विनोद पोख्रेल
२०७७ साउन ३१ गते
जब विश्वास हराउँछ तब सबै कुरामा शंका मात्रै हुन्छ । वास्तवमा मानिसको एकअर्कासँगको सम्बन्धको मूलआधार विश्वास नै हो । त्यसमा पनि राजनीतिलगायत संगठनमा आबद्ध भएर गरिने कामहरुमा त अरु सम्बन्ध नै हुँदैन ।
अहिलेको परिस्थितिमा दुःख साथ स्वीकार गर्नुपर्छ कि नेपालको राजनीतिले विश्वास हराएको छ । यहाँ आम नागरिकको सरकार र नेतृत्वप्रति विश्वास छैन । संगठनहरुभित्रै कार्यकर्ता र नेतृत्वप्रति विश्वास छैन । नेता–नेताबीच आपसमा विश्वास छैन । कतिपल्ट त व्यक्ति आफैमा समेत विश्वास नभएको अनुभूति गरिएको छ । त्यसैले त सही गलत केही बुझेर छुट्याउने प्रयास समेत नगरेर आन्तरिक वा वाह्य शक्तिहरुको सहयोग बिना शर्त अथवा उनीहरुको शर्त मानेर समेत निर्धक्कसँग लिइन्छ ।
यो वातावरणका लागि धेरै पक्ष र धेरै व्यक्ति जिम्मेवार छन् । त्यता नजाऔँ । हाम्रो चिन्ताको विषय भनेको विश्वासको आधारमा बनेको सम्बन्ध एकपल्ट भत्कियो भने त्यो फेरि पुरानो अवस्थामा आउन सक्दैन । आफूले आर्जेको विश्वास यथावत राखिरहन सक्नु मात्रै पनि ठूलो सफलता रहेछ । हामीले भोगेकै वा देखेकै कुरा हो आफ्नो संगठनका लागि र त्यसको विचार स्थापित गर्नकै लागि प्रशस्त दुःख देखेकाहरुले नै अहिले विश्वास गुमाएका छन् । अहिलेको नेतृत्व पनि कुनै समयमा चर्चित व्यक्तिहरुकै हातमा छन् तर अहिले विश्वास जित्न त परै जाओस् धान्न समेत सकेको छैन ।
साच्चै राजनीतिक नेतृत्वका लागि विषयको ज्ञान, इच्छाशक्ति, वैचारिक दृढताका साथै व्यक्तिको चरित्र, अनुशासन र समर्पणको भाव पनि चाहिने रहेछ । यस्तो तब मात्र हुन्छ जब व्यक्रिले आफूले समाज वा राष्ट्रको कति भरको कामको मूल्य खोज्दैन । यो सोच असम्भव प्रायः हुने रहेछ । मर्ने मार्ने स्थितिलाई समर्पणको हद मानिन्छ । त्यहाँसम्म पुगेकाहरुले आफ्नो कामको ज्याला खोजे भने सबै कुरा बिग्रँदो रहेछ । अरु बिग्रँदा त्यति प्रभाव परेको जस्तो नलागे पनि तुलनात्मक रुपमा विश्वास स्खलन भयो भने सबै बिग्रेको जस्तो लाग्ने रहेछ ।
कार्यकर्ताहरुलाई विचार र आस्थाको नाममा लडाएर आफूमाथि पुगेपछि भागबण्डा गरेर मिलिीजुली खाने चरित्रले स्वाभाविक रुपमा आम नागरिक र तल्लो तहका कार्यकर्तालाई पीडा दिन्छ । उनीहरुको विश्वास डगमगाउँछ । हिजो मात्रै नेकपाको अहिलेको समस्या समाधान गर्ने प्रस्ताव पेश गर्न एउटा ६ सदस्यीय समिति गठन भएको छ । तर, त्यो समिति जन्मिनेबित्तिकै काम सुरु नगर्दै अविश्वास, शंका र केही विवादमा फसिसकेको छ । यो एउटा नेता वा एउटा दलको स्थिति होइन । सबै दलहरु त्यस्तै छन् । कहिले कुन दल वा त्यसमा महत्वपूर्ण व्यक्तिहरु कुन दलमा मिसिने हुन् त्यो थाहा छैन ।
कसको कतिबेला के कारणले वा कुन स्वार्थले ठाउँ फेर्ने मन लाग्ने हो अत्तोपत्तो छैन । यहाँ न त वैचारिक एकताको आवश्यकता छ न त संगठनको चिन्ता । कसको स्वार्थले कति प्रभाव पार्ने हो त्यसैको भरमा चलेको राजनीतिले विश्वास आर्जन गर्न सक्ने कुरो पनि भएन । यति छुद्र र त्यति कन्टमा खेल समेत हुन थाले कि आफैले बनाएको आफ्नो देशको संविधान समेत मूल नेतृत्वले नमान्नु वा लत्याउनुलाई सामान्य मानिन थाल्यो । दलहरुका अधिवेशन समेत समयमा गराउन नसक्ने नेतृत्वप्रति अरु कामको लागि कसरी विश्वास जानसक्छ ।
तर यहाँ विधानभित्र समेत रेडिमेट तर्कहरु छन् । साथ दिने त्यस्तै स्वार्थीहरुको जमात छ । कहिल्यै पनि यस्तो भएको थियो भन्ने तर्क दिने गरिन्छ । पहिले भएको गल्ती सुधार गर्नुपर्छ । त्यस्तो गल्ती गर्नु हुँदैन भन्ने सोचभन्दा तिनै गल्तीलाई नजीर बनाएर आफ्नो स्वार्थ पूरा गर्ने चरित्रले विश्वास जित्नसक्ने सम्भावना नै रहँदैन ।
