श्रीकृष्ण तथा बलराम भूमिको भार उतारी वैकुण्ठ प्रस्थान
राधेश्याम उपाध्याय
मथुरामा श्री कृष्णले महाभारत तथा अन्य युद्धमा धेरै दुष्टराजाहरु मारी पृथ्वीको केही भार हलुका भयो । पाण्डुका पुत्रहरुको सारा मनोरथ पूर्ण भयो । अब मेरो भूको भार हर्ने काम पनि पूर्ण भयो । अब म वैकुण्ठ जानुपर्दछ भनी श्रीकृष्णले विचार गर्नुभयो । तर मेरा आफ्नै वन्धुवान्धव वृष्णि वंशका यादवहरु त अजय छन् । यिनलाई कसरी तह लगाउने भनी विचार गर्न लाग्नुभयो । उता गान्धारीको श्राप पनि पूर्ण गराउनु पर्ने थियो । जसरी मेरा छोराहरु आपसमा युद्ध गरी वंश विनास भयो हे कृष्ण त्यसरी नै तिम्रो यादव वंश पनि आपसमा युद्ध गरी विनास हवोस् भन्ने गान्धारीको श्राप थियो ।
श्रीकृष्णलाई त्यो पनि पूर्ण गराउनुपर्ने थियो । त्यसै समयमा एक दिन यादवहरु शिकार खेल्न वनमा गए । हुनु हुनामी जुन वनमा बिश्वामित्र बशिष्ठ नारद कण्व दुर्वाशा ज्ञानि मुनिहरु बसेर तप गर्दथे यादवहरु पनि त्यहीं पुगे । दैवको उल्टो लिला भूको भार हर्नुपर्ने यादवहरुको मनमा उल्टो वुद्ध पलायो र मुनिहरुको परीक्षा लिने विचार गरे । सबै यादवहरु मिति शाम्बको पेटमा कपडाहरु बेह््री स्त्रीको स्वरुप बनाई गर्भिणी जस्तो भै दुर्वाशा ऋषिका अगाडि गएर हाँस्दै ठट्टा गर्दै अपहेलना गर्ने उद्देश्यले यो स्त्री गर्भिणी छ यसको गर्भमा के छ भनी ऋषिलाई जिस्काउन थाले ।
त्यसै पनि दुर्वाशा ऋषि क्रोधि ऋषि थिए । उनले आफ्ना योगवलले दुष्ट भावले मिथ्या कुरा आफूलाई छल गर्न सोधेको थाहा पाए । र रिसाउँदै यसले मुसल जन्माउनेछ । यसरी सज्जनको मिथ्या गरेर सोधेपछि पुरुषबाट मुशल नै जन्मनेछ र सो मुशलबाट सबै यादव वंशको संहार हुने छ भनी श्राप दिए । यसरी ऋषिले क्रोध गरी श्राप दिएको देखि डराउँदै केही पर गएर वस्त्र फुकालेर हेर्दा एक फलामको मुशल देखियो । ऋषिले भनेझै मुसल देखिएकाले यादवहरु झनै डराउँदै राजा उग्रसेनका सभामा आए र सबै वृतान्त भनी मुशल राखिलिए । अब कसरी हाम्रो हित हुन्छ भनी अनुनय विनय गर्न लागे ।
राजा उग्रसेनले पनि अब के गर्ने होला भनी सबैसँग सल्लाह गरे । सवैका अनुसार फलामको मुशललाई घोटेर धुलो बनाउने र चाँडै ठूलो नदिमा बगाई दिने सल्लाह दिए । सल्लाहबमोजिम मुशल घोटेर धुलो बनाई घोट्न नबोको सानो टुक्रा समेतलाई गंगा नदीमा लगी फालिदिए । हरिको ईच्छा गर्दा त्यो फलामको टुक्रा माछो खायो । माछालाई माझीले जालमा बल्झाई खुसीले घरमा ल्यायो । माझीको छिमेकमा एक जरा नामको ब्याधा बसेको थियो । उसले केही द्रव्य लिएर त्यो माछा ब्याधालाई बेचिदियो । जरा नामको ब्याधाले माछा पकाउनका लागि काट््यो र त्यही बाँकी रहेको मुशलको टुक्रा फेला पा¥यो । त्यो मुशलको टुक्रा जरा नामको ब्याधाले आफ्नो वाणको टुप्पामा जोड््यो । उता यादवहरुले फालेको मुशलको धुला बाट गंगा नदिका तिरमा एक प्रकारको खड्ग समान धारीलो झार उत्पन्न भयो ।
