व्यासले मृतआत्माहरूको आफन्तसँग भेट गराउनु

राधेश्याम उपाध्याय

एक दिन राजाले राजपाठ छाडि यसरी जंगल बस्नु राम्रो होइन भनि सम्झाउनका लागि व्यास मुनि आफै शिविर आउनुभयो । व्यास मुनि आएको देखेर सबैले व्यसलाई आशनमा बसाई पूजा गरे र शिक्षा तथा उपदेश सुन्नका लागि चारैतिर आइ बसे । सबैको त्यस्तो इच्छा बुझेर व्यास मुनिले धृतराष्ट्रलाई ‘आफ्नो कल्याणका लागि के गर्दै छौ ?

गान्धारी आफ्ना पुत्रहरू युद्धमा मारिए भनि अझै दुःखी छन् कि खुसी मनले तपमा तिम्रो सहयोग गर्दछिन् ? जो पुत्रवधुहरू तिम्रो सँगमा छन् तिनीहरू निज धर्म पालन गरी सत्यमा बसेकाछन् । मानिसले क्रोध, लोभ, मोह त्यागेर बैरत्व बिर्सिएर धर्म पालन गर्नु पर्दछ । जसरी त्रैलोक्यमा आकाश व्याप्त छ त्यसरी नै प्रत्येक व्यक्तिको चित्तमा धर्म व्याप्त छ । जो पापी तथा दूराग्रही छैन उसले मात्र आफ्नो उद्धार हुने धर्म पथ देख्दछ ।

विदुर धर्मको स्वरूप थिए र आफ्नै रूप युधिष्ठिरको दहमा लीन भए । उनी माण्डव्य ऋषिको स्रापले मबाट जन्मिएका थिए । उनीले सदैव धन, मन र आफ्नो दहले अर्काको उपकार गर्दथे । सबै जन्मेपछि मर्नु पर्दछ । जसले धर्मपथको पालन गर्दछ उ भवसागर पार तर्दछ । तिम्रो कल्याण गर्नका लागि म यहाँ आएको छु । तिम्रो के इच्छा छ, केही सुन्न र देख्नको मन भए भन’ भनेर व्यास मुनिले भनेपछि धृतराष्ट्रले व्यास मुनिका चरण समाइ मलाई दया गर्नुहोस् भन्न लागे । ‘त्यो दुष्ट कुमति दुर्योधनले गर्दा जो–जो युद्धमा मरे तिनीहरूको गति के भयो ? सो आज्ञा गर्नुहोस्’ भन्न लागे ।

गानधारीले आफ्ना पति र व्यासको सम्वाद सुनेर मलाई ‘केही सन्ताप छैन । राजाले पुत्रहरूको शोकले भोजन त्याग्नुभएकाले निद्रा, पिर, अशान्ति र घोर तपले यिनको शरीर गल्दैछ, त्यसैले राजालाई शान्ति सुविस्ता हुने उपाय गर्नुहोस’ भनि आज्ञा गरिन् । कुन्तीले पनि रुँदै अघि कर्णलाई जलमा फालेको सम्झेर मन अशान्त छ त्यो दुष्कर्म कसरी नास हुन्छ ? त्यसको मुक्ति हुने उपाय छ भने आज्ञा होस् भनि विन्ति गरिन् ।

अरु कौरवका रानीहरूले पनि रुँदै हाम्रो कल्याण हुने शिक्षा दिनुहोस भनि भन्न लागे र सबैले एकपल्ट आफ्ना पति, पुत्र बान्धवहरू जो युद्धमा मारिएका थिए तिनीसँग भेट गर्ने इच्छा गरे । सबैे साह्रै आर्त भइ रुँदै यस्तो विन्ति गरेको सुनेर व्यास मुनिले भने ‘जो–जो युद्धमा लडाइँ गरेर मरे तिनका निम्ति चिन्ता गर्नु वृथा छ । ती त यो संसारमा देखिने अस्थिर प्रपञ्चदेखि पार तरे । द्यौता, दानव, यक्ष, राक्षस, गन्धर्व, विद्याधर सबैको अंश लिएर यो पृथ्वीमा जन्मेका थिए । सबै आ–आफ्नो अंशमा फिर्ता भए । सबैले आफ्नो उद्धार गरे ।