२०७७ साउन ३२ गते
अर्थ व्यवस्थालाई उचित र व्यवस्थित बनाउनसके अलि थोरैले पनि सजिलो जीवन बिताउन सकिने रहेछ । अथवा आवश्यकता बुझेर तिनको उचित र सन्तुलित पूर्ति गर्नसके सजिलो जीवन हुन्छ । यिनी दुई कुरामा कति सामान्यता र कति फरक छ त्यो मैले बुझ्न सकेको विषय होइन । तर पनि आज मनमा यस्तै यस्तै कुरो भयो । पहिले मसँगै पनि जमिन अहिलेको भन्दा अलि धेरै थियो ।
लगभग सबै जमिनबाट केही न केही उत्पादन हुँथ्यो र पनि धेरै कुरा पुगेको थिएन । आर्थिक संकट डरलाग्दो भए पनि झेल्नुपर्ने स्थिति आयो । अहिले मसँग धेरै कम जमिन छ । जति छ त्यो पनि यस वर्षको भरमा भन्न हो भने लगभग एक चौथाइ नत्र पोहरसम्मको कुरा गर्ने हो भने त्यसको ठिक उल्टो भन्नाले तीन चौथाई जमिन बाँझो थियो । तर पनि त्इो तनाव र त्यो आर्थिक पीडा छैन । म आफै अचम्म पर्छु सम्पत्ति हुँदा त झन पछुतो हुनुपर्ने हो ।
सायद मैले व्यवस्थापन गर्न जानेन । अब मैले केही पनि गर्दैन । श्रीमतीले पनि हस्तक्षेप गर्दैनन् । छोराबुहारीहरुले आफू गर्छन् । उनीहरु सायद हामीभन्दा यो मामला सिपालु छन् । अथवा जमिनको मूल्य हामीजस्ताको सोचाइमा आसिएकोले हो कि ? तै पनि व्यवस्थापन महत्वपूर्ण कुरा हो । आप्mनो केही लापरवाही र केही गल्तीले विक्रम तनावमा छ होला । त्यो पनि सुस्त–सुस्त सम्हालिएला भन्ने आश गरेको छु । अरुले राम्रो व्यवस्थापन गरेका छन् ।
सामान्यतया ठिकै चलेको छ । म अर्थशास्त्रको ज्ञाँता त होयन तर मेले व्यवस्थापनलाई नै महत्व दिएँ । त्यसले पनि मद्दत ग¥यो । बुहारीहरु समेत काममै व्यस्त छन् । यस्तो परिवेशले पनि जिम्मेवारी पूरा गर्न सिकाएर होला । जे होस् यी सबै कुरा पनि व्यवस्थापनभित्रै पर्छन् जस्तो लाग्छ । कमाउन जति सजिलो हुन्छ खर्च गर्न त्यति सजिलो हुँदैन । खर्च गर्दा धेरै कुरा सोच्नुपर्छ । यसैलाई मैले व्यवस्थापन भनेको हुँ । अर्को कुरो मेरो स्वभाव पनि हो । मजे छ, जति छ, जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्छु ।
देख्नेले आफै देख्ने, भोग्नेले आफै भोग्ने र थाहा पाउनेले आफै थाहा पाउने कुरा अलग हो । मेले मेरा सजिला, अप्ठेरा सकेसम्म आफूमै सीमित राखेँ । अहिलेको स्थितिले पनि मलाई बढी केही असर पारेको छैन । सबै स्थितिलाई मैले सामान्य नै लिन्छु । मेरो आफ्ना महत्वाकांक्षा केही छैनन् । कहिल्यै कैही बनेनन् । जस्तो छ त्यसैमा सन्तोष गरेँ । आज पनि सन्तोष मात्रै हो । अहिले एउटा इच्छा कहिलेकाहीँ लाग्छ । त्यो पनि आफ्नै लागि होयन । विपुलले जगाएको हो । उसले एउटा कविता संग्रह निकाल्यो ।
मैले यिनै डायरीमा भएका मेरा आफ्ना विचार र केही सामयिक घटना बारे मेरो धारणाहरुलाई पुस्तकाकार दिएर स्थायी बनाउन पाए हुन्थ्यो भन्ने सोचेकोसम्म छु । त्यसमा पनि मलाई हतारो पनि छैन । नभए केही पछूतो पनि हुने छैन । मेले राजनीतिक पक्षमा मात्रै नभएर शारीरिक र केही सामाजिक, आर्थिक पक्षमा समेत मेरो विचार लेखेर व्यक्त गरेको छु । । यिनलाई सकेसम्म सजिलोसँग बुझ्ने बुझाउने प्रयास गरेको छु ।
त्यसकारण यो पनि एउटा संग्रहकै रुपमा आए हुने जस्तो लाग्छ । परिवेश र सोच मिल्नसके आउला । अरु कुनै इच्छा समेत छैन । जे छ त्यो मेरो लागि पूर्ण छ । मैले व्यवस्थापन गर्न नसकेको पनि मैले आफै स्वीकार गरिसकेको छु । कहिलेकाहीँ कमजोरीहरु स्वीकार गर्या पनि विशेष सन्तुष्टिको अनुभव हुन्छ । अबको इच्छामध्ये एउटा मेरो कलम म बाँच्दासम्म यत्तिका लागि भए पनि चलिरहोस् भन्नेसम्म छ । भावना खुला रुपमा कुनै नियन्त्रण नभएर व्यक्त गर्न पाउनु पनि एउटा ठूलो उपलब्धि र ठूलै सन्तोषको विषय हुने रहेछ । यसले खुकुलोपन दिने रहेछ । यो यस्तै रहोस् ।