बढ्दो सडक दुर्घटना र रोकथामका उपायहरू

भूवन पोख्रेल

नेपालमा सडक दुर्घटनामा लाग्न सकेको छैन ब्रेक । किनभने सडक दुर्घटनाका दर्जनौा प्रतिवेदन दराजमा थन्किएका छन् । सडक दुर्घटना भोग्नु नेपालीको नियति नै बन्न पुगेको छ । दसैँ–तिहारजस्ता ठूला पर्वको मुखमा गम्भीर प्रकृतिका दुर्घटना घट्ने गर्दछन् । यस्ता घटनालाई सामान्य भन्न पक्कै सकिँदैन ।

जसले मुलुकलाई शोकमा डुबाउँछन् र देशबासीलाई स्तब्ध बनाउँछन् । नेपालमा एकपछि अर्को गम्भीर प्रकृतिका दुर्घटना हुनुलाई पक्कै असामान्य मान्नु पर्छ । अधिकांश ठूला दुर्घटना सार्वजनिक यातायात सम्बद्ध छन् । यसले मुलुकमा यातायात कति जोखिमपूर्ण छ भन्ने छर्लङ्ग हुन्छ । दुर्घटना दिनहुँजसो भइरहेको हुनाले देख्ने सुन्नेलाई सामान्य घटना लाग्नसक्छ तर सवारी दुर्घटनाको कारण भोग्नुपरेको पारिवारिक सदस्यको क्षति अपूरणीय हुन्छ ।

सरकारका लागि दुर्घटनामा मृत्यु हुने व्यक्ति संख्या केवल तथ्यांक हो भने भोग्नुपर्नेका लागि दुखान्त वियोगको पीडा हो, जो बारम्बार बल्झिरहन्छ । नेपालमा सवारी दुर्घटनाका कारण वर्षेनी ठूलो संख्यामा नागरिकले जीवन गुमाउनु पर्दा पनि सरकारले यसलाई न्यूनीकरण गर्ने सार्थक प्रयास थालेको देखिँदैन । कुनै गन्तव्यतर्फ अघि बढेका यात्रुले अनाहकमा ज्यान गुमाउनु, अङ्गभङ्ग भएर बाँचनुपरेका नागरिकको संख्या सरकारको लागि केवल तथ्यांक मात्र बन्न पुगेको छ ।

चिन्ताको विषय किन बन्न सकेन ? यदि सरकारले यसलाई गम्भीर रुपमा लिन्थ्यो भने किन उही प्रकृतिका सडकका उस्तै–उस्तै कारणले दिनहुँ जस्तो कहालिलाग्दा दुर्घटना दोहोरिन्छन् । सरकार संवेदनशील बन्न सकेको भए सडक दुर्घटना कम गर्न ठोस कदम चलिसकेको हुन्थ्यो र यसको परिणाम वर्षेनी सडक दुर्घटनाको संख्या बढ्नुको साटो घटेको हुन्थ्यो । सडक दुर्घटनाको यो विकराल अवस्थाले सरकारमा बसेकाहरुलाई खासै छोएको देखिँदैन ।

जिम्मेवार तहमा बस्नेहरुमा यो संवेदना हुनै पर्छ । सडक दुर्घटना भइरहेका कहालिलाग्दो दुखान्तहरुले सम्बन्धित परिवारलाई मात्र होइन, शासकहरुलाई पनि दुख्नुपर्छ । हालैका दिनहरुमा कैयौँ कहालिलाग्दा दुर्घटना भएका छन् । जसबाट सरकार झकझकिनुपर्छ । सडक सुरक्षाको सवाल कुनै ठूलो दुर्घटना भएपछि सामान्य चर्चाको विषय बन्ने र पछि त्यसै सेलाउने हुनु हुँदैन । यसबारे व्यवस्थित कार्य योजना बनाएर त्यसको यथोचित कार्यान्वयन गर्न सरकारले अब ढिलाइ गर्नु हुँदैन । यो विषय सरकारको दैनिक प्राथमिक कार्यसूची पर्नुपर्छ ।

हामीकहाँ सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या हरेक वर्ष विभिन्न प्रकोपबाट मृत्यु हुनेकोभन्दा बढी छ । चिकित्सकीय अध्ययनअनुसार मानिसको मृत्यु गराउन भनी सूचिकृत करिब ३ सय कारकहरुमध्ये सडक दुर्घटना समग्र विश्वजनसंख्याको मृत्युको आठौँ कारक हो भने नेपालमा नवौँ । युवा उमेर समूहमा सडक दुर्घटना मृत्युको पहिलो कराक हो । अझ सडक दुर्घटनाका कारणले हुने, मृत्यु, अङ्गभङ्ग भएका व्यक्तिहरु भौतिक क्षतिका साथै, भावनात्मक सामाजिक, आर्थिक समस्या हाम्रो अनुमानभन्दा धेरै परको विषय हो ।

