नागरिक शिक्षा र सचेतना

भूवन पोख्रेल

नागरिक राज्यको प्रमुख आधार हो । नागरिकको सहकार्यद्वारा नै राज्य तथा राज्यका अंगहरु निर्माण हुन्छन् । देशका नागरिकलाई नागरिक भावना तथा सीप क्षमता विकास गर्न नागरिक शिक्षा आवश्यक छ । राज्यमा बसोवास गर्ने मानिसलाई नागरिक भनिन्छ । अर्थात्, कुनै राज्यको भौगोलिक सीमाभित्र बसोबास गर्ने मानिसहरुलाई नागरिक भनिन्छ । यस दृष्टिकोणले नागरिकको अर्थ उल्लेख गर्नु ठिक होइन । किनकि राज्यको सीमाभित्र बसोबास गर्ने सबै मानिस नागरिक हुन सक्दैनन् ।

नागरिक बन्नका लागि मानिसले राज्यप्रतिको भूमिका र दायित्व पूरा गर्नु पर्दछ । अर्थात् राज्यद्वारा प्राप्त अधिकारको उपयोग र नागरिकको हैसियतले गर्नुपर्ने कर्तव्य पूरा गरेको हुनुपर्छ । नागरिकको पहिचान नागरिकता हो । नागरिकता भनेको कानुनी आर्थिक र सांस्कृतिक अभ्यास हो । जसले व्यक्तिलाई समाजको योग्य सदस्यको रुपमा परिभाषित गरेको हुन्छ । भनाइको आशय के हो भने नागरिकता प्राप्त गर्न आवश्यक गुणहरु भएको योग्य मानिस नै नागरिक हो । नागरिकलाई राजनैतिक एकाइको रुपमा पनि हेरिन्छ ।

नागरिक भनेको राजनीतिक समुायको सदस्य हो । जसलाई अधिकार र कर्तव्यद्वारा परिभाषित गरिन्छ । राज्यको सदस्य नै नागरिक हो । नागरिकको साझा संगठन राज्य हो । नागरिकले राज्यद्वारा प्राप्त हुने सुविधाहरु पाएका हुन्छन् । त्यस्ता सुविधाहरुको बदलामा नागरिकले आफ्ना कर्तव्य र दायित्व पूरा गरेको हुनुपर्छ । नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गरेसँगै सुरक्षा प्राप्त गरेको हुन्छ । मौलिक हक तथा अधिकार प्राप्त गरेको हुन्छ । स्वास्थ्य तथा शिक्षाको सुविधा प्राप्त गरेको हुन्छ । यस वापत नागरिकले राज्यलाई कर तिर्नुपर्छ ।

राज्यका नियम कानुन मान्नुका साथै राज्यलाई आवश्यक परेको बेला योगदान गर्नुपर्छ । नागरिक र राज्य एकअर्काका परिपूरक र अभिन्न अंग हुन् । राज्य बिना नगरिक र नागरिकबिनाको राज्यको परिकल्पना गर्न सकिन्न । त्यसैले नागरिक भनेको राज्य निर्माणको एकाई हो । राज्यलाई व्यवस्थित र कल्याणकारी बनाउनका लागि असल नागरिक आवश्यक पर्छ । आफ्नो अधिकार र कर्तव्यप्रति सचेत नागरिकद्वारा मात्र समग्र राष्ट्रको कल्याण सम्भव हुन्छ । नागरिकै साझा प्रयासबाट स्थापना भएको संस्था राज्य हो । आफ्ना नागरिकको मान, सम्मान, प्रतिष्ठा, पहिचानको रक्षा तथा प्रबद्र्धन गर्दै समाजलाई सुसंस्कृत र उन्नत बनाउनु राज्यको कर्तव्य हो भने राज्यद्वारा निर्देशित कार्यहरु गर्नु नागरिकको कर्तव्य हो । यस्ता नगरिक तयार गर्ने कार्य शिक्षा प्रणालीले गरेको हुन्छ ।

राज्यमा बसोबास गर्ने व्यक्तिलाई आफ्नो अधिकार, कर्तव्य तथा जिम्मेवारीप्रति सजग गराउने प्रक्रिया नै नागरिक शिक्षा हो । राज्यद्वारा प्रदत्त अधिकारको उपयोग गर्न र नागरिकको दायित्वप्रति सचेत हुन दिइने शिक्षा नै नागरिक शिक्षा हो । नागरिक शिक्षाले व्यक्तिलाई सशक्त र सार्वजनिक जीवनमा अर्थपूर्ण सहभागिता जनाउन प्रेरित गर्दछ । समाज र राष्ट्रको विकासका लागि आवश्यक ज्ञान, सीप, क्षमता भएको नागरिक तयार पार्छ । नागरिक शिक्षाले असल नागरिकको निर्माण गरी राज्यको शासन व्यवस्थामा उनीहरुको सहभागिता बढाउने प्रयास गर्दछ । शासनको प्रक्रिया मूल्य, मान्यता र प्रकृतिहरु बुझ्न सहयोग गर्दछ ।