अब द्वारिकामा उत्पात हुन थाल्यो । त्यो देखेर श्रीकृष्णको चित्तमा व्याकुल हुन थाल्यो र सबै पुत्र वन्धु वान्धवलाई बोलाएर याहाँ उल्कापात हुन थाल्यो यो सृष्टि नासिने सङ्केत हो । त्यसैले यहाँ नबसौं । सबै जना प्रभास तीर्थमा गएर शान्तिका लागि सके जति दान धर्म जप यज्ञ गरौंला भन्नुभयो । श्रीकृष्णको यस्तो सल्लाह सुनेर सबै जना पुजा दान धर्म यज्ञको सामग्री जम्मा गरी बलक बुढा र स्त्रीहरुलाई घरमै छाडी मदिरा लिई समुद्रका तिर प्रभासतर्फ लागे । सबै आ–आफ्ना रथ घाडाहरुमा बडो उत्साहमा साथ प्रभास तीर्थमा पुगे । सबै जना स्नान गरी गुणी ब्राह्मणलाई बोलाई सुवर्ण तथा गौ दान गरे ।
समुद्रका तटमा पाल टाँगी बसे कतिले छाप्रो बनाए । यो कुरा उद्धवले देखे । उद्धव ज्ञानी बुद्धिमान र श्रीकृष्ण भक्त थिए । उनले अब चाँडै यदु वंशको विनाश हुनेछ भन्ने जानेर यदुवीरहरुसँग विदा मागी श्रीकृष्णलाई पाऊमा ढोगी कठोर तप गर्नका लागि बद्रीतर्फ लागे । अब सन्ध्याकाल भयो । सबै ठूलो चौरमा जम्मा भए । सबैले ल्याएको मदिरा निकाले र मस्तीका साथ पिउन थाले । सबैलाई मदिरा मस्तीसँग लाग्यो । आफ्ना विराना चिन्ह छाडे । आपसमा विवाद उठ्यो । कृतबर्मालाई सात्यकीले खड्ग प्रहार गरी मारिदिए ।
कृतबर्मा वृष्णीकुलमा थिए भने सात्यकी यादव कुलका थिए । अब वृष्णीकुलका योद्धाहरु रिसाएर आई सात्यकीलाई मारे र उनका पक्षमा लड्न आएका प्रद्युम्नको पनि सद्गति गरी दिए । अन्धकार हुन थाल्यो एक आपसमा चिन्ह छाडे । दुई परिवारमा आपसी वैमनश्यता भई ठूलो युद्ध भयो । श्रीकृष्णले समुद्र किनारमा जागेको तरवार सरीको त्यही झार उखेलेर आफ्ना अगाडि जो आयो त्यसलाई संहार गरे । सबै जना त्यही झार प्रयोग गरी मदिराको जोसमा आपसमा लड्न लागे । यो देखेर बलरामले आपसमा नलड भनी सम्झाउन खोजे । कालले प्रेरित भएकाले कसैले पनि बलरामका हितका कुरा मानेनन् ।
बलराम मेरा कुरा अनादर गरे भनी दुःख मानी श्रीकृष्णलाई प्रणम गरी समुद्रमा गई जलसमाधि लिई यो देह त्याग गरी शेषनागका रुपमा विष्णु धाममा गए । सबैको आपसमा त्यही धारीललो झार प्रयोग गरी युद्ध भयो र सबै मरे । केही शेष बचेकालाई पनि श्रीकृष्णले संहार गर्नुभयो । यसरी आफ्नो वंश सबैलाई विनाश गरी भूमिको सारा भार हरी डुल्दै एउटा पिपलका वृक्षमुनि विश्रामका लागि चतुर्भुज रुपमा पल्टिनु भयो । त्यही समयमा जरा नामको व्याधा आई श्री कृष्णको हल्लीरहेको खुट्टा लाई आफ्नो सिकार मृगको कान हल्लिएको जस्तो देखेर त्यही मुशको टुक्रा जडित वाण प्रहार ग¥यो । वाण श्रीकृष्णको खुट्टामा लाग्यो ।
जरा नामको व्याधा आफ्नो शिकार हेर्न आयो र श्रीकृष्णाई मुस्कुराही रहेको प्रशन्न मुद्रामा देख्यो । हे माधव मैले जानिन भ्रमवस हजुरको हल्लिरहेको खुट्टाको औंलालाई मृगको कान ठानी वाण प्रहार गरें । मलाई माफ गर भनी श्रीकृष्णको दुवै पाऊ समाति बिन्ती गर्न लाग्यों । श्रीकृष्ण हाँस्दै दयालु बनी भन्नुभयो । हे व्याधा तिमीले मनमा शंका दुःख र पीडा नमान ।तिमी त्रेतायुगमा वीर बाली थियौं । मितिले मर्ने बेला मेरो दर्शन गरी मेरा शरणमा परी मसँग वरदान प्राप्त गरेका थियौं । त्यही वरदान पुरा गर्न आज तिमीले मलाई त्यो ऋषि दुर्वाशाको श्रापयुक्त वाण चलाएका हौं । यसमा तिम्रो दोष छैन । तिमीले यो देह त्यागेपछि परंपदमा जाने म तिमीलाई वरदान दिन्छु भनी वरदान दिई जरा ज्याधालाई बिदा दिनुभयो । श्रीकृष्णको वरदान पाएर जरा नामको व्याधा खुसी हुँदै गयो ।