नेपालमा दुर्घटनामा परी मृत्यु हुनेहरुको उमेरलाई विश्लेषण गर्दा औषत बाँच्ने उमेरको ४० वर्ष अघि नै युवाहरुले ज्यान गुमाउनु परेको छ । घरपरिवार, समाज र देशका लागि यो अपूरणीय क्षति हो । यसले देशको विकासमा दूरगामी असर पार्छ । नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । मादक पदार्थको सेवन गरी सवारी साधन चलाउँदा गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । नेपालको सडक दुर्घटना हुने प्रमुख कारणमा सडकको अवस्था हो भने अर्को प्रमुख कारण सवारी साधनको अवस्था र चालकका अवस्था पनि मुख्य कारण हुन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्न सक्छन् ।

सवारी दुर्घटना कम गर्न कुनै एक पक्ष मात्र लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोगको आवश्यकता पर्दछ । नेपालमा दुर्घटना हुने मुख्य कारण सडक, साधन र चालक हुन् । यी तीन पक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यी तीन पक्षमा ध्यान दिई उचित कदम चाल्न सकेको खण्डमा दुर्घटना कम गर्न सकिन्छ । अन्यथा जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।

चालकको लापरवाही क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाका मुख्य कारण भएको विज्ञले बताएका छन् । सडक दुर्घटनाका कारण नेपालमा वर्षेनी औषतमा दुई हजारभन्दा बढीले ज्यान गुमाउने भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरुको आरोप छ । नक्कली पार्टपुर्जा जस्ता यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना भएको पाइन्छ ।

सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारी साधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको हो । चालकले मोवाइल प्रयोग गर्दा पनि दुर्घटनाको जोखिम बढ्छ । साधनको प्राविधिक समस्याका साथै मानवीय त्रुटिका कारण पनि गम्भीर प्रकृतिका दुर्घटना दोहोरिन्छन् । सडक सुरक्षा एउटा सामाजिक क्षेत्र विकास र जनस्वास्थ्यसँग सम्बद्ध मुद्दा हो तर यसले आवश्यक ध्यानाकर्षण पाएको छैन, नेपालमा । धेरै मानिसको मृत्यु भएका घटनाले मात्र प्रायः व्यापक ध्यान पाउने गरेका छन् ।

सडक दुर्घटनाका पीडित उनीहरुका परिवारजन र समाजले भोग्नुपरेको पीडा र आफन्त गुमाउनु परेको मनोवैज्ञानिक असर अझै कहालिलाग्दो छ । यसका अतिरिक्त सडक दुर्घटनाका कारण अकालमै ज्यान गुमाउने परिवारलाई राहत, घाइतेको उपचार, हेरचाह, पुनर्वासमा ठूलो लागत लाग्ने भएकाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै आर्थिक भार पर्न जान्छ । सडक दुर्घटनालाई प्रमुख मुद्दा बनाइ भविष्यमा यस्ता घटना हुन नदिन अहिले पनि सरकार र सरोकारवाला पक्षको ध्यान पुगेको देखिँदैन ।

सडक सुरक्षा सम्बन्धमा भएका थुप्रै अध्ययनले सडकमा हुने घटनाका कारण पत्ता लगाएका छन् । त्यस्ता घटनालाई समाधान गर्न सकिने कारण पनि उल्लेख गरेका छन् । सडक दुर्घटनाका केही मुख्य कारणहरुमा चालकको व्यवहार, असुरक्षित सवारी साधन, सडकको अवस्था, सडक प्रयोगकर्ताको व्यवहार, ट्राफिक नियमको उल्लङ्घन तथा तीव्र गति, अनुचित ओभरटेक, मादक पदार्थ सेवन, लागूऔषध तथा मादक पदार्थ सेवन, सवारी साधन चलाउँदा मोवाइलको प्रयोग आदि मुख्य कारण हुन् । त्यस्तै साइकलयात्री र पैदलयात्रीको व्यवहारका कारण पनि दुर्घटना हुने गरेका छन् । सिटबेल्ट र हेलमेट प्रयोग नगर्दा दुर्घटनाको क्षति बढी हुने गरेको छ ।

