मनोनयनमा जमघट : ‘जस्ट फर सेलिब्रेटी …’

खेमराज रिजाल
श्रीगाउँ(दाङ), ४ मंसिर । कस्तो उत्साहित भीड ? एक जनाको प्रश्न पूरा हुन नपाउँदै अर्काको जवाफ आयो, ‘जस्ट फर सेलिब्रेटी …’ यसले पार्टीको अन्तरसंगठन विस्तार र आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन कुनै अर्थ राख्दैन ।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत प्रदेश अधिवेशनको मनोनयनका क्रममा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (ख) अन्तर्गतको श्रीगाउँ बुथमा देखिएको कांग्रेस कार्यकर्ता बीचको बहसको एउटा अंश थियो, यो । निर्वाचनका चरणहरू पार भइरहँदा प्रदेशसभा अधिवेशनमा पनि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ६ वटा प्रदेश निर्वाचन क्षेत्र बुथहरूमा यस्तै उत्साहजनक सहभागिताबीच प्रदेश क्षेत्र कार्यसमिति र प्रदेश प्रतिनिधिका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।

दर्जनौँ गाडीघोडा सहित जिल्ला स्तरका थुप्रै कार्यकर्ताहरूको उपस्थितिमा मनोनयन दर्ता गरिएको छ । बुथमा प्रदेश निर्वाचनमा उम्मेद्वारी दिन जानेभन्दा पनि आसन्न महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा जिल्ला कार्यसमितिको निर्वाचनका लागि स्वघोषित उम्मेद्वारहरूले मत माग्न जाने गत्तिलो अवसर पनि जुरेको थियो, प्रदेश अधिवेशन ।

‘यो भीड सहितको उत्साह आम निर्वाचनमा पनि देखिने भए सायद कांग्रेसले यस क्षेत्रमा कहिल्यै निर्वाचनमा पराजय भोग्नुपर्ने अवस्था आउन असम्भव जस्तै हुन्थ्यो तर त्यो भइरहेको छैन’—श्रीगाउँ बुथमा भेटिएका कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा शान्तिनगर गाउँपालिका—६ देवीपुरका लोकबहादुर वलीले भने । अर्को पार्टीसँग लड्दा यस्तै उत्साह र हौसला भने नदेखिने पनि उनको गुनासो थियो, त्यसैले त कांग्रेस कहिले जित्दै र कहिले गुमाउँदैको अवस्थामा छ ।

जसरी पार्टीमा जिम्मेवारी लिनका लागि शक्ति परिचालन भइरहेको छ त्यसरी नै आम निर्वाचनमा पनि कांग्रेसलाई जिताउन एकताबद्ध रूपमा लाग्ने संस्कार विकास भए कांग्रेसले निर्वाचनमा सहजै विजय हासिल गर्नसक्ने अर्का कांग्रेस शुभेच्छुक शान्तिनगर देवीपुरकै ज्ञानेन्द्रराज शर्माको अभिव्यक्ति थियो ।

तर यहाँ त केसम्म देखिन्छ भने पार्टीमा जिम्मेवार पद लिन मरिहत्ते गर्ने र नेतृत्व समेत लिएका व्यक्तिहरूबाटै आम निर्वाचनमा कताकता कांग्रेसको चुनाव चिह्न नै भुलेजस्तो नतिजा आउने गरेको पनि उनको विश्वास थियो । उनले भनिरहेका थिए, ‘यहाँ जजसलाई देखिरहनुभएको छ, यी सबैले आम निर्वाचनमा कांग्रेसलाई जिताउन यसरी उत्साह देखाउने छैनन्, यो अघिल्ला निर्वाचनका मत परिणामले देखाएको हो ।’ अहिले जुन कांग्रेस बनेर आएका छन् आम निर्वाचनमा यी सबै रूखमा मत हाल्न आउने नगरेको पनि उनको गुनासो थियो । अब कांग्रेसमा संगठन सुद्धिकरणको पनि त्यत्तिकै आवश्यकता छ ।