नागरिक शिक्षाले नागरिकलाई आफ्नो भूमिका, दायित्व, व्यक्तिगत जिम्मेवारी र उत्तरदायित्वसम्बन्धी ज्ञान दिन्छ । नागरिक शिक्षाले मानिसलाई समाज अनुकूल आचरण गर्न सिकाउँछ । यस्तो शिक्षाले व्यक्तिलाई समाज र राज्यको रुपान्तरणमा टेवा पु¥याउने नागरिक तयार गर्दछ । एउटा कोरा मानिसलाई नागरिक बनाउने कार्य नागरिक शिक्षा बिना सम्भव छैन । असल नागरिकको अभावमा राष्ट्रको अस्तित्व र विकास पनि सम्भव छैन । अतः नागरिक शिक्षा राष्ट्र विकासको मूल आधार हो ।

नागरिक शिक्षाको महत्व भनेको लोकतान्त्रिक समाजको आधार हो । जनताद्वारा जनताकै लागि तय गरिएको शासन व्यवस्था लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्था हो । नागरिक शिक्षाले नै मानिसलाई लोकतान्त्रिक व्यवस्थापनका लागि आवश्यक पर्ने ज्ञान, सीप, प्रवृत्ति विकास गर्न सहयोग गरेको हुन्छ । नागरिक शिक्षाले नागरिक सचेतनाको विकास गर्दछ । राष्ट्रको अस्तित्व रक्षा, राष्ट्रको समग्र विकास र समतामूलक समाजका लागि सचेतना नगरिकको अपेक्षा गरिन्छ । नागरिक आफ्नो भूमिका र दायित्वप्रति सचेत हुनुपर्छ । अन्धविश्वास र कूप्रथाहरुलाई बुझ्ने र त्यस विरुद्ध प्रजातान्त्रिक तरिकाले जुध्ने कार्य गर्नु पर्दछ । नागरिक समसामयिक विषयमा पनि सचेत हुनुपर्छ । जस्तै ः राजनैतिक, सामाजिक, आर्थिक, सूचना प्रविधि, वातावरणीयलगायतका समसामयिक मुद्दा तथा समस्याहरुप्रति नागरिक सचेत बन्नुपर्छ ।

जबर्जस्ती थोपरिएको विकास प्रतिफलमुखी हुँदैन । त्यसर्थ, दिगो विकास युगको माग हो । विकास कार्यलाई दिगो र प्रतिफलमुखी बनाउन स्थानीय जनताका ज्ञान, सीप, अनुभवलाई समेटेर विकास प्रक्रियामा स्थानीय जनताको सहभागिता जुटाउने । स्थानीय स्तरका जनताले योजना बनाउने, कार्यान्वयन गर्ने, अनुगमन तथा मूल्यांकन गर्ने कार्य गर्नुपर्छ । विकासको प्रतिफलबाट सबैले लाभ लिन पाउनुपर्छ । मानिसमा यस किसिमका ज्ञान, सीप र क्षमताको विकास गर्ने कार्य नागरिक शिक्षाद्वारा नै सम्भव छ । नागरिकमा असल मूल्य, मान्यताको विकास गरी सिङ्गो समाज र राष्ट्रलाई नै मूल्य, मान्यताले सकारात्मक प्रभाव नागरिक शिक्षाले प्रदान गरेको हुन्छ ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय अखण्डता, देशप्रेम, राष्ट्रिय पहिचान आदि राष्ट्रका आधार हुन् । नागरिकमा यस्ता भावनाको विकास नागरिक शिक्षाले प्रदान गरी राष्ट्रको जग बलियो बनाउन मद्दत गर्दछ । समाजमा सम्मानपूर्वक स्वस्थ सामाजिक जीवन यापनका लागि आधार निर्माण गर्न नागरिक शिक्षाले मद्दत गर्दछ । नागरिकमा नियम कानुनहरुको ज्ञान, द्वन्द्व व्यवस्थापन, सामाजिक सद्भाव, सहिष्णुता, सहानुभूति, सीप, सहअस्तित्व, आत्मसात गर्ने क्षमता, शान्तिप्रतिको निष्ठा आदि स्वस्थ सामाजिक जीवनका आधार हुन् ।