सडक दुर्घटना रोकथामका उपायहरुमा जनचेतना जगाउन जरुरी छ । मापसे जाँचमा कडाइ गर्न ट्राफिक प्रहरीले कारवाहीका साथै सचेतना अभियानलाई अघि सार्नुपर्छ । बलियो कानुनको साथै सवारी साधनको सुरक्षा मापदण्ड पनि महत्वपूर्ण छ । सुरक्षित सडक हुनु जरुरी छ । नेपालमा दुर्घटनामा घाइते भएका थोरैले मात्रै घटनास्थलमा बेलैमा प्राथमिक उपचार पाउने गर्दछन् । कमै मात्र घाइते एम्बुलेन्सद्वारा तुरुन्तै स्वास्थ्य संस्थामा लगिन्छन् । यस्तो स्थितिमा गम्भीर घाइतेको घटना स्थलमै वा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु हुनसक्छ ।

सवारी चालक, ट्राफिक प्रहरी विद्यार्थी, दुर्घटना बढी हुने क्षेत्रका स्थानीय जनतालाई आधारभूत प्राथमिक उपचार र आकस्मिक उद्धारसम्बन्धी तालिम प्रदान गर्न उपयोगी हुनेछ । सडक यातायात नेपालीको अपरिहार्य माध्यम हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको खासै विस्तार नभएको र हवाइमार्ग अधिकांश नेपालीको क्षमता र पहुँच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो र अनिवार्य यात्राको माध्यम रहिआएको छ तर दिन प्रतिदिन सडक यातायात असुरक्षित बन्दै गइरहेको छ । सडक दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

दुर्घटनामा निर्दोष नागरिकले अकालमा मृत्यु वरण गर्नुपरेको छ । कति अपाङ्ग भएर बाँच्न वाध्य छन् । धनको क्षति त्यत्तिकै छ । मानिसको जीवन अमूल्य छ, यसको रक्षा गर्नु अपरिहार्य छ । यो अमूल्य जीवनलाई अरुको हेलचक्र्याइ वा गल्तीको कारणले गुमाउनु राम्रो होइन । दुर्घटना न्यूनीकरण गर्ने उपायहरुमा यात्रु सचेतना कार्यक्रम, दक्ष चालक तथा लामो दूरीमा दुई जना चालकको व्यवस्था ।

सडकमा सिण्डीकेटको एकाधिकारलाई खारेज गरेर खुल्ला प्रतिस्पर्धामा सुविधाजनक रुपमा गाडी सञ्चालन गर्ने । दुर्घटना छानविन समितिले दिइएको सुझावलाई लागू गर्ने । गाडीमा क्षमताभन्दा बढी यात्री वा सामान नराख्ने । ट्राफिक र गाडी समितिबाट निरन्तर अनुगमन । चालक र सहचालकलाई छुट्टै पोशाकको व्यवस्था, गाडीभित्र डस्टविन, फोहर तथा बान्ता नियन्त्रण गर्नका लागि कन्टेनरको व्यवस्था गर्नुपर्छ ।

हरेक आविष्कारले विकास र विनाश सँगै बोकेर ल्याएको हुन्छ । शर्त हामीले त्यसलाई कति विवेकपूर्ण रुपमा प्रयोग गर्छौँ, भन्ने हो । हामी सडक र सवारी साधन प्रविधिको प्रयोग गर्न हतारिएका छौँ तर यससँग राम्ररी सामञ्जस्यता कायम गर्न सकिरहेका छैनौँ । यस्ता दुर्घटनाप्रति शासकहरुले दुःख व्यक्त गर्ने गरेको भविष्यमा यस्ता दुःखद् घटना रोक्न सरोकारवालालाई ध्यानाकर्षण गर्ने गरेको पाइन्छ ।

तथापि, यस्ता खालका सडक दुर्घटनासम्बन्धी चासो र प्रभाव समयसँगै विस्तारै हराउँदै जान्छन् र अर्को डरलाग्दो सडक दुर्घटना नभएसम्म ती विषयले खासै ध्यान पाउँदैनन् । विश्वस्वास्थ्य संगठनको हालै प्रकाशित विवरणले नेपालमा सडक दुर्घटनाबाट प्रतिदिन औषतमा १३ जनाको मृत्यु हुने र धेरै जना घाइते हुने गरेको निष्कर्ष निकालेको छ । यद्यपि, सडक दुर्घटनालाई प्रमुख मुद्दा बनाइ भविष्यमा यस्ता घटना हुन नदिन अहिले पनि सरकार र सरोकारवाला पक्षको ध्यान पुगेको देखिएन ।