त्यही समयमा श्रीकृष्णका सारथि दारुक आई गोविन्दलाई प्रणाम गरी दर्शन गरे । दारुकलाई देखेर श्रीकृष्णले यादव वंशको विनास भएको सवै समाचार हस्तिनापुरमा गएर भन्नु र अर्को एक हप्तापछि द्वारिका समुद्रमा डुव्नेछ । तुरुन्त अर्जुन आई द्वारिकामा रहेका नारी बालक अशक्त र वृद्धहरुलाई हस्तीनापुरमा लगि रक्षा गरुन् । यो संसार दैवाधिन छ, जन्मेपछि मर्नु पर्दछ । त्यसैले यो शरीर त्यागेर म वैकुण्ठ जान्छु । तिमीले मलाई मृत्युपछि स्वर्गमा पाउने छौ ।
दारुकले यस्तो वरदान र आशिष पाएपछि आनन्द मान्दै श्रीकृष्णका दुवै चरणमा ढोगे र त्यहाँबाट दारुक पहिला द्वारावती गए । द्वारावतीमा राजा उग्रशेनलाई सवै सभाचार सुनाए । त्यो समाचार सुनेर राजा रानी बुढा बालक महिलाहरु दुखित हुँदै विलाप गर्न लागे । त्यहाँबाट दारुक घोडामा चढी तत्काल हस्तिनापुर गए । श्रीकृष्णले जब दारुकलाई द्वारावति पठाउनु भयो । तब सबै देवताहरु आ आफ्ना विमानमा चढी लावा पुष्प छरेर वाजा बजाउँदै श्रीकृष्णको स्तुति गर्दै दर्शन गर्न आए । सबैलाई आशीर्वचन दिँदै आफ्नो सूक्ष्म स्वरुप बनाई अरु कसैले जन्नै नसक्ने गरी यो देह त्यागी श्रीकृष्ण तिजधाम जानुभयो ।
अर्को दिन दारुक हस्तिनापुर पुगे र जसरी अन्धक वृष्णिवंश आपसमा युद्ध गरी मरे भनी जुन कुरा श्रीकृष्णले हुकुम भएको थियो सो कुरा पाण्डवहरुलाई जानकारी गराए । यो सुनेर पाण्डवहरु यस्तो पनि हुन सक्छ र भनी विस्मात मान्दै अत्यन्त दुःखति भए । अर्जुन अचम्म मान्दै अहीले द्वारावति कस्तो छ हेर्छु भन्दै रथ चढेर हिडे । द्वारावति पुगेर हेर्दा स्मसान झै द्वारावति सुनसान थियो । छोराको चिन्ताले गर्दा वासुदेव देवकी अर्धमुच्छित थिए । अर्जुनलाई देखेर राजारानी तथा राजदरवारमा भएका अन्य व्यक्तिहरु सवै विह्वल भएर विलाप गर्न लागे ।
त्यो देखेर अर्जुन पनि चिन्ता ग्रस्त भए । वसुदेव देवकीलाई चरणमा पस्रेर ढोगे ।वसुदेवले वडो प्रेमले अर्जुनलाई काखामा राखे र श्रीकृष्णका सद्गुण सम्झेर विलाप गर्न लागे । हामीलाई यो दुःखमा छोडेर गोविन्द वैकुण्डमा गए । अब यहाँ छैनन् । हे अर्जुन सवै वन्धुवान्धब तथा सबै त्रिलोक जसका वसमा थियो उने कसरी त्यो आपसको युद्ध हेरे मात्र नड भनेर युद्ध रोक्न सकेनन् । त्यसैले श्रीकृष्णको इच्छाले नै स्वजनहरुको संहार भयो । म पनि यो सबै दैवगति देखेर अचम्मित छु ।
कहिले काँही चर्चामा श्रीकृष्ण जो पार्थ हुन त्यही म हुँ जो महुँ त्यही पार्थ हुनन् भन्ने गर्दथे । त्यसैेले अब मैले तिमीलाई नै श्रीकृष्ण ठानी यो द्वारावति दिन्छु अब तिमी नै यहाँ राज्य गर म भोजन त्याग गरेर प्राण त्याग गर्दछु । मेरो अब कुनै राज्य सञ्चालन गर्ने इच्छा छैन । वसुदेवको यस्तो कुरा सुनेर अर्जुनले सम्झाउँदै भन्नागे आज कृष्ण विनाको यो सन्सार देख्दा मेरो मन आत्तिन्छ । म पहिला यी सबै द्वारिकाका बाँकी मानिसलाई हस्तिनापुर लगि सुरक्षित राख्दछु र म पनि उनै श्रीकृष्णसँग जान्छु ।