नागरिक शिक्षामा समावेश हुने विषयवस्तुहरुमा राज्य तथा राज्यका अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र तिनीहरुको निर्माण र कामकर्तव्यहरु । लोकतान्त्रिक मूल्य मान्यताहरु, समानता नागरिकको अधिकार र कर्तव्यहरु सुशासन पारदर्शीता, कानुनी शासन, जवाफदेही आदि । सामाजिक सीपजस्तै मेलमिलाप, सम्मान, समानुभुति, सहअस्तित्व, सद्भाव, सहकार्य आदि । स्वस्थ तथा वातावरणीय चेतना ।

देशले अवलम्बन गरेको राजनैतिक व्यवस्था अनुसार पनि नागरिक शिक्षाको विषयहरु फरक हुन सक्छन् । नागरिक शिक्षाका विभिन्न पक्षहरुमा नागरिक ज्ञानको विकास, नागरिक सीपको विकास, नागरिक मूल्य, मान्यताको विकास, नागरिक प्रवृत्तिको विकास आदि पर्दछन् । नागरिक प्रवृत्तिको विकास नर्ग राज्य व्यवस्थाप्रतिको प्रवृत्ति, संस्थाप्रतिको विश्वास, विविधताको सम्मान, स्वपहिचानप्रतिको दृष्टिकोण आदिमा ध्यान दिनुपर्छ । नागरिक शिक्षाले नागरकमा सकारात्मक प्रवृत्तिको विकास गर्छ ।

कानुनद्वारा प्रदत्त हक अधिकारको उपयोग गर्न प्रत्येक नागरिक स्वतन्त्र हुन्छन् तर ती हक अधिकारको उपयोग गर्दा अरुको हक अधिकारमा बाधा नपु¥याउनु नागरिकको कर्तव्य हो । नेपालको संविधान २०७२ को भाग ३ धारा १६ देखि ६४ सम्म ३१ वटा मौलिक हकको सूची उल्लेख गरिएको छ । संविधानको भाग ३ धारा १७ मा स्वतन्त्रताको हक प्रदा गरिएको छ । विचार र अभिव्यक्तिको स्वतन्त्रताबिना हातहतियार शन्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनैतिक दल खोल्ने स्वतन्त्रता, संघसंस्था खोल्ने, स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता र नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उपयोग, व्यापार, व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

राज्यले प्रदान गरेका मैलिक हकहरुको निर्भिकतापूर्वक उपयोग गर्न पाउनु नागरिकले व्यापक अधिकार पाएका छन् तर यसको उपयोग गर्न सकिएको छैन । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक दिइएको छ तर उपचार नपाएर मानिसहरु भरिएका छन् । धारा ४० मा दलितसम्बन्धी अधिकार छ तर समाजबाट जातीय विभेद र छुवाछूत प्रथा हटाउन सकिएको छैन । धारा ३१ ले शिक्षासम्बन्धी अधिकार दिएको छ, अझै पनि धेरै बालबालिका शिक्षाको मूलधारमा आउन सकेका छैनन् र अवसरबाट वञ्चित छन् । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा सशुल्क कायम छ । त्यसर्थ, हक अधिकार संविधानका पानाका कागजमा सीमित भएका छन् । अधिकारको सही उपयोग गर्न आम नागरिकले पाएका छैनन् । यसका लागि नागरिकलाई सक्षम बनाउनुपर्छ ।

नागरिक जीवनमा प्राप्त अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनुपर्छ । अधिकार र कर्तव्य एकअर्काका परिपूरक हुन् । संविधानको भाग ३ धारा ४८ मा नागरिकका कर्तव्य देहाय वमोजिम उल्लेख गरिएको छ । राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु । आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार हनन् नहोस् भन्ने विषयमा पनि सचेत हुनुपर्छ । नागरिकका कर्तव्यहरुलाई सामान्य तथा नैतिक कर्तव्य, कानुनी कर्तव्य गरी दुई भागमा बाँडिएको छ । नैतिक कर्तव्यमा आफूप्रतिको, परिवारप्रतिको र समाजप्रतिको कर्तव्य पर्दछन् । कानुनी कर्तव्यमा राज्यप्रतिको वफादारी, कानुनको पालना, कर तिर्नु, मताधिकारको प्रयोग आदि पर्दछन् ।

राज्य व्यवस्थामा मानिसहरु विभिन्न पेशामा आबद्ध हुन्छन् । आफ्नो योग्यता र सीप अनुसारको पेशामा प्रवेश गरी आय आर्जन गर्छन् । पेशागत अधिकारभित्र पारिश्रमिक पाउने अधिकार, विभेदरहित व्यवहारको अधिकार, संगठित हुने अधिकार, इन्कार गर्ने अधिकार, सुरक्षाको अधिकार, न्याय प्राप्त गर्ने अधिकार, पेशागत विकासको अधिकार आदि पर्दछन् । पेशागत जीवनका कर्तव्य र दायित्वमा इमानदारी, प्रतिबद्धता र जवाफदेही, सदाचार, निष्पक्षता र पारदर्शीता, योगदान, पेशागत ज्ञान र सीपको प्रयोग, सेवाग्राहीप्रतिको निष्पक्ष र सम्मानपूर्ण व्यवहार आदि पर्दछन् । राज्यको सदस्य नागरिक हो ।

