साँघुरो सडकले निम्त्याएको सास्ती

बालाराम खड्का
तुलसीपुर, २ मंसिर । साँघुरो सडक त्यसैमा पैदल यात्रुदेखि साना–ठूला सवारी साधन, सडक वरिपरी निर्माण सामग्री त्यसमा पनि फुटफाटको सडक ढाक्नेगरी पसलका सामग्री । त्योसँगै बीच कालोपत्रे सडक उत्रिएको छ । तुलसीपुरमा कालोपत्रे सडक मर्मतको काम केही लाइनमा सञ्चालन भएको छ । यसले गर्दा तुलसीपुर बजारमा ट्राफिक जाम हुने गरेको छ ।

स्मार्ट सिटीका साँघुरा सडकले दैनिक ट्राफिक व्यवस्थापनमा चुनौती थपेका छन् । बजार कुरुप देखिनुका साथै सबैलाई सास्ती हुने गरेको छ । ५ मिटरको सडकमा निर्माण सामग्री त्यही छ, फुटपाथको पसल त्यहीँ, पैदल यात्रुहरु त्यसैमा हिँड्नुपर्ने बाध्यता छ । त्यसैमा हेवी सवारीका साधन र वरपर सडकमा साना–ठूला सवारीका साधनहरु अस्तव्यस्त पार्किङले दुर्घटनाको जोखिम बढाउँदै गएको छ ।

ट्राफिकलाई यस विषयमा दैनिक टाउको दुखाई भएको छ । विभिन्न स्थानमा निश्चित पार्किङको लागि होर्डिङ बोर्ड राखिएको छ तर पार्किङको दीर्घकालीन व्यवस्थापनको सवालमा न त स्थानीय सरकार गम्भीर छ नत सरोकारवालाहरु नै । यो विषयमा बेला–बेलामा कुरा उठ्ने गरे पनि त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन ।
दैनिक जसो ट्राफिक प्रहरीहरु सडकमै ट्राफिक व्यवस्थापनमा तल्लिन हुन्छन् । उनीहरुले एउटा रोडमा पार्किङ व्यवस्थापनको काम गरिहँदा अर्को रोडमा गाडीको फेरि त्यस्तै अवस्था देखिने समस्या हुने गरेको छ । सीमित जनशक्तिमा पनि साँघुरो सडकमा पनि ट्राफिक व्यवस्थापन र सडक पेटी खाली गर्ने अभियानलाई भने ट्राफिक प्रहरी र नगरका व्यक्तिहरु भने बेला–बेलामा लाग्ने गरेका छन् ।

साँघुरो सडक त्यसमा पनि जहाँ पायो त्यही सडकमा निर्माण सामग्री तथा सामानहरु राख्दा त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसकेको अधिकारीहरु बताउँछन् । कसैले अटेरी त कसैले जान–अन्जान तथा स्थान अभावले समस्या व्यहोर्नुपर्ने अवस्था आएको सवारी चालकहरु बताउँछन् । ‘सडकछेउभरि मोटरसाइकल छन्, कहाँ पर्किङ गर्ने हामीलाई पनि समस्या छ’, मोटरसाइकल चालक इन्द्र बुढाले भने । । त्यस्तै कारचालक सविन केसीले पनि ट्राफिक नियम मान्नुपर्ने भए पनि पर्याप्त स्थान अभावका कारण आफूहरुलाई पर्किङको समस्या हुने गरेको बताए ।

‘पार्र्किक गर्ने स्थान अभाव छ सडक छेउमा पार्किक गरेपछि हेल्मेट ट्राफिकले लगर्ने गरेका छन्’, स्थानीय बालकृष्ण खड्काले भने । त्यस्तै व्यवसायीहरुले आफ्नो सामान प्रदर्शन गर्ने होडबाजीले पनि अहिले तुलसीपुरको बजार अस्तव्यस्त देखिने गरेको छ । त्यस्तै ट्राफिक प्रहरी प्रमुख कृष्ण पुजाराले आफूहरु दैनिक ट्राफिक व्यवस्थापनमा लागे पनि धेरै समस्या हुने गरेको बताए । सडकका डेलागाडी फुटपाथदेखि बाटो छेक्ने गरी राखिएका निर्माण सामग्रीले पनि ट्राफिक व्यवस्थापनमा चुनौती भएको अधिकारीहरु बताए । ‘हामीले जतिसक्यो व्यवस्थापनमा लागेका छौं तर सधै यसरी दैनिक हिँडेर कहाँ सम्भव हुन्छ’, उनले भने । उनले कारबाही गरेर मात्र ट्राफिक व्यवस्थापन नहुने भन्दै सचेतना र त्यसको स्थायी व्यवस्थापन आवश्यक रहेको बताए ।

त्यसको दीर्घकालीन व्यवस्थान नहुँदासम्म तुलसीपुरको बजार व्यवस्थित नहुने देखिएको छ । ‘बेला बेलामा बैठकमा यो विषयमा कुरा उठ्ने गर्छ तर कार्यान्वयन हँुदैन’, उनले भने । अहिले सीमित सवारी साधनहरुका लागि बनाएका सडकहरुमा सवारी साधनको चाप बढेकाले पनि बजार सडक अस्तव्यस्त हुने गरेको छ । ‘बाटोको अवस्था पुरानै हो, सवारी साधन दिनप्रतिदिन बढेको छ कहाँबाट ट्राफिक व्यवस्थापन राम्रो हुन्छ ?’ तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज वुढाथोकीले भने– ‘त्यसका लागि सबै पक्षले चासो देखाउनुपर्ने समय आएको छ ।’

पुरानो संरचनाका कारण त्यतिबेलाका सडकहरु अहिले साँघुरो हँुदै गएका छन् । बाइपास रोडहरु नहुँदा ठूला सवारीका साधनहरुदेखि सबै सवारीका साधनहरु मुख्य बजारबाटै आवत–जावत हुने अवस्था छ । सडक मर्मत गर्दा गदै अन्य विकल्पको बाटो नहुँदा सडक नै भत्कने गरेका छन् । त्यसमा पनि बजारमा घरहरु निर्माण गर्दा निर्माण सामग्रीहरु पनि बाटोमै राख्ने प्रचलनले बजार व्यवस्थापनमा समस्या हुने गरेको स्थानीयहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले पटक–पटक घरहरु निर्माण गर्दा सडकमा निर्माण सामग्री नराख्न सूचना जारी गरे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । ‘सडकै ढाक्नेगरी निर्माण सामग्री हुन्छ त्यही बाटोमा गाडी, पैदलयात्रु अनि कसरी हुन्छ बजार व्यवस्थापन ?’, पैदलयात्रु मिना वलीले भनिन्– ‘यसले गर्दा बजारमा बृद्ध, बालबालिका र स्कुले विद्यार्थीहरुलाई झनै समस्या हुने गरेको छ ।’ तुलसीपुर उपमहानगरपालिकाले यसअघि फुटपाथका व्यापारहरु हटाउनुका साथै ठेला रिक्सालाई पनि बन्देज लगाएको थियो । तर पछिल्लो समयमा त्यो केही हदसम्म रोकिएको छ ।

फाइल तस्वीर