पर्यटकको आकर्षण बन्दै राप्ती शान्ति उद्यान

बालाराम खड्का
तुलसीपुर, २५ कार्तिक । शान्ति उद्यानप्रति पर्यटकको अकर्षण बढ्दै गएको छ । करिब १८ बर्ष पहिले शान्तिको कामना गर्दै श्री गणेश सामुदायिक वनमा स्थापना गरिएको राप्ती शान्ति उद्यानमा जाने जो–कोही पनि अहिले मनोरम दृश्यसँगै रमाउने गरेका छन् । तुलसीपुर–७ गणेशपुरमा रहेको शान्ति उद्यान (गणेशपुर पार्क) को मुहार फेरिएसँगै आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । उद्यानभित्र छिर्नेवित्तिकै जो–कोही पनि रमाउने र आफूलाई शान्त महसुस गर्ने गर्दछ ।

कुनै बेला पिकनिक स्पोर्ट र साना–साना टहराले भरिएको शान्ति उद्यान अहिले मनोरम दृश्यले भरिभराउ भएको छ । गेटबाटभित्र नपुग्दै देखिने शान्तिका दूत गौतम बुद्धको मूर्ति रहेको छ भने वरपरको रमणीय दृश्यले शान्तिको अनुभूति दिलाउने गरेको छ । पहिलो पटक उद्यानमा जाने जो–कोही पनि त्यहाँको मनोरम दृश्यले आकर्षित हुने गरेको छ । हालै निर्माण भएको बाटर फाउन्टेनले झनै उद्यानको शौन्दर्यता बढाउनुका साथै मनमोहक बनाएको छ ।

शान्ति उद्यानमा अहिले बालबालिकादेखि युवा, वृद्धवृद्धाहरुसमेत रमाउने गरेका छन् । त्यसका साथै उद्यानमा सुन्दरीको मूर्तिले पनि थप आकर्षण थपेको छ । त्यस्तै बालबालिकाहरु बाल मनोरञ्जन चिल्ड्रेन पार्कमा रमाउने गरेका छन् भने युवायुवतीहरु वाटर फाउन्टेन अर्थात पानीको फोहरामा सेल्फीदेखि टिकटक बनाउनमा व्यस्त हुने गरेका छन् । त्यसका साथसाथै पार्कभित्र रहेको मिनी–जूमा जंगली जनावर र पंछीसँग पनि पर्यटकहरु रमाउने गरेका छन् ।

हाल दैनिक शान्ति पार्कमा आउने आन्तरिक पर्यटकहरु शान्ति उद्यानमा रमाउने गरेका छन् । ‘शान्ति उद्यानको अहिले मुहार फेरिएको रहेछ, यो मनमोहक दृश्यले हामी सबैलाई लोभ्यायो’, आन्तरिक पर्यटक सुदन वलीले भने । उनले अन्य साथीभाइले सामाजिक सञ्जालमा हालेको फोटो हेरेर तिहार सकिएलगतै शान्ति उद्यान अवलोकन गर्न आएको बताए ।

त्यस्तै स्थानीय माया जैसीले पनि पहिलेको शान्ति उद्यान र अहिलेको शान्ति उद्यानमा धेरै फरक रहेको बताइन् । उनले दिनभर आफूहरु मनोरञ्जन गरेको बताइन् । आफूलगायत छोरा छोरीहरुले पनि रमाइलो गरेको बताइन् । त्यस्तै भालुवाङ्गबाट शान्ति उद्यान अवलोकनमा आएका स्थानीयहरुले पनि दाङको पहिचानको रुपमा शान्ति पार्क रहेको बताए ।

‘शान्ति उद्यानको नाम सुनिएको थियो आज आफैले यसको दृश्यावलोकन गर्न पायौँ यो दाङको पहिचान हो’, कमल वुढाथोकीले भने । उनले अहिले पार्कको रौनकै फेरिएको बताए । त्यस्तै सधै सहरको कोलाहलमा बस्नेलाई शान्ति पार्कले आनन्द र शान्त बनाएको अर्का पर्यटक थमन वलीले बताए । ‘पहिले झारी र सानातिना टहरा थिए अहिले मनोरम रहेछ’, उनले भने ।

अहिले शान्ति उद्यानमा वन भोज खानेहरुलाई छुट्टै स्थानमा सारिकाले पनि शान्ति उद्यानभित्र अन्य कोलाहल कम भएको र उद्यानभित्र शान्त र मनोरम दृश्यले मानिसको मन शान्त हुने गरेको छ । ‘त्यो परिकल्पना अहिले साकार भएको छ, अब यसलाई सबै मिलेर नमुनायोग्य बनाउनुपर्छ’, राजनीतिज्ञ भरत भण्डारीले भने । उनले विस्तारै शान्ति उद्यानको विकास र विस्तार हुँदै गएको भन्दै मनमोहक उद्यान आफूहरुको परिकल्पना भएको बताउँछन् ।

त्यस्तै पार्कका संस्थापक उपाध्यक्ष कृष्णकुमार गिरीले त्यतिबेला शान्तिको नाममा खोलेको राप्ती शान्ति उद्यानको विकासले गति लिएको बताए । ‘हामीहरुले परिकल्पना गरेको उद्यानको विकास विस्तार भइरहेको छ, अब यसलाई नमुनायोग्य बनाउनतर्फ सबै लाग्नुपर्छ’, उनले भने । हाल शान्ति उद्यानमा करिब दैनिक एक हजार बढी पर्यटकहरु आउने गरेको शान्ति उद्यानका अध्यक्ष डिल्लीबहादुर भण्डारीले बताए ।

‘विदाको दिन थामी नसक्नु भीड हुन्छ, सबैको साथ र सहयोगले अहिले मनोरम र सबैको रोजाइँमा पार्क परेको छ’, अध्यक्ष भण्डारीले भने । उनले शान्ति उद्यानमा रमाइलो र मनोरञ्जन मात्र नभएर यहाँ बोटानिकल गार्डेन निर्माण सुरु गरेर सिक्ने र सिकाउने थलो बनाउन लागेको बताए । उनले विभिन्न १ सय ३५ प्रजातिका वनस्पतिका विरुवाहरु रोप्ने र यहाँ वन विज्ञान पढ्ने विद्यार्थीहरुको सिक्ने थलो बताउने बताए ।