आधारभूत विद्यालय गिठेपानीको अभिभावक भेला

गोरक्ष समाचारदाता
दाङ, ४ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित आधारभूत विद्यालय गिठेपानीको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । भेलाले अभिभावकहरूको तर्फबाट ४ जना सदस्य विद्यालय व्यवस्थापन समितिले चयन गरेको छ ।

जसमा मनप्रसाद बुढा, भुमा विष्ट, अमृता विक, सरिता विक रहेका छन् । अन्य २ जना पछि मनोनय गरिने भएको छ । मनोनयपछि अध्यक्ष चयन गरिने बताइएको छ । यसैगरेर भेलाले सूर्यबहादुर जिसीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । समितिको सदस्यहरूमा रामकुमारी परियार, लक्ष्मी पुन, विनिता विक, हिरा पुन र जुद्धबहादुर पुन रहेका छन् ।

भेलामा बोल्ने वक्ताहरूले विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरूले विद्यालयले शैक्षिक सुधारका लागि योजना निर्माण गरेर अगाडि बढ्न सक्नुपर्ने बताएका थिए । अभिभावकहरूको कम चासोको कारण पनि विद्यालय सुधार हुन नसकेको बताएका थिए ।

त्यस अवसरमा घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेल, गिठेपानी फुर्सेखालीमा रहेका ११ वटा टोल विकास संस्थाका अध्यक्ष मनप्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशरबहादुर रावत, कालीका सामुदायिक वन उपभोक्ता समितिका सचिव दिनेश वली, मिलीजुली टोल विकास संस्थाका अध्यक्ष मात्रिकाप्रसाद पाण्डेलगायतले भनाइ राखेका थिए ।

भेला घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा भएको थियो । विद्यालयका शिक्षक यसोदा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक हिमलाल पाण्डेले गरेका थिए ।