वि.सं २०४६ सालमा एमालेको विद्यार्थी राजनीतिमा जोडिएर पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै तत्कालीन एमालेको जिल्ला उपसचिव समेतको जिम्मेवारीमा पुगेका दाङका युवा कम्युनिस्ट नेता शुरामणि बेलवासे एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पार्टी दाङको जिल्ला अध्यक्ष भएका छन् ।
पार्टी विभाजनसँगै नयाँ पार्टीमा जिम्मेवारी सम्हालेका बेलवासे अहिले जिल्लाभर संगठन विस्तारको अभियानमा खटिइरहेका छन् । यसबीचमा विभिन्न इकाई गठनदेखि जनवर्गीय संगठनको दौडधुपमा रहेका एकीकृत समाजवादी नेता शुरामणि वेलवासेसँग गोरक्षकर्मी खेमराज रिजालले नयाँ पार्टीका गतिविधि र भावि रणनीतिका सन्दर्भमा गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईंलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद, तपाईं अनि तपाईंको लोकपृय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परीवारलाई । मलाई समसामयिक पार्टी गतिविधिका विषयमा केही कुरा राख्न अवसर दिनुभएकोमा ।
नयाँ पार्टी गठनको अभियानमा हुनुहुन्छ, के गरीरहनुभएको छ अहिले?
एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन भइसकेको सन्दर्भमा हामीले जिल्लामा पनि पार्टीका विभिन्न इकाइहरू पुर्नगठनको प्रक्रियामा छौँ । नेकपा एमालेबाट किन फ्ट्नुपरेको हो भन्ने सन्दर्भमा औचित्य पुष्टिगर्न हामी आम जनतामाझ पुगीरहेका छौँ । यस क्रममा हामीले दाङ जिल्लाका विभिन्न करीव ७० वडामा वडा कमिटी गठन गरीसकेका छौँ । बांकि ३० वडामा पनि आउँदो १२ गते सम्म वडा कमिटी गठन गरीसक्ने छौँ ।
यस अघि नै हामीले जिल्ला समिति, क्षेत्रीय कमिटी, पालिका कमिटी तथा पार्टीका महत्वपूर्ण जनवर्गिय सँगठनहरू तथा शुभेच्छुक सँगठनहरू निर्माण गरीसकेका छौँ । मलाई लाग्छ सँगठन विस्तारको चरणमा हामीलाई अधिकांश कम्युनिस्ट नेता कार्यकर्ताहरूबाट हौसला र उर्जा प्राप्त भइरहेको छ । हामीले अनुमान गर्दा अहिले तात्कालिन एमालेमा रहेको कम्तिमा पनि ६० प्रतिसत हिस्सा नेकपा एकीकृत समाजवादीमा आएको छ ।
एमालेको साठी प्रतिशत हिस्सा समाजवादीमा छ भन्नुभयो, यसलाई पुष्टि गर्न सक्नुहुन्छ?
त्यो त आगामी आम निर्वाचनको परीणामले देखाउने हो । अहिलेको अवस्था भन्नुहुन्छ भने हामीसँग जिल्लाकै दुइजना संघिय सांसद हुनुहुन्छ । पाका र पुराना नेताहरू पुराना नेताहरू वामदेव शर्मा, तिलक केसी, नारायण आचार्य, अमर डांगी, भगवती चौधरी लगायतका थुप्रै नेताहरू हुनुहुन्छ । यहाँसम्म कि एमालेबाट जननिर्वाचत प्रतिनिधिहरू पनि हाम्रो पार्टीमा आउनुभएको छ ।
जनप्रतिनिधिहरूलाई प्राविधिक कारणले सार्वजनिक नगरीएको हो । पालिकाका उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत दर्जनौँ नेताहरूको नाम हामीले केही दिनमै सार्वजनिक पनि गर्ने छौँ । अर्को कुरा पनि तपाईंको पत्रिका मार्फत आम नेता कार्यकर्ता र सुभेच्छुकहरूलाई जानकारी गराउन चाहन्छु कि पुरानो जिल्ला कमिटीको आधाभन्दा बढी हिस्सा हामीसँगै छ । यसले पनि हामीलाई जिल्लामा सँगठन विस्तारमा धेरै हौसला र आत्मवल बढाएको छ ।
तपाईंहरूले नयाँ पार्टी गठन गरिरहेका बेला धेरै एमाले कार्यकर्ताहरूमा अझै पनि पार्टीको चुनाव चिह्न र नामको मोह जोडिएको देखिन्छ नि ?