अधिवेशनकै प्रसंग चलिरहँदा बुथमै भेटिएका कांग्रेस दाङका सचिव टेकबहादुर वलीको पनि अभिव्यक्ति यस्तै–यस्तै थियो । ‘दिस इज जस्ट फर सेलीब्रेटी, यहाँ कोही देखाउन, कोही भजाउन त कोही बलिदानीकै लागि पनि देखिएको हो, सबैका फरक–फरक इच्छाहरूको जमघट हो यो’, कांग्रेस जिल्ला सचिव वलीको अभिव्यक्ति थियो । तर सेलिब्रेटीका लागि मात्रै एक्सपोज हुनुको साटो कांग्रेसलाई बलियो बनाएर आम निर्वाचनमा पहिलो पार्टी बनाउन लाग्नुपर्ने उनको सुझाव थियो ।

खर्च गाह्रो भो

निर्वाचन क्षेत्र ३(क)को दोघरे बुथमा पनि यस्तै उत्साहजनक सहभागिता थियो भने सम्पर्क कार्यालय र मिट प्वाइन्ट (विशेष कामका लागि भेट्ने स्थल)मा पनि यस्तै भीडभाड । कसैलाई प्रचारप्रसारको व्यवस्थापनको चटारो थियो त कसैलाई मतदातालाई सुरक्षित राख्न होटलदेखि यातायात व्यवस्थापनसम्मको चटारो ।

‘कांग्रेसको परिमार्जित विधान नै ठिक लागेन, किनकि यो विधानअनुसार महाधिवेशनमा गइरहँदा उम्मेद्वारहरूलाई खर्चको पनि निकै बोझ बढेको छ’—कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा दंगीशरण गाउँपालिका मिरौलीका स्थानीय शंकरप्रसाद शर्माले भने । जिल्ला, प्रदेश, पालिका र वडा अधिवेशन एकै पटक भइदिएको भए निर्वाचन यति धेरै खर्चिलो नहुने पनि उनको अनुमान थियो । आज प्रदेश अधिवेशनमा मतदान गर्न आउनेहरूलाई कम्तिमा पनि एक सातासम्म गास, बासको समेत व्यवस्थापन गर्नुपर्ने उम्मेद्वारहरूलाई बाध्यता छ ।

यसले केही मतदाताहरूलाई कम्तिमा पनि एक सातासम्म होटलमै बसाउनुपर्ने पनि बाध्यता देखिएको शर्माको अभिव्यक्ति थियो । ‘आज गंगटेबाट आउने मतदाताले एक–दुई दिनको फरकमा १२ गतेसम्म मतदान गर्नुपर्ने छ, यो अवस्थामा उनीहरूलाई सुरक्षित स्थानमा गास, बासको व्यवस्थापन गर्न उम्मेद्वारलाई थप आर्थिक भार पर्नेछ’, शर्माले भने ‘यसलाई हटाउन सबैभन्दा पहिले पार्टीको विधान संशोधन गर्न आवश्यक छ । निर्वाचनमा सबै सहभागी हुन र खर्च कम गर्नका लागि पनि विधान संशोधन अपरिहार्य रहेको उनको अभिव्यक्ति थियो ।

प्रदेश अधिवेशनमा मनोनयन स्थलमा मनोनयन दर्ता गर्नेको संख्याभन्दा भारी संख्यामा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय पदाधिकारी तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरूको प्रत्यासी बनेकाहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिको पदमा स्वघोषणा गरेर थुपै्र प्रत्यासीहरू चुनावी मैदानमा बुथबुथसम्म पुगेका छन् । महाधिवेशनको मिति पटक–पटक सारिँदा खर्चको भार समेत थपिँदै गएको निर्वाचन क्षेत्र नम्बर २ (ख) नारायणपुर बुथमा भेटिएका एक उम्मेद्वारले भने । महाधिवेशन प्रतिनिधिका आकांक्षी उनी यसरी प्रचारप्रसारमा हिडेको कम्तिमा पनि ४ महिना पुगेको उनकै अभिव्यक्ति थियो ।