हाम्रा चाडपर्वले दिने शिक्षा

युवराज शर्मा

नेपाल सानो मुलुक भए पनि यहाँ विविधतामा अनेकता पाइन्छ । विश्वमा राम्रो प्राकृतिक सुन्दरताले भरिपूर्ण भौगोलिक अवस्था छ भने मानव बस्तीहरले नेपाली सन्तान थरिथरिका देखाएको छ । पाश्चात्यकालदेखिको हाम्रा चाडपर्वहरुले थरिथरिका ज्ञान दिएका छन् । मान्छेहरुलाई ज्ञानी र गुणी बनाउने नै ज्ञान र सीप हो । शिक्षाबाट प्राप्त गर्न सकिन्छ ।

हुन त अहिले स्कूल, क्याम्पस र विश्वविद्यालयीय शिक्षालाइृ ज्ञानको आधार मान्छन् । तर त्यस्तो होयन । पहिलो शिक्षा अनुभवीय ज्ञानबाट सिकेको र बुझेको ज्ञान र सीपको विकासलाई मान्छन् । अनुसन्धानकर्ताहरु भन्छन् – ज्ञान र सीपको शिक्षा जान्नका लागि गाउँले जीवनमा आधारित विषयवस्तुतर्फ ध्यान दिनुपर्छ । जस्तै एउटा गोठालोलाई गाई चराउँदै गरेको जीवनशैलीलाई अध्ययन ग¥यौँ भने गाईको गुण र अवगुणहरुको ज्ञान त्यस गोठालामा हुन्छ । जसले गाईको प्रकृतिहरु र उसका चरित्रहरुलाई बुझेको छ ।

गाईले व्यक्त गर्ने पीडा र प्रशन्नता गाईको आवाजबाट थाहा पाउँछ । त्यस बारेमा जान्न र भन्न सक्छ । चेतना गाईमा कति हुन्छ ? बुझ्नसकेको छ । गाईको गोबर र मलमुत्रले जमिन उर्वर बनाउने विधि र प्रविधि जानेको छ । उसले सहजै प्रयोग गर्न सक्छ । त्यसैले होला गाईपूजा, गोबर्धन पूजा हिन्दू समाजले गर्दै आएको पाइन्छ, गरिरहेका छन् पनि ।

नेपालमा बहुलजातिहरुको बसोबास छ । हिन्दूहरुले दसैँ, तिहार, साउने संक्रान्ति, माघेसंक्रान्ति, तिज, ऋषिपञ्चमी, नागपञ्चमी पर्वहरु मनाउँछन् । तराईमा छठ पर्व मनाउँछन् । यस्ता पर्वहरु मनाउनेवर्गमध्ये महिलाहरुले धेरै मनाएको पाइन्छ । थारु जातिमा कृष्णजन्माष्टमी, माधी मनाउँछन् । मुश्लिमहरुले इद, बखरिद मनाउँछन् । नेवारहरुले म्हःपूजाको महत्व दर्शाएर मनाउँछन् । शेर्पा, गुरुङ, भोटे, तापमाङवर्गका जाजातिले ल्होसार पर्व मनाउँछन् ।

किराँतीहरु नेपालका पुराना जातजातिका हसन् । उनीहरुले पनि ल्होसार र आफ्नै परम्पराका पर्वहरु मनाउँछन् । हाम्रा जातजाति, वर्ग, लिङ्गका आधारमा मनाइने चाडपर्वहरुले अलग–अलग तौरतरिकाको ज्ञानात्मक शिक्षा व्यक्तिहरुमा बाँडेको अवस्था छ । सबैका पर्वहरुले दिने शिक्षा नै अहिंसा हो भने आपसमा मिलिजुली सुख–दुःख बाँडेर बस्नु हो । मानिस–मानिस बीचमा हुने द्वन्द्व र भएको वातावरणलाई शान्त पारेर बसुदैव कुटुम्बकमको नारामा रहनु नै अहिंसामुक्त समाजको परिकल्पना हो ।

