिक हो । यो कुनै पनि बेला नष्ट (क्षय) हुनसक्छ । जसरी समय बिहान, दिउँसो र राती भएर बदलिरहन्छ त्यसरी नै भौतिकताभित्रको विलासी पनि बदलिरहन्छ । यसले क्षणिक आनन्दको अनुभूति गराए पनि यसको परिणाम छाडा र गतिहीन हुनसक्छ । रुपैयाँ, पैसा सधैँ चञ्चलतामा रम्ने द्रव्य हुन् । चञ्चलता यसको स्वभाव हो । यो सधैँ एक ठाउँमा रहन सक्दैन । क्षण–क्षणमा एकअर्काबीच सामिप्यता जोड्दै, छोड्दै जाने यसको स्वभाव हुन्छ ।

यो केवल साधन हो । यो आफै साध्य होइन । हो ! यसको उचित प्रयोगले मानिसले आफ्नो आवश्यकता पूरा गर्न सक्लान्, खुसी साटासाट गर्न सक्लान्, जीवनलाई क्षणिक आनन्दको सागरमा डुबुल्की मार्न सक्लान्, मनमा लागेको चीज, वस्तु खरिद गरी आफूलाई सम्पन्नताको पगडी गुथ्दै हैकमवादी सोच प्रवाह गर्न सक्लान् तर यसको परिणाम जहिले पनि क्षणिक र डरलाग्दो हुनसक्छ । यस्तो सोच र चिन्तनले अहंकार पैदा गरी मानिसलाई पतीत र आचरणहीनतर्फ डो¥याउँछ । यति मात्र होइन, यसले मानिसलाई अविश्वासी र अहंकारी बनाउँदै समाजदेखि पनि बहिस्कृत गराउन सक्छ ।

त्यसैले क्षणिकता र चञ्चलतामा रुमलिन सक्ने यसको वास्तविकतालाई पहिचान गरी धन, सम्पत्ति, रुपैयाँ, पैसालाई उचित रुपमा प्रयोग गर्ने विवेकशील प्राणी बन्न सक्नुपर्छ । रुपैयाँ नै सबै हो भन्ने सोच राख्नु हुँदैन । यसैगरी जीवनमा पनि क्षणभरमा आउने हजारौँ चिन्तनलाई अवसरको रुपमा हेरी त्यसलाई छटनी गर्न जान्नुपर्छ । यदि छटनी गर्न जानिएन भने यसको परिणाम कष्टकर र दुर्भाग्य हुनसक्छ ।

त्यसैले जीवनको यही सारलाई बुझी यसको उद्देश्य र गतिशीलतामा देखापरेका बाधा अड्चनलाई फुकाउँदै धैर्य र सम्यमशील बनेर चिन्तनशील हुनुपर्छ । जसरी जीवनको गोरेटोमा रुपैयाँलाई साधन मानिन्छ त्यसरी नै परिवार पनि जीवन जिउने आधारको रुपमा विकसित भएको हुन्छ । व्यक्तिको आपसी सम्बन्ध र सहजताका कारण कायम भएको परिवार जीवनलाई साध्य गतिमा लैजाने स्थायी आधार हो । माया, ममता, शिक्षा, स्वास्थ्य र दीक्षा एवं सामाजिक मान, मर्यादा कायम गराउने उत्तम माध्यम भनेको परिवारको स्नेह र सद्भाव हो । यसैबाट मानिसले आफूलाई गतिशील बनाएको हुन्छ ।

यो साधन पनि होइन, जो प्रयोग ग¥यो हटायो । पारिवारिक बन्धन भनेको सामाजिक सद्भाव कायम गरेर जीवनलाई सहज गतिउन्मुख गराउने आधार हो । त्यही अनुरुप यो परिस्कृत भएको हुन्छ । परिवार भनेको स्नेह र पवित्र आत्माको मिलन हो । यो एकअर्काप्रतिको आकर्षण र प्रेमले बाँधिएको हुन्छ । यो भत्कनु भनेको जीवन बर्बाद हुनु हो । जीवनलाई समाप्त पार्नु हो । रुपैयाँलाई साधन मानिन्छ भने परिवारलाई आधार स्तम्भ मानिन्छ ।