तिनको चिन्ता नगर । अझै पनि आफ्नो पति, पुत्र, बान्धव नरकमा छ कि भनि शंका छ भने गंगा किनारमा गएर स्नान दान पुण्य गरेर आनन्दपूर्वक बस, म आप्mना योग बलले तिम्रा ती सबै बन्धुवान्धवहरूलाई बोलाउनेछु । स्वयम् आफै भटेर शंका निवारण गर ।’ व्यासजीको यस्तो आज्ञा सुनेर सबै गंगा किनारमा गए । सन्ध्याकाल भयो । व्यासजी जलमा देखिए । व्यासजी आँखा चिम्लिएर ध्यानमा बसेर आफ्ना योगबलले महाभारत युद्धमा जति मरेका महारथी, रती थिए ती सबै व्यासको आह्वानमा स्वर्गबाट श्रेष्ठ विमान चढी आए ।

दुर्योधन आफ्ना सय जना भाइ र पुत्रहरू साथै लिइ आए । भीष्म, द्रोण, धृष्टद्युम्न, विराट, कर्ण, सकुनी, द्रौपदीका पाँच भाइ पुत्रहरू भगदत्त, लक्ष्मण, दशासन, वृषशेन, शल, भूरीश्रवा राजाहरू र घटोत्कच आफ्ना सेना सहित युद्धमा मरेका जति सबै आ–आफ्ना छत्रध्वजा रथ र उही लगाएका वस्त्र भूषणले सुसज्जित भइ आए । ती आउनुभन्दा पहिला नै व्यास मुनिले गान्धारीलाई दिव्य ज्ञान र धृतराष्ट्रलाई दिव्य दृष्टि दिनुभएको थियो । स्वर्गका अप्सरा गन्धर्व र विद्याधरहरू आएर सबैलाई पाल तथा शयनको उचित व्यवस्था उज्ज्व दीपको उचित प्रबन्धको व्यवस्था गरे ।

सबै कौरव तथा पाण्डवहरू वैरत्व त्यागेर आपसमा भेटघाट तथा शिष्टाचार गरे । सबै वीरहरू आ–आफ्ना पुत्र तथा पत्नीहरूसँग मिलन गरे । उत्तरा आफ्ना पति अभिमन्युसँग भेट गरिन् । द्रौपदी आफ्ना पाँच भाइ छोराहरूलाई भेटिन् । सबै विधवा रानीहरू आ–आफ्ना पति तथा पुत्रहरूसँग भेटेर खुसी भए । कुन्तीले कर्णलाई भटिन् । सबैले आपसमा वार्ता तथा क्षेम कुसल र भावि जिन्दगीको समेत आदान–प्रदान गरे । सबैको सन्ताप गयो । त्यो सात स्वर्गभन्दा पनि सुन्दर र खुसी देखियो ।

भोलिपल्ट प्रातःकालमा त्यो सबै विलिन भयो । सबै मृतआत्माहरू स्वर्ग गए । यो देखेर सबै आश्चर्यचकित भए । व्यासजीले सबै विधवाहरूलाई यो तन त्यागेर पतिकोमा जान इच्छुकले खुसी साथ कुनै शंका नराखी यो भागिरथि नदीमा प्रवेश गरी जलसमाधिमा लीन भई देह त्यागेमा आ–आफ्ना पतिहरूसँग जान पाउनेछौ । व्यासजीको यो आज्ञा सुनेर सबै विधवा रानीहरू खुसी साथ गंगामा हाम फालेर यो देह त्यग गरे ।