यही शिक्षा शिवरात्रीका दिन पशुपतिनाथबाट प्राप्त हुन्छ । बुद्धले दिएको ज्ञान पनि अहिंसा परमोधर्म नै हो । कसैलाई हेला गर्नु, घृणा गर्नु, तिरस्कार गर्नु, सांस्कारिक गुण त्याग गर्नु, धर्म परिवर्तन गर्नु, मारकाट गर्नु, आपराधिक कार्यमा रहनु, ज्यानको हत्या गर्नुजस्ता कार्यहरुलाई हिंसा गरेको भनिन्छ । यस्ता कार्यहरु नेपालमा हुने गर्थे । तर २०५२ सालदेखि बढ्दै गयो । धेरैको जनधनको क्षति पनि भयो । अहिले पनि हिंसात्मक कामहरु रोकिएका छैनन् ।

राजनीतिक आडमा हिंसा बढिरहेको छ । २०६५ साल जेठ १५ गतेदेखि राज्य पनि संरक्षकविहीनको देखियो । राज्य चलाउनेवर्गमा राजनीतिक दलहरु भए । दलीय सिद्धान्त र नीतिहरु बिर्सेर अर्थोपार्जन नीतिहरु हरेक क्षेत्रमा बढ्दै गएको अवस्था छ । यसले नागरिकमा निराशा, भय र त्रासको वातावरण सिर्जना भएकोले उनीहरुले जीवन धान्न पनि समस्या छ । आफ्ना चाडपर्वहरुलाई राम्रोसँग मनाउन सकेनन् ।

त्यसमा पनि कोभिड–१९ भाइरसको बढ्दो रुपले धेरैको ज्यान गयो । धेरै आसोचमा परे । उनीहरुले आफ्ना चाडपर्वहरु २०७८ मा मनाउन पाएनन् । परिवारमा शान्ति छाएन । नेपाल सानो मुलुक भए पनि भौगोलिकताको विकटता, विभिन्न जातजातिहरुको बसोवास, थरि–थरिका चाडपर्वहरु मनाउने जनजीवन भएको भए पनि प्रकृतिले दिने सजायलाई नेपालीहरुले भोग्दै, सहँदै र सहजता अपनाउँदै आएका छन् । यो कार्यशैलीले नेपाली सहनशील र धैर्यवान् छन् भन्ने राम्रो उदाहरण दिएका छन् । २०७२ सालको भूकम्पको प्रहर भोगे ।

२०७६ सालको बाढी पहिरो भोगे । २०७७ सालदेखि हालसम्म पनि कोभिड–१९ भाइरसले सताइरहेको वातावरणमा छ । त्यसमा पनि राजनीतिक चढावले सतायो भने करको भार जनतालाई थोपरेर प्रशस्त पैसा उठाउने काम भयो । विकासका नाउमा व्यक्ति मोटाउने कार्यशैली अपनाइयो । यसबाट जनप्रतिनिधिहरु जनताप्रति जिम्मेवार बनेनन् । व्यक्तिगत स्वार्थमा रमाउने वातावरण बन्यो । जनतामा हिंसा बढ्यो । पर्वहरुमा गरेका पूजाआजाहरुले महत्व पाएनन् । सबै नागरिकमा निराशा बढ्यो ।

२०७८ सालको अधिक वर्षा र बेमौसमी वर्षाले बालीनाली सखाप बनायो । कतिपयको ज्यान गयो भने धेरै नागरिकको धनमाल बाढीले बगायो र पहिरोले धनजन लग्यो । नेपालीलाई कुनै पनि पर्वहरु मनाउन हर्षोल्लास भएन । सबै घरमा चिन्ता, निराशा, भय र त्रास मात्र बढिरह्यो । धेरै नागरिक बास, गास र स्वास्थ्यबाट विमुख भएका छन् । बाढीपहिरो क्षेत्रहरुमा झाडापखाला र सरुवा रोग बढ्दै छ । तर त्यसतर्फ हेलिकोप्टर मात्र घुम्यो । सुरक्षा, स्वास्थ्य र बासको व्यवस्था भएन । प्रधानमन्त्री र मन्त्रीहरुको भ्रमणले सार्थकता पाएन ।