यही आधारबाट जीवनले सहज गति निर्धारण गर्न सक्छ । मानवलाई मानव भएर जिउन प्रयोग हुने मन, वचन र कर्म यही मानवोचित जीवन निर्वाहका लागि साधन हुनसक्छ । साधनलाई उचित गति निर्धारण गर्न जाने जीवन सफलता उन्मुख हुन्छ । साधनलाई साध्य बनाउनु भनेको मानवीय सोच र चिन्तनले उब्जाउने वातावरण स्वस्थ बनाउनु हो । यसलाई पवित्र र स्वच्छ बनाउन मानव स्वयम्ले परिस्थिति अनुकूल आचरण र व्यवहार गर्न सक्नुपर्छ ।

वर्तमान समयमा देखिएको सामाजिक विकृति र विसंगति तथा मानवीय आकांक्षामा देखिएको स्वार्थपरक चिन्तन र अहंकारले समाजमा विविध विकृतिजन्य घटनाहरु घटिरहेका छन् । स्वार्थका कारण सामाजिक अपराध बढ्नुका साथै आचरण र व्यवहारमा अमर्यादित गतिविधि भइरहेका छन् । नीति र नैतिकता कमजोर भइरहेको छ । चोरी, डकैती, बलात्कारजस्ता अपराध प्रवृत्तिसँगै आचरणमा ह्रास आइरहेको छ । जीवनलाई रकममा सटही गर्ने कार्य भइरहेको अवस्था छ । यस्तो विषम परिस्थितिमा जीवनले निर्वाह गर्नुपर्ने आचरणमा यदि कहीँ कतै यस्तै परिस्थिति सिर्जना हुँदै जाने र स्वार्थले जकडिएको चिन्तन हाबी हुँदै जाने हो भने जीवनले कस्तो गति लिने हो ? सर्वत्र चिन्ताको विषय बन्दै गएको छ ।

मानवीय आदर्शलाई बिर्सेर क्षणिकतालाई वास्तविकतामा परिणत गर्ने जुन सोच वर्तमानमा विकसित भइरहेको छ, यसले कतै हामीले हाम्रो गन्तव्य बिर्सिएको त होइन ? यो पनि प्रश्न उठिरहेको छ । सामाजिक दर्पणको रुपमा काम गर्नुपर्ने समयमा प्राप्त भएका अवसर र परिस्थितिलाई यदि सदुपयोग गर्न जानिएन वा साधनलाई साध्य बनाउन चिन्तन गर्न चुकियो भने हामे गन्तव्य कस्तो रहला ? आँखाले देखेको सत्य मात्र स्वीकार्ने प्रवृत्तिको विकास गर्नु खान, लाउनु र मोजमजा मात्र गर्ने मनसाय राख्नु जीवनलाई यद्देश्यविहीन गन्तव्यमा लैजान खोज्नु होइन र ? जहाँ अवसर हुन्छ त्यहाँ चुनौती पनि बढेको हुन्छ ।

जहाँ चुनौती हुन्छ त्यहाँ जिम्मेवारी पनि हुन्छ । जब जिम्मेवारी महशुस हुने अवस्था आउँछ त्यहाँ विवेकले अवसरलाई कर्ममा परिणत गर्ने उपाय खोज्छ । त्यसबेला समस्याको चाङ खडा हुनसक्छ तर हतोत्साह हुनु हुँदैन । आफूलाई धैर्य र सम्यमशील बनाई आफ्नो गन्तव्यलाई गतिशील बनाइरहनुपर्छ । समस्या आफै समाधान हुँदै विचार कर्मप्रधान भएर प्रवाह हुने अवस्था रहन्छ । यस्तो अवस्था आउनु भनेको जीवनले खोजेको अवसर प्राप्त गर्दै जानु हो । साधनको उचित प्रयोग भइ जीवनले साध्य हासिल गर्दै जानु हो ।

तसर्थ, जन्म, मरणको इतिहासमा आउने उतार चढावलाई हृदयको तराजुमा तौलिएर पवित्रताको मूलद्वार भेटाउन सबैले आफूलाई समर्पित गर्नुपर्छ । साधनलाई साध्य बनाउनेतर्फ चिन्तन र मनन् गर्नुपर्छ । अविनाशी आत्मा, मन र चिन्तनले खोजेको आत्मतत्वलाई आत्मसात गरी जीवनलाई सहज गति दिनु पर्छ । समयले यही खोजिरहेको छ ।