मलाई लाग्छ, कुनै पनि पार्टीको नाम र झण्डा ठुलो होइन, पार्टीलाई गतिशील र जनपक्षीय बनाउने भनेको पार्टीको निश्चित विचार र सिद्धान्तले हो । हामीसँग विचार र सिद्धान्त छ, यहि आधारमा अझै पनि अन्योलमा रहेका हजारौँ पार्टीका शुभेच्छुकहरूलाई पैरवी गरीरहेका छौँ । हामी फुट्नुअघि पार्टीमा धेरै अन्तरसंघर्ष गरेको आम नेपाली जनतालाई सर्वविदितै छ । हामिले केपी ओलीलाई कारबाही गर्न सक्नुपथ्यो, अन्यथा विद्रोह ।
हामीले कारबाही गर्न नसकेपछि विद्रोहको बाटो रोज्यौँ । विद्रोहको प्रतिफल स्वरूप नयाँ पार्टीको जन्म भयो । मलाई लाग्छ, एकआध बर्ष जनतालाई बुझाउन समय लाग्ने छ । तर अन्ततः फेरी हामी केपि ओली इतरका कम्युनिस्ट शक्तिहरूबीच फेरि नयाँ ध्रुवीकरण हुने छ । जसले नेकपा एकीकृत समाजवादीलाई नेपालको सवैभन्दा बलियो पार्टी बनाउने छ भन्नेमा हामीलाई आत्मविश्वास छ ।
तपाईंहरूले वडा कमिटी गठन गरीनसक्दै एमाले केन्द्रीय महाधिवेशनको संघारमा पुगिसकेको छ, यसलाई कसरी विश्लेषण गरिरहनुभएको छ?
जुन पार्टीमा विचारको वहशनै हुँदैन । पार्टीभित्र फरक विचार राख्नेको कुनैपनि कुरा सुन्ने अवस्थानै रहँदैन । जुन पार्टीमा कुनैपनि पदिय जिम्मेवारीका लागि प्रत्यासीनै बन्न पाइदैन । जहां जवर्जस्त रूपमा निर्विरोध रूपमा अध्यक्ष स्वीकार गर्नुपर्छ, त्यो त डेमोक्रेसिनै होइन, हामी त्यस्तो अलोकतान्त्रिक पार्टी चाहेका होइनौँ ।
महाधिवेशन त एउटा नौटंकि मात्रै हो । हाम्रा अग्रज नेताहरूले भनिसक्नुभएको छ, एमालेको महाधिवेशन त ओलीको देवत्वकरण गर्ने एउटा कुम्भमेला मात्रै हो । संघात्मक लोकतन्त्रमा यस्तो महाधिवेशनलाई आम नेता कार्यकर्ताहरूले स्वीकार्न सक्ने छैनन् । अन्ततः अहिले एमालेमा रहेको अग्रज नेताहरू भिम रावल, युवराज ज्ञवाली, योगेश भट्टराइ, घनश्याम भुषाल लगायत दशभाइको टिमनै एकीकृत समाजवादीमा फर्कने छ भन्ने पनि हामीलाई विश्वास छ ।
त्यो महाधिवेशन पछि हजारौँ नेता कार्यकर्ताहरू पनि एमाले परीत्याग गरी एकीकृत समाजवादीमा समाहित हुने छन् ।
स्थानीय, प्रदेश र संघीय निर्वाचन नजिकिइरहेका छन्, यसमा तपाईंको पार्टीको सहभागिता कसरी देखाउनुहुन्छ ?
हामी अहिले सँगठन विस्तारसँगै आसन्न स्थानीय निर्वाचनलाई पनि लक्षित गरेर जिल्लाव्यापी कार्यक्रमहरू गरीरहेका छौँ । यो सँगठन विस्तारको अभियानसँगसँगै हामीले तीनै तहका निर्वाचनका लागि संभावित उम्मेद्वारहरूको पनि सुचि बनाउने र वहशमा लैजाने अभियानमा छौँ ।
निर्वाचन सम्म मलाई लाग्छ, यहि गठवन्धन कायमै रहने छ । जहां जसको पकड बलियो त, उसैलाई उम्मेदवार स्वीकार्नेगरी केपि ओली इतरका वाम शक्तिहरूको चुनावी गठवन्धन हुने छन् । केही स्थानमा सवै दलको उपस्थिति पनि हुने छ । अहिलेकै अवस्थामा पनि हामीले जिल्लाका सयवटै वडामा उम्मेदवारको मोटामोटी आकलन गरीसकेका छौँ ।
दाङकै कुरा गर्ने हो भने पनि एउटा निर्वाचन क्षेत्रमा अझै पनि हामी सवैभन्दा बलियो शक्तिका रूपमा स्थापित भइसकेका छौँ । त्यो क्षेत्रमा हामीलाई चुनाव जित्न कुनैपनि अन्य दलसँग चुनावी तालमेलको अवस्था रहँदैन ।
यस अघि भएका कम्युनिस्ट एकता टुटेर एकीकृत समाजवादी पार्टी बनाउनुभयो, अब फेरि कम्युनिस्ट एकताको सम्भावना देख्नुहुन्छ ?
