Goraksha

National Daily

न्यायिक समितिमा ५७ उजुरी

गोरक्ष समाचारदाता
दाङ, ४ मंसिर । घोराही उपमहानगरपालिका न्यायिक समितिमा चालु आवको पहिलो चौमासिकमा ५७ वटा नयाँ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा यो सङ्ख्यामा मुद्दा दर्ता भएको न्यायिक समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

धेरै मुद्दा दर्ता हुनुले न्यायिक समिति प्रतिको भरोसा बढ्दै गएको न्यायिक समितिको दाबी छ । दर्ता भएका ५७ वटा विवादमध्ये ११ वटा फस्र्यौट भएको छ भने ४६ वटा प्रकृयामा छन् । जग्गा रोक्का, खाता रोक्कासम्बन्धी मुद्दाहरू धेरै आउने गरेका छन् । न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेले २३ वटा जग्गा तथा खाता रोक्कासम्बन्धी मुद्दा आएको जानकारी दिइन् । तीमध्ये पाँचवटा विवादको टुङ्गो लागेको छ भने १८ वटा बाँकी रहेको उनले बताइन् ।

पारिवारिक बेमेल, घरेलु हिंसा, श्रीमान श्रीमतीको एक आपसमा विवादका कारण जग्गा रोक्काका मुद्दा बढी देखिएको संयोजक सिग्देल बताउँछिन् । जग्गा रोक्का पछि जग्गा विवादको विवाद धेरै देखिएको छ । पहिलो चौमासिकमा ११ वटा जग्गा विवादा मुद्दा आएका छन्, ती मध्ये दुईवटा फस्र्याैट भएका छन् भने ९ वटा बाँकी रहेका छन् । यस्तै लेनदेनका ६ वटा, घरेलु हिंसाका ६ वटा जसमा दुईवटा फस्र्योट भएका छन् भने चारवटा प्रकृयामा रहेका छन् ।

अन्य ११ वटा मुद्दा दर्ता भएका छन् ती मध्ये दुईवटाको फस्र्यौट भएका छन् भने ८ वटा बाँकी रहेको न्यायिक समिति संयोजक न्यौपानेले बताइन् । पत्रकार सम्मेलनमा नगर प्रमुख नरुलाल चौधरीले बालमैत्री, लैङ्गिक हिंसा न्यूनीकरण अभियान सञ्चालन गरेपछि हिंसाका मुद्दा घट्दै गएको बताए । फलस्वरूप हिंसाका मुद्दा कम हुँदै गएको उनको भनाइ रहेको छ । पत्रकार सम्मेलनको सहजीकरण प्रतला देवकोटाले गरेकी थिइन् ।