करको दायरा फराकिलो बनाउन अभियान

कर सप्ताहको उद्घाटन
अमरराज आचार्य
दाङ, २ मंसिर । स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ दशौँ राष्ट्रिय कर सप्ताह दाङसहित देशभर सुरु भएको छ । दाङमा पनि कर सप्ताहाको वुधवार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो । विशेष गरेर कर दाता अभिवृद्धिमा नै साता व्यापी कार्यक्रम केन्द्रित हुनेछन् ।

‘कर दाता शिक्षा र सचेतनाका कार्यक्रम यो अभियान केन्द्रीत हुनेछ’, राजश्व कार्यालय दाङका प्रमुख गोपीकृष्ण कोइरालाले भने– ‘त्यस्को लागि सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक छ ।’ सप्ताहको उद्घाटन कार्यक्रममा तुलसीपुरमा प्रभातफेरीसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा, दाङ जिल्ला उद्योग वाणिज्य संघका, तुलसीपुर उद्योग वाणिज्य संघ, लमही उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, गढवा उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ, बिजौरी उद्योग वाणिज्य संघ, बंगलाचुली उद्योग वाणिज्य संघ, शान्तिनगर उद्योग वाणिज्य संघ, हापुरे उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्वर अफ कर्मशका पदाधिकारीहरुलगायतको सहभागितामा प्रभातफेरी तथा करसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरवाट सुरु भएको प्रभातफेरी बजारको विभिन्न भागको परिक्रमा गरी दोघरेमा गएर समापन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले करको दायरा फराकिलो बनाउनुपर्ने बताएका थिए । व्यवसायीहरुलाई सहजरुपमा कर तिर्ने वातावरण राज्यले मिलाउनुपर्ने उनीहरुको भनाइ थियो । कोभिडको कारण अहिले व्यवसायीहरु धेरै मारमा परेको भन्दै राज्यले व्यवसायीहरुलाई सहयोग गर्नुपर्ने सहभागिहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कोइरालाले राजश्व कार्यालयले राज्यले बनाएको नीति–नियमको कार्यान्वयनका लागि अगाडि बढ्ने बताए । व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि आफूहरुले आफ्नो तर्फबाट सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग रहने बताएका थिए । कुनै समस्या परेमा कार्यालयसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले राज्यले गैरकानुनी रुपमा सञ्चालन हुने व्यवसायीलाई नियन्त्रणमा लिनुपर्ने बताए ।

यसका लागि आवश्यक सहयोग गर्ने उद्योग वाणिज्य संघ तयार रहेको उनले बताए । ‘गैर व्यवसायीको कारण अन्य व्यवसायीहरु मारमा परेका छन्’, उनले भने– ‘राज्यले सहज रुपमा कर तिर्ने बातावरण सिर्जना गर्नुपर्छ ।’ आफुहरु गैरकानुनी व्यवसायीहरुलाई नियन्त्रण गर्न अगाडि बढिरहेको बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि आफूहरुले काम गर्दै आएको बताए । गैरकानुनी व्यवसायीहरुलाई नियन्त्रणका लागि प्रयास जारी राखेको उनको भनाइ छ ।

त्यस अवसरमा लमही उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गढवा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्य, तुलसीपुर चेम्बरका पदम पोख्रेललगायतले विचार राखेका थिए । त्यस अवसरमा सरकारले व्यवसायीहरुका लागि ल्याएका विभिन्न कर सम्वन्धी छुटका बारेमा कर अधिकृत टोपेन्द्र थापाले जानकारी गराएका थिए ।

कर अधिकृत लालबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कर अधिकृत राजेन्द्रप्रसाद भण्डारीले गरेका थिए । त्यस अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा लुटबहादुर बुढाथोकीलाई सम्मन गरिएको थियो । सबैभन्दा बढी कर तिर्ने गणपति भेनियरका प्रोप्राइटर गेहेन्द्र बस्नेत रहेको राजश्व कार्यालयका प्रमुख कोइरालाले बताए ।

सहायता कक्षको उद्घाटन 

जिल्लाका ११ वटा उद्योग बाणिज्य संघले आन्तरिक राजश्व कार्यालयको बाहिर निर्माण गरेको करदाता सहायता कक्षको उद्घाटन गरिएको छ । सहायता कक्षको आन्तरिक राजश्व कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले गरेका हुन् । सहायता कक्षको उद्घाटन गर्दै कोइरालाले यसले करदाताहरुलाई सहजता ल्याउने बताए । कार्यालयमा बिचौलीहरुलाई नियन्त्रण गर्नसमेत यसले सहयोग पुग्ने उनको भनाइ थियो । सहायता कक्षबाट तोकिएको शुल्कभन्दा बढी लिन नपाउने बताए । यसले सेवाग्राहीहरुलाई सहयोग पुग्ने उनी बताउँछन् ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जिल्लाका सबै उद्योग वाणिज्यहरुको सहयोगमा सहायता कक्षको निर्माण गरिएको बताए । कर सेवा लिन आउने नागरिकलाई सहजताका लागि यस सहायता सुरु गरिएको उनको भनाइ छ । पहिलेबाट सहायता कक्ष सुरु गरिए पनि व्यवस्थितरुपमा अगाडि बढाउन सबै मिलेर भवन निर्माण गरिएको उनले बताए । कार्यक्रम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चासिलेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए ।

करदाताको संख्या ४० लाख

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सख्या उल्लेख्खरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सख्या ४० लाख नाघेको आन्तरिक राजश्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४० लाख ४९ हजार १ सय ९ पुगेको छ ।

व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७ सय २६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३ सय ३ छन् । आव २०७७÷७ मा २ लाख ४५ हजार ५ सय ६१ व्यावसायिक करदाता र ५ लाख १७ हजार ३ सय ३ व्यक्तिगत करदाता थपिएका छन् । कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजश्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७÷७ मा ४२९ अर्ब २० करोड राजश्व असुली भएको थियो । यो आव २०७६÷७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७÷७८ मा ४५० अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य राखिएको थियो ।

आव २०७७÷७८ मा मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा दुई खर्ब ७ अर्ब छ करोड असुली भएको छ । यस्तै सोही अवधिमा २ खर्ब ७७ करोड आयकर र १ खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क संकलन भएको छ । आन्तरिक राजश्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा २ अर्ब ६ करोड २६ लाख ९६ हजार फस्र्यौट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ ३७ हजार ८ सय ६ करदाता दर्ता भएको र हालसम्म २ लाख ६८ हजार ४ सय ३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ ।