दाङ, २५ कार्तिक । दाङसहित देशभर आजदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । जिल्ला तथ्यांक कार्यालय दाङका अनुसार जिल्लामा मात्र ८ सय ४ जना गणक परिचालन गरिएको छ । गणकले प्रतिघर २ सय ५० देखि ३ सय परिवारको तथ्यांक संकलन गर्नुपर्ने छ ।
भूगोलको बनोटको आधारमा कुनै ठाउँमा प्रतिगणक १ सयदेखि १ सय ५० सम्म घर परेका छन् । ‘आजदेखि गणना लिने काम सुरु हुन्छ’, तथ्यांक कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले भने– ‘त्यो अनुसार सबै गणक आफ्नो ठाउँमा गणना लिन खटिएका छन् ।’ कार्यालयले उनीहरुलाई चार दिनको प्रशिक्षणसमेत दिएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार संघमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ ।
राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा आजदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ ।
राष्ट्रिय जनगणनाबाट कृषि क्षेत्रको विवरण, बैंकमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण आउनेछ । यस वर्षको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ । यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण भएको थियो । देश संघीय संरचनामा गइसकेपछि हुन लागेको पहिलो जनगणना भएको हुनाले पनि यो विगतका जनगणनाभन्दा फरक हुने विश्वास लिइएको छ ।
शिक्षकको सट्टा विद्यार्थी
विगतका जनगणनामा शिक्षकलाई खटाउने गरिन्थ्यो तर, यस पटक भने दश जोड दुईका विद्यार्र्थीलाई गणकका रुपमा खटाइएको छ । यस पटक शिक्षकलाई सुपरिवेक्षकको रुपमा खटाइएको छ । युवालाई अस्थायी रोजगार हुन्छ भनेर पनि विभागले यसपटक गणकका लागि युवा छनोट गरेको हो ।
घरको विस्तृत विवरण
जनगणनामा यस पटक घरको विस्तृत विवरण सङ्कलन गरिनेछ । अर्थात अब घर कति तलाको, छाना कस्तो तथा कुन प्रयोजनको लागि हो त्यसको समेत विवरण सङ्कलन गरिनेछ । घरको जग केले बनेको, घरको बाहिरी गारो कस्तो खालको हो, घरको भुइँ कस्तो खालको हो समेत जनगणनामा समावेश गरिएको छ ।
घर केवल बसोबासका लागि मात्र हो वा कुनै व्यापारिक प्रयोजनको लागि त्यसको विवरण समेत यस पटक उल्लेख गरिनेछ । सरकारी अनुदानमा निर्माण भएका घरको समेत विवरण सङ्कलन गरिँदैछ । त्यसका कारण भूकम्पपछि सरकारी अनुदान लिएर निर्माण भएका घरको समेत तथ्य विवरण प्राप्त हुनेछ । यसबाट भूकम्पपछि कति घर निर्माण हुनुपर्ने हो र त्यसमा कति घर निर्माण भएलगायतका विवरण आउनेछ ।
आर्थिक विवरण
यस पटक आर्थिक विवरणसमेत आउने गरी प्रश्नावली तयार गरिएको छ । जसमा व्यक्तिहरुले बैंक खाता खोलेको वा नखोलेको तथा परिवारका सदस्यले बैंकबाट ऋण लिए नलिएको विवरण समेत आउने गरी प्रश्नावली तयार गरिएको छ ।
प्राविधिक शिक्षाको विवरण
यस पटकको जनगणनामा प्राविधिक शिक्षाको बारेमा समेत विवरण सङ्कलन गरिनेछ । कस्ता कस्ता प्राविधिक योग्यता तथा दक्षता भएका प्राविधिक जनशक्ति भन्ने कुराको जानकारी पनि यस पटकको जनगणनाले दिनेछ । यसबाट देशमा कस्ता किसिमका प्राविधिक जनशक्ति रहेछन् र उनीहरु के गर्दै रहेछन् भन्ने कुराको पनि तथ्याङ्क आउनेछ ।
जन्मदर्ताको यथार्थ विवरण
विगतका जनगणनामा जन्मदर्ताको विवरण सङ्कलन गर्ने गरिँदैनथ्यो । तर, यस पटक भने कति परिवारले कति बच्चाको जन्मदर्ता गरेका रहेछन्, त्यसको समेत लगत सङ्कलन गरिनेछ । यसले गर्दा जन्म दर्ताको अवस्था कस्तो रहेछ बुझ्न समेत मद्दत गर्छ । साथै यसपटक अपाङ्गता सम्बन्धी विवरण पनि पूर्ण रुपमा आउनेछ । कस्तो किसिमको अपाङ्गता भएको हो, शारीरिक अपाङ्गता, बहिरोपन सुस्तश्रवण, पूर्ण दृष्टिविहीन, अनुवंशीय रक्तश्राव, अटिजम, बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बहुअपाङ्गता आदिका बारेमा पूर्ण जानकारी पनि यस पटक प्राप्त हुनेछ ।
मृत्युदरका बारेमा जानकारी
