दाङ,२६ कार्तिक । गीतकार प्रकाशचन्द्र घिमिरेको आधुनिक गीति संग्रह ‘विविधता’को समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको नियमित कृति समिक्षा कार्यक्रम अन्तर्गत १८२ औँ श्रृङखलामा गीतकार घिमिरेको गीति संग्रहको विविधताको समिक्षा गरिएको हो ।
राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष दीपक शर्मा ‘समिर’को अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा गीति संग्रहको समिक्षा गरिएको थियो । त्यस अवसरमा वरिष्ठ गायक तथा संगीतकार डा गोविन्द आचार्यले गीतकार घिमिरेको गीति संग्रह विविधतामा समावेश ६ वटा गीतहरु मानवीय जीवनको आधारका रुपमा कृतिका माध्यमबाट आएको भन्दै उनले गम्भीर प्रकृतिका सरल सिर्जना रहेको बताए ।
उनले गीतमा शब्द तह, संगीत तह, स्वर तहका आफ्नै स्तर हुनेहुँदा गीतहरु राम्रो बन्न पुगेको धाराणा राखेका थिए । जन्मथलो दाङ भएपनि कर्मथलो काठमाडौँ बनाएका गीतकार घिमिरेको एल्बम विविधतामा शास्त्रीय संगीतमा आधारित ३ वटा र लोकलयमा ३ वटा गित समावेश छन् । संगीत पक्ष गम्भीर रहेका, भाव पक्ष राष्ट्र प्रेममा लिप्त भएको एल्बम नेपाली जनजीवनको सिंगो प्रतिबिम्बका रुपमा लिन सकिने समिक्षक डा आचार्यको भनाई थियो ।
गीतहरुले जल, जमिन, जंगलका जैविक प्रतिबिम्ब, हार्दिकता, प्रेमको पाटो उजागर गर्न सक्ने क्षमता गीतले राखेको बताए । ‘विदेशएकाहरुको बाध्यता र पीडा छ । जीवनचक्र छ । शान्ति सद्भाव, प्रेम र सदासयता गितमा छ’,उनले भने,‘त्यसैले विविधता प्रकृतिको सिंगो रुप छ ।’ गीतका हरेक शब्दले दिने अर्थमा मिठास मात्रै नभई गीतमा श्रुतिमधुरता कायम गर्न एल्बम सफल भएको उनको भनाई थियो ।
त्यसैगरी वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले कलामा विज्ञान छ रहेको हुँदा सर्जकका कृतिमा ज्ञान, विज्ञान र कलाका रुप शब्दका माध्यमबाट मुखरित हुने गरेको बताए । ‘कला र विज्ञान एक अर्काका परिपूरक भएको भन्दै उनले यसलाई अलग राखेर हेर्न नसकिने बताए । ‘कलाभित्रको विज्ञानमा भाव छ, माया छ, स्नेह छ’,उनले भने,‘मानवीय चेतनालाई जीवन जगतसँग गाँसेर कृति निर्माण गर्न सक्नु गीतकार घिमिरेको सबल पक्ष हो ।’
समिक्षा कार्यक्रममा वरिष्ठ कवि समालोचक डा अमर गिरी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपानेलगायतले गीति एल्बमका सबै गीतहरु शब्द, संगीतका दृष्टिले मात्रै नभई गेयात्मक रुपले पनि कोमल सरल, सरस बनेको बताएका थिए ।
कार्यक्रममा गीतकार सर्जक प्रकाशचन्द्र घिमिरे आफु विज्ञानको विद्यार्थी भएपनि ज्ञान विज्ञान र यसको आयामलाई बाल्यकालबाटै अनुशरण गरेको बताएका थिए । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।