सहज रूपमा कर तिर्ने वातावरण बनाऊ

सकियो कर सप्ताह
अमरराज आचार्य
दाङ, ८ मंसिर । सहज रूपमा व्यवसायीलाई कर तिर्ने वातावरण बनाउनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ सुरु भएको दशौँ राष्ट्रिय कर सप्ताहको समापनका अवसरमा मंगलवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले व्यवसायीहरूलाई सहज रूपमा कर तिर्ने वातावरण राज्यले बताउनुपर्ने बताएका हुन् ।

जिल्लामा विभिन्न स्थानमा रहेका व्यवसायीहरूलाई अहिले पनि सहज रूपमा कर तिर्ने वातावरण नभएको भन्दै उनीहरूले यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए । आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तिरेको कर देशको विकासका लागि भएकाले सबै करको दायरामा आउनुपर्ने बताए ।

यसका लागि राज्यले वातारण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । ‘सबै कर तिर्नका लागि उत्प्रेरित हुने वातावरण हुन आवश्यक छ’, प्रजिअ रेग्मीले भने, ‘त्यसको वातावरण कर्मचारी र व्यवसायीहरू मिलेर बनाउनुपर्छ ।’ उनले व्यवसायीहरू व्यासायिक मर्यादाअनुसार सञ्चालन हुनुपर्ने बताए । राज्यका ऐन, कानुनअनुसार व्यवसाय सञ्चालन भएमा कुनै समस्या नहुने उनले बताए ।

अहिले पनि व्यवसायीमैत्री वातावरण सिजना हुन नसकेको भन्दै त्यसका लागि सहज वातावरण सिर्जना गर्न समेत आग्रह गरे । ‘सबै मिलेर व्यवसायीमैत्री वातावरण सिजना गर्न आवश्यक रहेको छ’, उनले भने, ‘त्यसका लागि मैले के सहयोग गर्नुपर्छ, त्यो गर्न तयार छु ।’ साथै उनले यसका लागि सबैले आ–आप्mनो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । सामाजिक अवारोध, पूर्वाधार अभाव, औद्योगिक नीति निर्माण हुन नसकेका कारण औद्योगिक विकासले गति लिन नसेको उनको भनाइ रहेको थियो ।

जिल्लाका ठूला आयोजनाहरूका लागि सबै मिलेर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘जिल्लाको विकासका लागि सबै एकताबद्ध भएर अगाडि बढ्नुहोस्, हाम्रो क्षेत्रबाट हुने सहयोग गर्न हामी तयार छौँ’, उनले भने । आन्तरिक राजस्व कार्यालयका प्रमुख गोपिकृष्ण कोइरालाले राजस्व कार्यालयले राज्यले बनाएको नीतिनियमको कार्यान्वयका लागि अगाडि बढ्ने गरेको बताए । व्यवसायीहरूलाई पर्ने समस्या समाधानका लागि आफूहरूले सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग रहने बताएका थिए । कुनै समस्या परेमा कार्यालयसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले राज्यले गैरकानुनी रूपमा सञ्चालन हुने व्यवसायीलाई नियन्त्रणमा लिनुपर्ने बताए । यसका लागि आवश्यक सहयोग गर्ने उद्योग वाणिज्य संघ तयार रहेको उनको भनाइ छ । ‘गैरव्यवसायीको कारण अन्य व्यवसायीहरू मारमा परेका छन्’, उनले भने । राज्यले सहज रूपमा कर तिर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरूले आफूले गरेको व्यवसायको विलविजक सही रूपममा राख्नुपर्ने बताए । व्यवसायहरूलाई आवश्यक पर्ने तालिम तथा सहयोग गर्न उद्योग वाणिज्य संघ सधैँ तयार रहेको समेत उनको भनाइ रहेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यवसायीहरूलाई पर्ने समस्या समाधानका लागि आफूहरूले काम गर्दै आएको बताए । राज्यले कर वृद्धि मात्र नभइ करको दायरा बढाउनु पर्ने उनको भनाइ रहेको छ । ‘सबैलाई करको दायरामा ल्याउन राज्य लाग्नु पर्दछ’, उनले भने । गढवा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यले दाङको एक मात्र नाका कोइलावास नाकालाई सञ्चालनमा ल्याउनका लागि सबैको प्रयास हुनुपर्ने बताए । यो नाका सञ्चालनमा आएमा राप्तीका बासिन्दालाई सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

त्यस अवसरमा सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सचिन्द्रकुमार देव, घन्सबहादुर बस्नेतलगायतले भनाइ राखेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघका नितर्वमान अध्यक्ष नारायणप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । त्यस अवसरमा सरकारले व्यवसायीहरूका लागि ल्याएका विभिन्न करसम्बन्धी छुटका बारेमा कर अधिकृत टोपेन्द्र थापाले जानकारी गराएका थिए ।

सरकारले ल्याएको छुट योजनाको उपयोग गर्न समेत उनले आग्रह गरे । यस प्रकारको छुटको योजनाहरू नआउने भएकाले आएको अवसरलाई सदुपयोग गर्न व्यवसायीहरूलाई सुझाव दिएका थिए । कर सप्ताहको अवसरका जिल्लाका विभिन्न स्थानमा करसम्बन्धी सचेतना, करसम्बन्धी तालिमलगायतका कार्यक्रम आयोजना गरिएको थियो । कर सप्ताहको मंसिर १ गते तुलसीपुरमा प्रभातफेरीको आयोजना गरी उद्घाटन गरिएको थियो ।

उत्कृष्ट करदातालाई सम्मान

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जिल्लामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । समापन कार्यक्रममा सबैभन्दा बढी कर तिर्न गणपति भेनेर तथा प्लाइउडका सञ्चालक गेहेन्द्र बस्नेतलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो भने दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको कार्यमा विभिन्न माध्यमबाट सहयोग पु¥याएको भन्दै संघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सचिन्द्रकुमार देवलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।