तुलसीपुर, २८ कार्तिक । कुनै बेला किसान जगुराम चौधरीले आफ्नो खेती लगाउन २÷३ घरका हलगोरु लगाउँथे । तर आजभोलि भने एकैदिनमा गहँुबाली लगाउन ट्याक्टर प्रयोग गर्छन् । उनीजस्तै अर्का किसान रमेशबहादुर खड्काले पनि यसअघि गोरुले खेतीपाती लगाउने गरे पनि अहिले आधुनिक तरिकाले खेती गर्न थालेको बताउँछन् ।
आधुनिक कृषि प्रविधिको प्रयोगले गर्दा यहाँका धेरैजसो किसानहरुले समयमै खेती सक्ने गरेका छन् । परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका यहाँका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । हलगोरु राँगा र कृषि मजदुर, खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टेलर, हाते ट्याक्टरदेखि बाली भित्र्याउन समेत कृषि उपकरणकै प्रयोग गर्न थालेको बताएका छन् ।
खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुग्न थालेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ । पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन् । कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन् ।
कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीका लागि किसानहरूलाई सहज पनि भएको तथा उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको उनीहरूले बताएका छन् । कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्र्याउन सहज भएको स्थानीय किसान मोहन वली बताउँछन् । जिल्लामा पछिल्लो समयमा आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।
गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाई लगाने चलन विस्तारै हराउँदै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्याक्टर र प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्नेक्रम घटेको तुलसीपुर–४ का किसान प्रेम खड्काले बताए । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटो–छरितो हुने उनले बताए । तुलसीपुर–१० की निर्मला वलीले पनि विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरेको स्मरण गरिन् । यस वर्ष भने उनले ट्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताए ।
‘ट्याक्टरले जोत्दा दुई घण्टामै खेत जोतिन्छ, गोरुले भने चार पाँच दिन लाग्छ, थोरै रकमले समयमै सजिलै र छिटो खेती लगाउन सहज बनेको छ’, उनले भने । उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । ‘एक दिनको गोरु र मानिसले १२ देखि एक हजार ५ सय लिने गर्छन् तर ट्याक्टरले भने कम लिन्छ’, अर्का किसान प्रकास चौधरीले भने । थ्रेसर मेशिनले धान दाउँदा प्रति घण्टा २ हजार देखि २५ सयसम्म लिने गरेको र जोत्दा पनि जोत्दा प्रति घण्टा ८०० देखि १ हजार लिने गरेको उनले बताए ।
गाउँघरमा काम गर्ने मानिस पनि नभेटिने र प्रविधिको प्रयोगले सहज हुने भएकाले यहाँका धेरैजसो किसानले हिजोआज मेशिन प्रयोग गर्न थालेका छन् । कृषि प्राविधिक माधव केसीले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताए । ‘पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने र दाई हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्’, उनले भने ।
उपकरण र यन्त्रका प्रयोगले श्रम, लगानीको पनि सदुपयोग हुने बताइएको छ । जिल्लामा धान दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला टेक्टर र मकै गोडने मेशिनसमेत आएका छन् । त्यस्तै धान काट्नका लागि मेसिनहरुसमेत आएका छन् । तर कृषिमा यान्त्रीकरण बढे पनि कृषकहरुलाई अनुदान र सहयोगतर्फ भने सम्बन्धित निकाय अझै पनि ध्यान जान सकेको छैन् । ‘कृषकहरुलाई सहज र उत्पादन बढाउन सरकारले पनि नीति तथा कार्यक्रमहरु ल्याएर यसलाई सहज गराउनुपर्ने किसानहरु बताउँछन् ।