नागरिकले राज्यबाट प्राप्त हुने सबै प्रकारका सुविधा, सहुलियत प्राप्त गर्दछ । यसको बदला राज्य तथा अन्य संस्थाहरुप्रति एक नागरिकले आफ्नो कर्तव्य निर्वाह गरेको हुन्छ । दायित्व पूरा गरेको हुन्छ । नागरिक अधिकारको मानवअधिकारलाई प्रबद्र्धन गर्छ । नागरिक अधिकारभित्र देहायवमोजिमका अधिकार पर्दछन्ः

– विचार र अभिव्यक्तिको अधिकार
– मतदान गर्ने अधिकार
– निर्वाचित हुने अधिकार
– पेशा छनोटको अधिकार
– शोषण र भेद्भाव विरुद्धको अधिकार
– सामाजिक न्यायको अधिकार
– नागरिकतासम्बन्धी अधिकार
– कानुनी उपचारको अधिकार
– सामाजिक संरक्षणको अधिकार आदि ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत् नागरिक अधिकारको सुनिश्चितता गरेको छ । सार्वजनिक हित र सरोकारका विषयमा नागरिक सचेत हुनु नै नागरिक चेतना हो । हरेक नागरिकले आफ्नो अधिकार र कर्तव्यको ज्ञान राखी समाज, राष्ट्र निर्माणका लागि योगदान गर्ने, कानुनको पालना गर्ने, सभ्य समाजको निर्माण गर्ने नागरिक शिक्षाको मूल लक्ष हो । नागरिक चेता अभिवृद्धि गराउने एउटा माध्यम नागरिक शिक्षा हो ।

लोककल्याणकारी शासन सत्ताको मान्यता अँगालेका मुलुकमा नागरिकको अन्तिम अभिभावक राज्य हुन्छ । जनताका आधारभूत आवश्यकता पूरा गर्ने दायित्व पनि राज्यकै हुन्छ । तर, मुलुक अप्ठेरोमा परेको बेला नागरिकले पनि मर्म बुझ्नुपर्छ । संकटमा राज्यसँगै होष्टेमा हैसे गर्नु असल नागरिकको कर्तव्य हुन्छ । जुन नागरिकले राज्यप्रति आफ्नो उच्च कोटीको दायित्व पूरा गर्न सक्छ, उनै राज्यबाट प्रदान हुने सुरक्षा, कानुनी शासन, सेवा, वस्तु उपभोगको भागिदार बन्छ ।

असल नागरिक निर्माण गरी लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा मद्दत पु¥याउनकै लागि नागरिक शिक्षा चाहिएको हो । नागरिक शिक्षाले आफू, आफ्नो समाज र राज्यप्रति प्रत्येक व्यक्तिको अधिकार र कर्तव्यका कुरा गर्दछ । सर्वप्रथम व्यक्तिले आफ्नो अधिकार, जिम्मेवारी, उत्तरदायित्व, कर्तव्य, आचरण र जवाफदेहीका बारे बुझ्नु पर्दछ । दोस्रो, अन्य व्यक्तिहरुको सम्मान, हित, सद्भाव, नैतिकता अनुशासन, आपसी विश्वास, विविधता उपर हुनुपर्ने सम्मानलगायतका कर्तव्यहरुको विषय बुझ्नुपर्छ ।

यसैगरी तेस्रो राज्यप्रति रहने कर्तव्यहरु जस्तो राष्ट्रिय एकता, राष्ट्रियता, कानुन निर्माणमा सहभागिता, लोकतन्त्रप्रतिको निष्ठा, कला, साहित्य र संस्कृति संरक्षण आदिलगायतका विषयले स्थान पाउँछन् । अतः यिनै अधिकार र कर्तव्यको बोध गराउने विषय नै नागरिक शिक्षा हो ।

विडम्बना भन्नुपर्छ हामीकहाँ न त क्षमतायुक्त मानव संसाधन तयार गर्ने वैज्ञानिक शिक्षा पद्धति छ न त तिनलाई उपयुक्त अवसर दिई रोकेर राख्ने संयन्त्र निर्माण भएका छन् । हाम्रो शिक्षा पद्धति र राजनैतिक जागरणले युवा जनशक्तिलाई कुन बाटोमा हिडाइरहेको छ ? भन्ने विषयमा गहन चिन्तन नगरी नागरिक शिक्षा र कर्तव्यका मोटा पुस्तकहरुले व्यावहारिक ज्ञान दिन सक्दैनन् ।