मिजासिला, कर्मशील, सकारात्म सोचका साथ कर्ममा विश्वास गर्छन्, उनले । सानै उमेरमा प्राविधिक विषय अध्ययन गरी उनी एकदशकदेखि पेशामा आबद्ध छन् । तुलसीपुर–७ निवासी इन्जिनियर विक्रमबाबु केसी अहिले नाम चलेका इन्जिनियर समेत कहलिएका छन् । उनका जीवनमा धेरै खुसीहरू छन् ।
त्यसको कुनै लेखाजोखा समेत छैन । तर पनि उनले आफ्नो पहिलो खुसी विसं २०६८ सालमा इन्जिनियरिङ विषयमा पास हुँदाको सम्झना गर्छन् । जुन उनको सबैभन्दा खुसीको क्षण हो । इ. केसीको सानैदेखिको सोच डाक्टर बन्ने र जनताको सेवा गर्ने थियो । तथापि, उनी डाक्टर पढ्ने इच्छा भने पूरा भएन र उनी अन्ततः इन्जिनियरिङतिर लागे । बुबा भोजबहादुर केसी र आमा छमाकुमारी केसीका कान्छा सन्तानको रूपमा २०५० सालमा जन्मिएका केसीलाई उनका बुबाले इन्जिनियर पढाउने इच्छा राखेर घोराही स्थित राप्ती इन्जिनियरिङ कलेजमा भर्ना गरिदिए ।
पहिलो व्याचमा उनी भर्ना भएर जिल्लामै बसेर अध्ययन गरे र इन्जिनियरिङ विषय पास गरे । उनले बुबाको सपना पूरा भएको दिन आफू निकै खुसी भएको सम्झिए । ‘मैले पढाइ सँगैसँगै जागिर पनि सुरु गरेको थिएँ, वि.स. २०६८ सालमा इन्जिनिरिङ विषयमा पास भएँ, त्यस दिन म खुसी भएँ’, –केसीले भने । त्यो सँगै उनले अब आफ्नो बुबाको उद्देश्य पूरा भएको भन्दै खुसीले गदगद भएको बताए । क्याम्पसमा आफूहरू ४८ जनामध्ये १५ जनाले पास गरेको भन्दै त्यस दिन निकै खुसी भएको बताए । सानो उमेरमा इन्जिनियर बन्न सफल भएका विक्रमबाबुले आफूले पढेर स्वदेशमा, त्यसमा पनि आफ्नो जिल्लामै केही गर्नुपर्छ भन्ने सोचका साथ यहीँ जागिर सुरु गरेको बताए ।
उनले दाङ पोलिटेक्निकल इन्स्टिच्युटमा सिभिल संकाय प्रमुखको जिम्मेवारी पाएको दिन पनि खुसी मिलेको सुनाए । ‘मेरो तलव त्यतिबेला १७ हजार थियो, म आफू जन्मिएको स्थानमै पढेर यहीँ सेवा गर्न पाउँदा पनि निकै खुसी भएँ’, –इ. केसीले भने । अन्य व्यक्तिहरू पढेर विदेशमा जाने र धेरै पैसा कमाउने सपना बोकेर विदेशिए पनि उनलाई त्यतातर्फ कहिल्यै पनि चासो भएन । बरु उनले आफ्नै देश त्यसमा पनि जिल्लामै केही गर्नु पर्छ भन्ने सोच लिएको केसीले सुनाउँछन् । त्यस्तै उनले अर्को खुसी तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यालय प्रमुखमा नियुक्त हुँदा पनि खुसी लागेको सुनाए ।
तुलसीपुरमा जहिले पनि पिउने पानीको अभाव हुने र आफू आएसँगै तुलसीपुरका घरघरमा पानी पु¥याउँदा पनि निकै खुसी भएको सुनाए । ‘हामी सबैको मिहिनेतले पानीको अभावलाई समाधान गर्न सफल भयौँ, केही हदसम्म हामी सफल भएका थियौँ’, – केसीले भने । उनले उपभोक्ताहरूले धन्यवाद दिँदा झनै खुसी मिलेको सुनाए । हालसालै पनि लोकसेवा आयोगको तयारी कक्षा पढाउने र अन्य स्थानमा पनि सेवा गर्दै आएका इ.केसीले आफूले पढाएका विद्यार्थीहरूले रोजगारी पाउँदा धेरै खुसी हुने गरेको सुनाए ।