त्यो कम्युनिस्ट एकता हामीले टुटाएका होइनौँ । नेकपालाई फुटाउने काम र कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने निरंकुश अभ्यास केपि ओलीबाटै भएको हो । यसलाई आम कम्युनिस्ट प्रेमी जनताले बुझिसकेका छन् ।
अझैपनि केही निहित स्वार्थ र पदिय लाभका कारण केही सच्चा कम्युनिस्ट पनि केप ीओलीको पार्टीमा हुनुहुन्छ, क्रमश उहांहरूले पनि केप ीओलीको निरंकुश चरीत्र स्पष्ट रूपमा बुझ्नुहुने छ । र फेरी कम्युनिस्ट एकता हुने छ । यसमा माओवादी केन्द्र लगायतका धेरै कम्युनिस्ट घटकहरूको ध्रुविकरण हुने छ भन्ने म तपाईंको पत्रिका मार्फत आम कम्युनिस्ट सिद्धान्तप्रेमीहरूलाई विश्वास दिलाउन चाहन्छु ।
राजनितिको विभिन्न कालखण्डमा केपिओलीजस्ता फुट परस्त र निरंकुश व्यक्तिहरू जन्मिरहन्छन्, तर उनीहरूको नेतृत्वको राज धेरैटिक्दैन भन्ने पनि नेपालको राजनितिक इतिहासले पुष्टि गरीसकेको छ । त्यसैले केप ीओलीको निरंकुश राज पनि अव धेरै समय टिक्ने छैन ।
कांग्रेस नेतृत्वको सरकारमा तपाईंको दल पनि सहभागी छ तर सरकार गठन भएको यतिधेरै समयसम्म पनि सरकार अझै जनअपेक्षा अनुरूप चल्नसकेको देखिएन नि ?
सरकार गठन भएको भर्खरै ५ महिना मात्रै भएको छ । केही आन्तरीक समस्या तथा व्यवस्थापकिय समस्याहरू हुन सक्छन् । यसैले होला अझैपनि सरकारले गति लिन नसकेको । तर अव सरकारले पूर्णता पाइसकेको छ । प्रमुख दल नेपाली कांग्रेस पनि महाधिवेशनको माहौलमा होमिएको सन्दर्भमा केही जनताका जल्दाबल्दा समस्याहरू ओझेलमा परेका छन् । तर अव महाधिवेशन सकिएलगत्तै सरकार जनउत्तरदायी भएर चलाईमान हुनेमा हामीलाई विश्वास छ ।
हाम्रो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका ५ जना मन्त्रीहरूलाई जनताप्रति उत्तरदायी भएर काम गर्न पार्टी केन्द्रीय कमिटीबाट वेलावेलामा निर्देशन पनि भइरहेको छ । जनताका काममा ढिलासुस्ती नगरी विकाश निर्माण प्रक्रियालाई पनि गतिशील बनाउन पटक पटक केन्द्रीय अध्यक्षबाट निर्देशन भइरहेको पनि स्मरण गराउन चाहन्छु । वली सरकारले भताभुंग बनाइसकेको अर्थतन्त्रलाई चलाईमान बनाउन केही समय लाग्नु स्वाभाविक पनि हो ।
तर जनउत्तरदायी भएर काम गर्न सरकारलाई हाम्रो पार्टीको तर्फबाट निरन्तर खवरदारी पनि भइरहेको छ । जिल्लाकै कुरा गर्नुहुन्छ भने पनि हामीले यहाँको चारलेन सडक लगायत विभिन्न खोलाहरूमा निर्माणाधिन पुलपुलेसा समयमै निर्माण सम्पन्न गर्नका लागि विषयगत सडक कार्यालय, चारलेन परियोजना र भौतिक पूर्र्वाधार कार्यालय लगायतलाई निरन्तर आग्रह गरीरहेका छौँ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी निरन्तर लोकतन्त्रका लागि संघर्ष गर्दै आएका छौँ । यो लोकतन्त्र स्थापनाको महान अभियानमा लाग्दै विभिन्न आरोह र अवरोह पारगर्दै यहाँ सम्म आइपुगेका छौँ । हामीले एमालेलाई फुटाउन चाहेका थिएनौँ । तर हामूा अध्यक्ष केपी ओलीले जुन निरंकुश चरीत्र देखाउनुभो, त्यसमा उहांलाई कारबाही गर्न सकेनौँ ।
विद्रोह स्वरूप नयाँ पार्टी गठन गरी अघिबढीरहेका छौँ । हामी जनताका अपेक्षाहरूलाई पुरागर्नका लागि कुनैपनि संझौता गर्ने छैनौँ । जनअपेक्षाको संबोधन हाम्रो सर्वोपरी सिद्धान्त हो । हामी व्यक्तिलाई हावी बनाउने होइन, विचारलाई हाबी बनाउने लडाइमा छौँ । यो महान अभियानमा साथ सहयोग र हौसला प्रदानगर्न आम जिल्लाबासीलाई आग्रह गर्दछु । विकाश साझा मुद्धा हो, समृद्धि हामी सवैको अभियान हो । यसमा हामीहरू सदैव जनताको साथमै छौँ भन्न चाहन्छु ।