महाराज सात दिनभित्र द्वारिका समुद्रमा डुब्ने भएकाले सबै बाँकी जनतालाई हस्तिनापुर जानका लागि आफ्ना सवै सामान बाँधि तयार हुन उर्दी जारी गर्नुहोस् भनी बासुदेवलाई अह््राई आफू श्रीकृष्णका रानीहरुलाई सान्त्वना दिन थाले । त्यो दिन प्रातःकाल सबेरै उठेर सबै दाह क्रिया गर्ने सामग्रीहरु आफै बाँधी सबैलाई लिई अर्जुन सोह््र हजार आठ विधवा रानीहरु समेत सबैलाई लिई प्रभास तीर्थमा जहाँ यदुवंशको विनास भएको थियो त्यहाँ गए । जब त्यो स्थान बसुदेव देवकीले देखे उनीहरु व्याकुल भई चिन्ता गर्न लागे । मुख्य आठ पटरानी र त्यहाँ जाने धेरैेले प्रभुलाई सम्झेर समुद्रमा हाम फाली प्राण त्यागे ।
त्यो सब देखेर अर्जुन पनि मुच्र्छा परे । पछी केही होस आयो र सबैको क्रमैसँग दाहसंस्कार गरे । श्रीकृष्ण र बलरामको पनि मृत शरीर खोजी साह््रै मन दुखाई आफ्नै दाहकिरिया गरे । त्यसपछि भोलि द्वारिका समुद्रमा डुव्ने भएकाले आजै द्वारावति छोड्नुपछै भनी बचेका सबै रानी बालक बृद्धहरुलाई रथ पाल्कीमा राखी चारैतर्फ रक्षा गर्न सैनिकहरु तैनाथ गरी अर्जुन द्वारावति बाहिर निस्किए । सबै यादव फौजहरुलाई अगाडि पछाडि लगाउँदै अर्जुन अगाडि बढ्दै गए । अर्जुनहरुले द्वारावति छोड्ने वित्तिकै द्वारावति पनि समुद्रमा विलय भयो । धेरै गाउँ–शरह पहाड नदी पार गर्दै अर्जुनहरु पञ्चनद पुगे सन्ध्याकाल भयो ।
त्यही पाल टाँगी डेरा बनाई वास बसे । त्यो ठाउँ यात्रुहरुलाई लुट्ने लुटेराहरुको ठाउँ रहेछ । थाहा नपाएर नै त्यस्तो ठाउँमा बास बस्न पुगे । रात्रिमा दुष्ट लुटेराहरु अस्त्र शस्त्र लिएर लुट्न आए । डाँकुहरुले पछाडीबाट अर्जुनका सेनालाई चुट्न मार्न लागे । यादवहरुमा हाहाकार भयो । अर्जुनले एक्लै रक्षा गर्न सकेनन् । अर्जुनका अगाडि नै धन–दौलत रत्न राम्रा राम्रा स्त्रीहरु पनि हरण गरेर लगे । अर्जुनले ती डाँकुहरुलाई मार्नका लागि धनुमा ताँदो चढाउन खोजे तर धनुमा ताँदो नै चढेन । अर्जुन बहुत दुःखी भए ।
सेनाहरु पनि सके जति डाँकुहरुसँग प्रतिवाद गर्न खोजे तर सकेनन् र पछाडिबाट भागे । महाभारत युद्धका समएका समस्त शस्त्रहरु अर्जुनले बिर्सिए । यो सबै दैवगति देखेर अर्जुन चिन्तित भए । फेरि सबै डाँकुहरु मिलेर युद्ध गर्न आए र श्रीकृष्णका रानीहरु समेत वलजफत् तानेर लगे । यो देखेर रिसाउँदै अर्जुनले फेरि बलपूर्वक युद्धका लागि ताँदो चढाए तर ठोक्रा भरीका शरहरु एकै छिनमा सकिए । अन्तमा धनुका टुप्पाले समेत घोचेर शत्रुको सातो हरे तर पनि युद्ध जित्न नसकेर दुखित भए ।
यसरी रानी अन्य स्त्रीहरु र धन सम्पत्ति रत्नहरु डाँकुले लुटी सकेपछि बचेका स्त्री, बुढा, बालक र सैन्यहरुलाई एकत्रित गरी लज्जित हुँदै इन्द्रप्रस्थमा लगेर श्रीबज्रलाई राज्याभिषेक दिए । हरिका बचेका रानीहरु, यादवहरुलाई दरवारमा ग्राम र नगरमा उचित स्थानमा राखे भने सैनिकहरुलाई राज्यको सुरक्षाका लागि तैनाथ गरे ।