‘मेरो खुसी भनेकै मैले गरेको सानो सहयोगले कुनै व्यक्तिको जीवन बदल्नु नै हो’ –केसी भन्छन् । उनले हाल आफूले पढाएका धेरै विद्यार्थीहरूले स्थानीय तहमा असिस्टेन्ट इन्जिनियरको रूपमा काम गदै गर्दा र उनीहरूले सम्झँदा खुसी मिल्ने गरेको बताउँछन् । ‘जहिले पनि आफूले निःस्वार्थ रूपमा अरुलाई सहयोग गर्दा यो सारा ब्रह्माण्डले आफूलाई सहयोग गर्छ भन्ने सोच राख्दछु, मैले सामाजिक कार्य गर्न पाउँदा धेरै खुसी छु’ –केसीले भने ।
त्यस्तै विभिन्न स्थानमा कन्सल्टेण्ट सेवाका साथै प्रशिक्षकको रूपमा काम गर्दै आएका ई.केसीले आफू उद्यमशील भइ जिल्लामै केही गर्नुपर्छ भनेर विगत ६ वर्षदेखि तुलसीपुरमा प्राइमफेस मल्टिप्रपोज प्रालिमार्फत् इन्जिनियरिङ सेवा दिँदै आइरहेको बताउँछन् । उनले आफूले सञ्चालन गरेका प्रालिमा ७÷८ जनालाई रोजगारी दिन पाउँदा पनि अर्को खुसी आफूलाई मिलेको बताउँछन् । सिभिल इन्जिनियरमा स्तातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका केसीले जनकल्याण मावि दुधरासमा प्रक्षिकको रूपमा काम गर्न पाउँदा पनि आफू खुसी भएको बताए ।
त्यस्तै राप्ती आँखा अस्पतालजस्तो सेवामूलक क्षेत्रमा कन्सल्टेन्टको रूपमा काम गर्न पाउँदा पनि निकै खुसी मिलेको सुनाए । इ.केसीले लायन्स क्लव अफ तुलसीपुर इसानको सदस्य तथा जनसेवा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको सदस्य रहेर पनि सेवा गर्न पाउँदा खुसी भएको बताए । ‘मेरो बुबाले जहिले पनि घरमा आउने पाहुना देवताजस्ता हुन्, सहयोग माग्ने मान्छेलाई जति आफ्नो क्षमताले सकिन्छ त्यति गर्नुपर्छ भन्नुहुन्थ्यो’ केसीले भने । त्यही अनुसार आफूले सबैलाई सक्दो सहयोग गर्ने गरेको र त्यसैमा खुसी मिल्नेगरेको सुनाए । केसीले सबै घरपरिवार, साथीभाइ र आफन्तहरूको सहयोग आफूले पाएकोमा पनि खुसी व्यक्त गरे ।
मध्यमखाले परिवारमा जन्मिएका इ.केसीले सानालाई माया र ठूलालाई आदर, सम्मान र दुःखी असहायहरूलाई सहयोग गर्न पाउँदा आफू खुसी हुने गरेको सुनाए । उनले आफूले पढाएका विद्यार्थीहरू विभिन्न स्थानमा जागिरमा लागेको े र उनीहरूलाई भेट्दा तथा उनीहरूले सम्झँदा पनि आत्मसन्तुष्टि र खुसी मिल्ने गरेको सुनाए । केसीले आफूले पहिलो पटक रक्तदान गर्दा अर्को खुसी मिलेको सुनाए । विभिन्न संघसंस्थामा लागेर धेरै व्यक्तिहरूसँगको साथ र सहयोगले नयाँ कुरा सिक्ने अवसर पाएकोमा पनि खुसी लाग्ने गरेको उनी बताउँछन् । तुलसीपुर–७ निवासी इन्जिनियर केसी प्राइमफेस मल्टिप्रपोज प्रालि तुलसीपुरका सञ्चालक तथा इन्जिनियरिङ विषयको प्रशिक्षक तथा कन्सलटेन्टको रूपमा जिल्लामा काम गर्दै आएका छन् ।
–बालाराम खड्का