दाङमा यसरी निर्वाचित हुनेछन् प्रदेश महाधिवेशन प्रतिनिधिहरु

दाङ, २ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लाका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा निम्न पदहरुमा निर्वाचन हुने भएको छ ।

जसअन्तर्गत ६ वटै प्रदेश निर्वाचन क्षेत्रहरुमा एक÷एक जना सभापति, दुई÷दुई जना उपसभापति, दुई÷दुई जना सचिव र सहसचिवहरु निर्वाचन हुने व्यवस्था रहेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् । कार्यवाहक संयोजक बस्नेतका अनुसार प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा तीन महिलासहित दशजना प्रदेश प्रतिनिधिहरु खुल्लातर्फबाट निर्वाचित हुने भएका छन् ।

त्यसैगरी ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा दलिततर्फ १÷१ जना र मधेशी, मुस्लिम, अपांग अल्पसंख्यक मध्यबाट १÷१ जना निर्वाचित हुने व्यवस्था रहेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. १ (क) मा खस आर्यबाट एकजना र (ख) बाट एक जना महिलासहित दुई जना प्रदेश प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा एक महिलासहित २ जना र (ख)मा एक महिलासहित ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा १÷१ जना महिलासहित ३÷३ जना प्रदेश महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार आदिवासी जनजाति प्रदेश महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ जना, क्षेत्र नं. २ (क) बाट एक महिलासहित २ जना र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । आदिवासी जनजाति प्रतिनिधिअन्तर्गत क्षेत्र नं. ३ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिको व्यवस्था छैन भने (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचनमा थारुबाट निर्वाचन क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ महिलासहित ३÷३ जना, निर्वाचन क्षेत्र नं. २ (क) र (ख) बाट १÷१ जना र निर्वाचन क्षेत्र नं. ३ (क) बाट एक महिलासहित दुई जना र (ख) बाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ । यसरी निर्वाचित भएका प्रतिनिधिहरु उक्त कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनअन्तर्गत जिल्लामा १ सय ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र ४२ जना प्रदेश पदाधिकारीहरु निर्वाचित हुँदैछन् ।

कांग्रेसमा पहिले नेतृत्व, पछि नीति

कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्दैछ । नेतृत्व चयन गरेपछि नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि यसो गर्नुपरेको हो ।’ पदाधिकारीबीच सहमति गरी विधान संशोधनलाई पछि सारिएको शर्माले बताए । नेता डा. रामशरण महतले महाधिवेशनको तयारीका लागि समय कम भएकाले यस्तो निर्णय गर्नुपरेको बताए ।

‘कतिपय जिल्लामा क्रियाशील विवादका कारण भित्रीरूपमै समस्या छ’ नेता डा महतले भने, ‘त्यसकारण पनि राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे बृहत छलफल गर्ने प्रस्ताव आयो। स्वीकार गर्नुको विकल्प थिएन ।’ कांग्रेसले यसअघि नीति र कार्यक्रम पारित गरी नेतृत्व चयन गर्दै आएको थियो । तर, यसपटक महाधिवेशन सम्पन्न गर्न समय अभाव हुने भन्दै कांग्रेसले नेतृत्व चयनमा मात्र केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। प्रदेशस्तरीय अधिवेशन गर्न संयोजक तोकेको छ । कांग्रेसले पाँचौँपटक मिति सारी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन तोकेको छ । नयाँ निर्वाचित समितिले नयाँ तौरतरिका अनुसार नीति तथा कार्यक्रममाथि छलफल गर्ने नेताहरुले जनाएका छन् ।

कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या १४ छ । विधानले सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष एकजना निर्वाचित हुने व्यवस्था गरेको छ ।