नागरिकलाई आफ्ना चाडपर्वको रमाइलो घरघरमा प्रायः भएन । दिनानुदिन अर्थ व्यवस्था ओरालो लागिरह्यो । २०७२ सालदेखि भोग्दै आएका नागरिकले अझै पनि धेरैले बास नपाउनु हास्यास्प्रद भएको छ । कोभिड–१९ भाइरसको खोपहरु दातृ देशबाट आए पनि नागरिकलाई खोप लगाइदिन नसक्नु पनि पूर्व सरकारको कमजोरी देखियो । जब सरकार परिवर्तन भयो तब खोप नागरिकले पाए पनि भेदभाव नीति सरकरको भइरह्यो । अझै पनि पालिकाहरुमा नागरिकमध्ये लक्षितवर्गले खोप पाउन सकेका छैनन् । यो वर्तमान सरकारको नागरिकप्रति जिम्मेवार बन्नुपर्ने निर्देशनको अभाव देखियो । यसमा सुधार हुनुपर्छ ।

हाम्रा चाडपर्वहरुले दिएको शिक्षा पनि जिम्मेवार पदमा भएका व्यक्तिहरुले आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ठ बनेर काम गर भन्ने हो । जबसम्म जिम्मेवार व्यक्तिमा आत्मानुशासन र सामाजिक व्यवहारको पालन हुन्न तबसम्म विकास लक्षितवर्गमा पुग्दैन । सबै जातजातिका आ–आफ्ना चाडपर्वहरुले दिएको सन्देश नै कर्तव्यनिष्ठ बनेर इमानदारीका साथ पाएको जिम्मेवारीलाई राम्रोसँग कार्यसम्पादन गर्नुपर्छ ।

तर देशमा राजनीतिक दलहरुमा देखिएको अन्तरकलह, मतभेद, प्रतिशोधजस्ता भावनाहरुलाई त्यागेर सम्यमता, धीरता, सद्भावपूर्ण व्यवहार, आत्मसम्मानका कार्यहरुलाई प्रयोग गर्ने गरेमा सच्चा राष्ट्र र राष्ट्रियताको अगुवाई गर्न सकिनेछ । अन्यथा धेरै दलका नेताहरुले आफूलाई स्वार्थी, विश्वासघाती, द्वन्द्व चर्काउने, घृणा गर्ने व्यक्तिका रुपमा जनतालाई देखाएर काम पनि आफ्नो हितमा गर्ने गरेमा जनताबाट चाँडै टाढिने छन् भन्ने सन्देशको शिक्षा दुर्गामाताले दिएको पाइन्छ ।

त्यस्तै महिलाहरुलाई सचेत भएर जागृत बन भन्ने शक्ति छटिमाताले दिएको शिक्षा हो । त्यसैले महिला सशक्तिकरणका कार्यक्रमहरु दलहरुले ल्याए पनि सामाजिक व्यवहार देखाएको दलका नेतृत्ववर्गमा अगुवाहरुमा पाइन्न । हाम्रा चाडपर्वहरुले हामीलाई शिक्षा दिँदै आएका छन् । तर, हामीमा पाएको शिक्षालाई ग्रहण गरेर प्रयोगमा ल्याउने वातावरण बनेन । कुनै पनि कामलाई सम्पादन गर्न शिक्षाबाट प्राप्त हुने ज्ञान नै हो ।

पर्वहरु सकिएका छन् । यिनीहरुको पूजाआजा सकेर बिदा गरियो । काममा अग्रसर हुनुपर्ने घरदेखि राज्य सञ्चालकवर्गको काँधमा जिम्मेवारी थपियो । यसलाई बिसाउने समय नै असार मसान्त हो । त्यसैले होला असारलाई आर्थिक वर्षको बिट मार्ने समय पनि भन्छन् । राज्य सञ्चालकहरुको जिम्मेवारी र कार्यप्रगति हेर्ने समय पनि हो । किसानहरु खेतीपातीमा जुट्छन् भने राज्य सञ्चालकहरुले हिसाबकिताब मिलाउन जुट्छन् ।

दलीय नेताहरु र उनका अगुवाहरुले हाम्रा चाडपर्वबाट पाएको शिक्षाले बटुल्न सकेको ज्ञानलाई लेखाजोखा गरेर अर्को वर्ष आउने चाडपर्वहरुमा आत्मानुशासन देखाउँदै नयाँ–नयाँ आशीर्वाद माग्ने पर्खाइमा हुन्छन् । नागरिकले आफ्ना समस्याहरुको भोगाइमा छटपटाइरहन्छन् । भन्छन्– पशुपतिनाथले हामी सबैको रक्षा गरुन् । यो नै जनताले पाएको शिक्षा हो ।