तुरुन्तै स्वर्गबाट श्रेष्ठ विमान आयो र ती सबै स्वर्ग आ–आफ्ना पतिहरूसँग आनन्दका साथ बस्न गए । यसरी सबैलाई खुसी बनाएर व्यास मुनि आफ्ना आश्रममा फर्कनुभयो । पाण्डवहरू पनि पत्नी र शेष बधुहरूलाई लिई कुटीमा धृतराष्ट्र गानधारी कुन्तीहरूसँग सत्संग गर्न लागे । केही समयपछि धृतराष्ट्रले खुसी भएर आशीष दिँदै तिमीहरू अब यहाँ जंगलमा धरै दिन बस्दा चारैतर्फका शत्रुहरूले हमला गरी जनताहरूलाई दुःख दिन सक्दछन् ।

व्यास मुनिको शिक्षा पनि राजाहरूले जंगमा यसरी नबसी आफ्नो देशको सुरक्षा र जनताको उचित लालनपालन गर्नु पर्दछ भन्ने नै थियो । त्यसैले अब तिमीहरू सबै फर्केर जाओ भने । गान्धारी र कुन्तीले पनि रुँदै बिदा दिए । यो सुनेर सबै पाण्डवहरू तीनै जनालाई तीनपल्ट परिक्रमा गरी पाउमा दण्डवत गरी राजधानी हस्तिनापुर फर्किए ।

पाण्डवहरू अन्धा दम्पत्ति तथा कुन्तीलाई सम्झेर चित्त दुखाइ शासव सञ्चान गर्न लागे । केही दिनमा पाण्डवहरूलाई भेट्न नारद मुनि आउनुभयो । युधिष्ठिरले मुनिको यथोचित पूजा गरी उच्च आशनमा बसाली गान्धारी धृतराष्ट्र र कुन्तीको समाचार सोधे । नारदले चिन्ताग्रस्त पाण्डवहरूलाई देखि भन्न लागे ‘हे युधिष्ठिर ! केही समय पहिले संजय मलाई भेट्न कुटीमा आएका थिए । उनी चिन्ताग्रस्त थिए । संजय भन्दै थिए पाण्डवहरू भटेर गएपछि ती वृद्धवृद्धाहरू भोजन र कुटी समेत त्यागेर कठोर तप गर्न लागे ।

कठोर तप गर्न लागेको सात दिनपछि अकस्मात धृतराष्ट्रको मुखबाट अग्नि निस्कियो र जंगलमा डढेलो लाग्यो । त्यसमा पर्न गएर ती तीनै जनाको दुखद् मृत्यु भयो । यो भयावह स्थिति देखेर म त्यहाँ बस्न सकिन । अब म बद्रीमा गई नरनारायणको तपमा लीन हुन्छु’ भनि बद्रीतर्फ लागे ।’ भनि अन्धा दम्पत्ति तथा कुन्तीको मृत्युको समाचार नारद मुनिले सुनाइदिए । यो सञ्चार सुनेर पाण्डवहरू अत्यन्त दुःखी भए । सबै हितैषीहरू विलाप गर्न लागे । यो दुःखद् समाचार पुर (राज्य) भरि फैलियो ।

धृतराष्ट्रका गुणहरू सम्झेर सबै पुरवासीहरू विलाप गर्न लागे । युधिष्ठिरले ब्राह्मणहरू बोलाएर श्रद्धापूर्वक धृतराष्ट्र, गान्धारी र आमा कुन्तीको अन्त्यष्ठि किरिया गरिदिए । युधिष्ठिरले धर्म तीर्थहरूमा गई स्नान र पीण्ड दान गर्दा कुन्ति, गान्धारी र धृतराष्ट्र स्वर्ग गए । पुनः वीर पाण्डवहरू अघिकाझैँ योग्यरीते साम्राज्यको शासन गर्न लागे । रैतीहरू खुसी थिए । चारैतर्फ सत्कीर्ति बढ्दै थियो । यसरी शासन गर्दा छत्तीस वर्ष आनन्द साथ बित्यो ।