परिवारमा कसैको मृत्यु भएमा उसको सम्पूर्ण विवरण पनि यसपटक सङ्कलन गरिने भएको छ । मृत्यु भएको व्यक्तिको लिङ्ग, उमेर, कारण समेत खुलाउनुपर्नेछ । त्यस्तै १५ देखि ४९ वर्षको महिलाको मृत्यु भएमा मृत्यु हुँदा कस्तो अवस्था थियो त्यो पनि खुलाउनु पर्नेछ । मृतक महिला, गर्भवती, प्रसूति, सुत्केरी आदि विवरण पनि खुलाउनु पर्नेछ ।
यदि सुत्केरी भए बच्चा जन्मेको कति हप्ता हो त्यसको विवरण पनि उल्लेख गर्नुपर्नेछ । मृत्युदरका साथै जन्मका बारेमा पनि यस पटकको जनगणनामा विवरण आउनेछ । कति जना जीवित बच्चालाई जन्म दिइन् तथा जीवित जन्मेका मध्ये कतिको मृत्यु भयो भन्ने बारेमा पनि खुलाउनु पर्नेछ । यसबाट देशमा भएको मातृ मृत्युदरका बारेमा यथार्थ विवरण समेत आउनेछ ।
भाषागत विवरण
विगतका जनगणनामा व्यक्तिको मातृभाषा र चलनचल्तीको भाषाको विवरण मात्र समावेश गरिन्थ्यो । यस पटक भने लोपोन्मुख मौलिक भाषालाई जोगाउने उद्देश्यले पनि पुर्खाले के भाषा बोल्थे भन्ने बारेमा समेत प्रश्न सोधिने छ । पुर्खाले बोल्ने गरेको भाषा, मातृ भाषा तथा दोस्रो भाषाको बारेमा पनि यस पटकको जनगणनामा प्रश्नावली समावेश गरिएको छ । जसबाट कुन कुन भाषा लोपोन्मुख छन् त्यसको विवरण प्राप्त भएपछि त्यसलाई संरक्षण तथा सम्वद्र्धन गर्न पनि मद्दत पुग्नेछ ।
विदेश गएका व्यक्तिको तथ्यांक
यस पटक विभागले विदेश गएका व्यक्तिको बारेमा पनि विवरण सङ्कलन गर्ने गरी प्रश्न तयार गरेको छ । परिवारबाट कोही विदेश गएका कारण अनुपस्थित हो भने त्यस व्यक्तिको नाम, थर, लिङ्ग, विदेश जाँदाको उमेर तथा के कारणले विदेश गएको हो त्यो पनि खुलाउनु पर्नेछ । साथै विदेश कहाँ गएको हो त्यो देशको नाम समेत जनगणनामा उल्लेख गर्नुपर्नेछ ।
वडा तहको जानकारी
यस पटक पहिलो पटक जनगणनामा वडाको सबै जानकारी समेत सङ्कलन गर्न लागिएको छ । यसअघिका जनगणनामा व्यक्तिगत विवरणहरु मात्र सङ्कलन गर्ने गरिन्थ्यो । यसपटक वडाको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधारका बारेमा समेत लगत सङ्कलन गरिनेछ । साथै त्यस क्षेत्रमा रहेका बाढी, पहिरो, नदी कटान, भूक्षय जस्ता प्राकृतिक प्रकोपको अवस्थाको बारेमा पनि जानकारी सङ्कलन गरिनेछ ।
तुलनात्मक अध्ययन
यस पटकको जनगणनामा वडाबाट समेत घर परिवारको जाति, धर्म, लिङ्गबारे पनि तथ्याङ्क सङ्कलन गरिने छ । जसबाट जनगणनाका बेला परिवारले उपलब्ध गराएको विवरण र वडाले दिएको विवरणमा के कस्तो अन्तर छ, त्यसको तुलनात्मक अध्ययन गरी तथ्याङ्कलाई अझ विश्वस्त तथा भरपर्दो बनाउने विश्वास पनि विभागले लिएको छ ।
सबै परिवारलाई सबै प्रश्न
विगतका जनगणनामा एउटा प्रश्नावली सबै परिवारमा सोधिन्थ्यो भने अर्को प्रश्नावली भने छनोट भएका नमुना परिवारमा मात्र सोध्ने गरिन्थ्यो । तर, यसपटक भने सबै प्रश्न सबै परिवारलाई सोध्ने गरी ८० वटा प्रश्न तयार गरिएको छ ।
ग्याजेटको प्रयोग
विगतका जनगणनामा हातैले विवरण भर्ने गरिन्थ्यो भने यस पटक ट्याबलेटको प्रयोग गरिने भएको छ । तर, ट्याबलेटको प्रयोग भने सबै जिल्लामा नभएर काठमाण्डौमा मात्र गरिने विभागले जानकारी दिएको छ । सबै जिल्लाका लागि ५० हजार ट्याबलेट आवश्यक पर्ने भएकोले अहिलेलाई काठमाण्डौमा मात्र प्रयोग गर्न लागिएको हो ।
हरेक १०÷१० वर्षमा जनगणना गर्ने गरिन्छ । यसअघि २०६८ सालमा जनगणना गरिएको थियो । नेपालमा पहिलो जनगणना राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा १९६८ सालमा थालनी भएको थियो । नेपालमा पहिलो आधुनिक जनगणना भने २००९ तथा २०११ सालमा सम्पन्न भएको थियो ।
यस पटकको जनगणनामा घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । जनगणनामा सामान्यतया ‘डिफ्याक्टो विधि’ तथा ‘डि जुरे विधि’अपनाउने गरिन्छ ।
निश्चित अवधिमा गरिने गणनाको समयमा कुनै व्यक्तिलाई बसोबास गरेकै ठाउँबाट गणना गर्ने विधिलाई ‘डिफ्याक्टो विधि’ भनिन्छ भने बसोबासको कानुनी आधार जहाँ हुन्छ, उसलाई त्यहीँबाट गणना गर्ने विधिलाई ‘डि जुरे विधि’भनिन्छ । नेपालमा भने जनगणनाका लागि सामान्यतया व्यक्तिको बसोबास गर्ने ठाउँका आधारमा गणना गर्ने प्रचलन रहेको ‘मोडिफाइड डि जुरे विधि’ अपनाउने गरिएको छ ।