दुर्घटना छानविन, प्रतिवेदन र सुझाव कागजमै सीमित छन् । बिग्रिएको सवारीलाई चालकले जबर्जस्ती र तीव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको पाइन्छ । मोड नै नपुग्ने सडकमा पनि चालकले तीव्र गतिमा चलाएका कारण विभिन्न ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन भएको भए यति ठूला दुर्घटना नहुनसक्थ्यो । सडक दुर्घटनाका दर्जनौँ प्रतिवेदन दराजमा थन्किएर कार्यान्वयन नहुँदा यात्रु बस दिनहुँजसो दुर्घटनामा परिरहेका छन् ।

दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे विभिन्न जाँचबुझ प्रतिवेदनमा विस्तृत उल्लेख गरिए पनि त्यस अनुसार सुधारका कामहरु हुनसकेका छैनन् । जसले सडक दुर्घटनामा कमी आएको छैन । दुर्घटना न्यूनीकरण अभियान र ट्राफिक सचेतनाका कार्यक्रमहरु पनि चलाइएका छन् तर आशातीत उपलब्धि देखिनसकेको छैन । तीव्र गति, साँघुरो सडक र चालक सडकमा केन्द्रित नहुनुलाई दुर्घटनाको मुख्य कारण मानिएको छ ।

सडक फराकिलो बनाउन सडकका खाल्डाखुल्डी पर्नु, सडक किनारमा बलियो बार तथा पिलर राख्नु, पहाडी क्षेत्रमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न सवारीधनीले ध्यान दिने, ट्राफिक प्रहरीले नियमित अनुगमन गरी बसेको सिट र भारवहन क्षमता नियन्त्रण गर्न र चालकलाई बेलाबेला प्रशिक्षणको व्यवस्था गर्न प्रतिवेदनमा सुझाएको छ ।

प्रतिवेदनमा सुझावका रुपमा वनभोज, शैक्षिक भ्रमण तथा समूहगत रुपमा रिजर्भमा जाने सवारी साधनको विशेष जाँच गर्नुपर्ने, सडकको अवस्थाबारे जानकारी दिन सूचना–पाटी राख्नुपर्ने, स्थानीयबासीले समेत सडक मर्मत सम्भारमा ध्यान दिनुपर्ने तथा तुलसीपुरदेखि कपुरकोट सडक खण्डमा चल्ने सवारी साधनलाई टाइम–कार्डको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

अध्ययन टोलीले समग्र दुर्घटनालाई मध्यनजर गरी ट्राफिक प्रहरी, सडक कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानीय तह, यातायात व्यवसायी चालक, सहचालक र सडक प्रयोगकर्ताले गर्नुपर्ने कामहरुको छुट्टै सूची बनाएको छ । जसमा सडक कार्यालयले नियमित सडक मर्मत गर्नुपर्ने, सडक चिह्न, ट्राफिक संकेत बोर्ड राख्नुपर्ने, जेब्राक्रस र पुलहरुमा रँगरोगन गर्नुपर्ने, व्यस्त सहरहरुमा आकाशेपुल बनाउनुपर्ने, सडक प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, सवारी चापअनुसार सडक विस्तार गरिराख्नुपर्ने पनि भनिएको छ ।

यातायात व्यवसथ कार्यालयले सवारी साधन जाँच पास गर्दा यान्त्रिक र वाह्य अवस्थाको जाँच गर्नुपर्ने सवारी चालक अनुमति पत्र वितरण गर्दा अनिवार्य ट्राफिक सचेतना कक्षामा समावेश गराउनुपर्ने, चालक अनुमति पत्र दिँदा स्वास्थ्य जाँचलाई कडाइ गराउनुपर्ने । आवेग, संवेगको मनस्थिति बुझ्ने व्यवस्था हुनुपर्ने र २० वर्ष पुराना सवारी साधन हटाउनुपर्ने सुझाव दिएको छ ।

व्यवस्थित पार्किङ, अनावश्यक होर्डिङबोर्ड हटाइ ट्राफिक सचेतनासम्बन्धी बोर्डहरु राख्नुपर्ने । चालकले आफू र सम्पूर्ण यात्रुको जीवन आफ्नो हातमा छ भन्न कहिल्यै नबिर्सनका साथै तनाव व्यवस्थापन सीपसम्बन्धी जानकारी लिने र तीव्र गतिमा प्रतिस्पर्धात्मक ओभरटेक नगर्ने । सवारी साधनको मर्मत सम्भार, जथाभावी बाटो नकाट्ने, छर र ढोकामा उभिएर यात्रा नगर्ने, सडकको दुवै साइडमा बत्ती राख्ने आदि । यसो गर्दा केही हदसम्म दुर्घटना रोकथाम गर्न सकिन्छ ।