गोरक्ष समाचारदाता
दाङ, ४ मंसिर । गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, घोराहीको दशौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाका प्रमुख अतिथि नेपालीले सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै आयमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारी संस्थाहरूलाई आग्रह गरे । बचत गर्ने र ऋण लगानीले मात्रै सहकारीको अर्थपूर्ण लक्ष्य पूरा नहुने भन्दै उत्पादन र आयमुखी क्षेत्रमा लगानी विस्तार गर्नसकेको खण्डमा बेरोजगारी अन्त्य गर्दै स्वरोजगार बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोविन्द न्यौपानेले जिल्लामा क्रियाशील सहकारीहरूको वित्तीय अवस्था र सुधारात्मक पक्षहरूमा सकारात्मक सूचक देखापर्दै गएको बताए । बचत गर्ने र ऋण लगानी गर्ने परिपाटीलाई बदल्दै अधिकांश सहकारीहरू अब नव प्रवर्तनात्मक अभियानमा अग्रसर बन्दै गएको उनको उनले बताए ।
जिल्ला बचत तथा सहकारी संस्थाका सचिव बिमल अधिकारीले सहकारीको सिद्धान्त तथा तीन खम्बे अर्थ नीतिलाई आत्मसात गर्दै ऋण लगानी गर्ने मात्रै नभइ आर्थिक उपार्जन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम ल्याउँदै सहभागिता बढाउनुपर्ने बताए । राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकीले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यहरूको आर्थिक रूपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष भगवती शर्मा, पत्रकार गोविन्द खड्कालगायतकाले भनाइ राखेका थिए ।
त्यस अवसरमा सहकारीले संस्थाले दैनिक बचतकर्ताका रूपमा अजय नेपाली, बाल बचततर्फ प्रकृति नेपाली, असल ऋणीका रूपमा जुद्धबहादुर घर्तीलाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ट बचतकर्ता कमलप्रसाद कुमाकी र सफल कृषि उद्यमीका रूपमा अनिता घर्तीलाई सम्मान गरिएको थियो । चौथो अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ । कार्यक्रमको सहजीकरण कमलप्रसाद कुमाकी र जितबहादुर घर्तीले संयुक्त रूपमा गरेका थिए ।