कांग्रेस महाधिवेशन : उम्मेदवारी घोषणा गर्दै नेताहरु

दाङ, २८ कार्तिक । नेपाली कांग्रेसको १४ महाधिवेशन नजिकएसँगै चुनावी चहलपहल वढेको छ । आगामी निर्वाचनमा नयाँ नेतृत्वका लागि नेताहरुको दौडधुपसँगै आकांक्षीहरुले उम्मेदवारी समेत घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर ६ मा हुँदैछ । प्रतिनिधिसभा अन्तर्गत ३ वटा क्षेत्रीय सभापति र प्रदेशसभाअन्तर्गत १२ क्षेत्रहरुमा प्रदेशसभा सभापतिको निर्वाचन हुन थालेको छ । जसमा दाङ क्षेत्र नं. २ को संघीय तथा प्रदेशसभाका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

जसअन्तर्गत पार्टीको संस्थापनअन्तर्गतको समूहले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ । जसमा संघीयतर्फ क्षेत्र नं. २ को सभापतिमा भीमप्रकाश खड्काले आफ्नो उम्मेदवारी घोषणा रहेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका खड्का सामुदायिक वनको संरक्षण र व्यवस्थापनका लागि लामो समयदेखि क्रियाशील रहेका छन् । कांग्रेसको नयाँ संरचनाअन्तर्गत पहिलोपटक हुन थालेको निर्वाचनमा खड्काले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुन श्रेष्ठ, संविधानसभा सदस्य राजु खनाल, क्षेत्रीय सभापति भूपबहादुर डाँगीलगायतको उपस्थितिमा खड्काले उम्मेदवारी घोषणा गर्दै कांग्रेसलाई संगठित पार्टीका रुपमा विकास गर्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । उनले दाङमा कांग्रेसको जनलहरलाई स्थपित गर्नका लागि आफूले काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी सोही टिमबाट सचिवमा कमल गौतम र हिमबहादुर डाँगीले उम्मेदवारी घोषणा गरेका छन् । गौतम प्रदेशसभा २ (ख)का क्षेत्रीय सभापति हुन् भने डाँगी कांग्रेसका पुराना नेता हुन् । त्यसैगरी सहसचिवमा रमेशकुमार पाण्डे र रञ्जित श्रेष्ठ रहेका छन् । पाण्डेय घोराही उपमहानगरपालिका वडा नं. १५ का निर्वाचित वडाध्यक्ष हुन भने श्रेष्ठ जनजाति नेताका रुपमा परिचित छन् ।त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. २ (क) को सभापतिमा प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापतिमा तिलकबहादुर भण्डारी, पदमबहादुर खत्री रहेका छन् ।

सचिवमा शिशिर अधिकारी, युवराज आचार्य रहेका छन् । सहसचिवमा भुवनकुमार चौधरी र विष्णु पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. २ ख को सभापतिमा लालबहादुर गिरीले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापतिमा ज्ञानबहादुर केसी र शरद विक (समीप) रहेका छन् । सचिवमा तिलक केसी र डिल्ली वलीले उम्मेदवारी घोषणा रहेका छन् । सोही समूहबाट सहसचिवमा युद्धबहादुर डिसी (सन्तोष) र निर्मला न्यौपाने रहेका छन् ।

पत्रकार सम्मेलनमा उम्मेदवारहरुले आफूहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह समेत गरेका थिए । पत्रकारका सम्मेलनको सहजीकरण नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका सभापति तिलक रावतले गरेका थिए । केही दिनअघि मात्र घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा पत्रकार सम्मेलन गरेर चित्रबहादुर डाँगी ‘निर्मल’ले संघीय क्षेत्र नं. २ को क्षेत्रीय सभापति र २ (ख)को प्रदेशसभा सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका थिए ।

त्यसैगरी सोही समूहबाट संघीय क्षेत्र नं. २ (क)को प्रदेशसभा सभापतिमा कांग्रेसका नेता दुर्गा जीएम सभापति उठ्ने बताइसकेका छन् । यद्यपि उनीहरुले अझै आफ्नो उम्मेदवारी घोषणा भने गरेका छैनन् । अन्य क्षेत्रहरुमा पनि उम्मेदवारको टुंगो लगाउन नेताहरु लागिपरेका छन् ।