बालाराम खड्का
तुलसीपुर, १४ कार्तिक । नेपाल सरकारले लगानी गरी निर्माण गरेका राजमार्ग, सहायक राजमार्ग, हुलाकरु सडक, कृषि सडक, सघन सहरी विकासले निर्माण गरेका सडक, नगर आफै वा नागरिक साझेदारी गरेका जुनसुकै सडकमा अनुमतिबिना ब्रेकर राख्न पाइँदैन । सडक ऐनले त्यो अधिकार कसैलाई पनि दिएको छैन । तर, तुलसीपुर उपमहानगरपालिका भित्रका यस्ता सडकहरूमा भने मनपरी ब्रेकर बनाइएका छन् ।
मापदण्डको कुनै वास्ता नगरेर कालोपत्रे गरेको सडकमा मुढा तेस्र्याएको जस्तो गरी स्थानीयबासीले घर अगाडि मनपरी ब्रेकर बनाइदिँदा तुलसीपुर उपमहानगरपालिका, स्थानीय प्रहरी, वडाका जनप्रतिनिधिहरू तथा टोल विकास संस्थाका अगुवाहरू मौन बसिरहेका छन् । मनपरी रूपमा निर्माण गरिएका यस्ता ब्रेकरका कारण मोटरसाइकलदेखि ठूला सवारीसाधनहरू सञ्चालनमा समेत कठिनाइ भएको छ । यस्ता भीमकाय ब्र्रेकरहरूले दुर्घटनाको न्यूनीकरण होइन दुर्घटनाको जोखिम बढाएको सवारी चालकहरूले गुनासो गरेका छन् । नवागन्तुक सवारी चालकहरूलाई त यसले थप कठिन बनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६ र ५ का केही सडकहरूमा यसरी स्थानीयबासीले मनोमानी रूपमा सार्वजनिक सडकमा ब्रेकर बनाएका छन् ।
स्थानीयबासीले यस अघि घोराही तुलसीपुर सडकखण्डमा पनि यसरी नै ब्रेकर बनाएका थिए तर विभिन्न सञ्चार माध्यमहरूमा यसका विषयमा समाचार प्रकाशित भएपछि तात्कालीन नगरपालिका प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा डिभिजन सडक कार्यालयले डोजर लगाएर ती बे्रेकरहरू भत्काएको थियो । तर, फेरि मुलुकमा जनप्रतिनिधिहरूको शासन सुरु भएपछि पनि दुर्घटना न्यूनीकरण गर्न भन्दै तुलसीपुरका विभिन्न रोडमा ‘स्पीड ब्रेकर’ राखिएको छ । जसले यातायात सेवालाई जोखिम बनाएको छ ।
दाङ जिल्लामा सरकारले नारायणपुरमा मात्र २ वटा ‘स्पीड ब्रेकर’ राख्न मात्र अनुमति दिएको छ । संघीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र यायातायत व्यवस्था विभागका प्राविधिकले तोकेको कानुनी मापदण्ड अनुसार ब्रेकर राख्न पाइन्छ । तर, यहाँ त प्रचलित ऐन कानुनको उपहास गर्दै सार्वजनिक सडकमा ब्रेकर बनाइँदा स्थानीय सरकार कानमा तेल हालेर बसेको आरोप स्थानीयबासीले लगाएका छन् ।
तुलसीपुरको वडा नं. ५, ६, ९ लगायतका विभिन्न भित्री सडकहरूमा ‘स्पीड ब्रेकर’ राखिएको छ । बाक्लो र अग्लो ‘स्पीड बे्रकर’का कारण बढी साना सवारीहरू दुर्घटनाको जोखिममा पर्ने सम्भावना रहेका छन् । दुईपाङ्गे्र मोटरसाइकल, स्कुटी र साइकललाई सो ब्रेकर पार गर्न गाह्रो हुने गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्किङ स्थल, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, हाउजिङ क्षेत्रमा रबरको सामान्य ब्रेकर राखिने प्रचलन रहेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार ‘स्पीड ब्रेकर’को उचाई २ दशमलव २ वा २ दशमलव ५ इन्चसम्मको राख्न पाइन्छ । तर, नेपालमा टोल विकास समितिले आफूखुसी दुर्घटना न्यूनीकरण गर्न भन्दै ‘स्पीड ब्रेकर’ राख्ने गरेका छन् ।
तुलसीपुरका विभिन्न कालोपत्रे सडकमा मापदण्ड विपरीत ठूल्ठूला ‘स्पीड ब्रेकर’हरू बनाउने प्रचलन बढेको छ । केही समय पहिले घोराही तुलसीपुर सडकखण्डका विभिन्न स्थानमा यसरी नै ब्रेकर राखेपछि त्यसलाई हटाएको थियो । तर, पछिल्लो समयमा ब्रेकर एउटा सडक पिच गर्ने समयमा निर्माण गरेको छ भने अर्को स्थानीयले ढलान गरेर निर्माण गरेका छन् ।
नयाँ र राम्रो पिच बाटोहरूमा जथाभावी निर्माण गरिएका ‘स्पीड ब्रेकर’ मान्यता विपरीत रहेका छन् । सामान्यतया सवारी साधनको तीव्र गति नियन्त्रण गरी दुर्घटना नहोस् भन्नका लागि विभिन्न टोल–टोलमा र सार्वजनिक सडकहरूमा जथाभावी छ्यापछ्याप्ती ‘स्पीड ब्रेकर’हरू राख्ने गरिएको छ । कुनै पनि सरोकारवालाहरूको स्वीकृत निलिई सवारी ऐन विपरीत ‘स्पीड ब्रेकर’हरू राख्ने गरेको बताएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले तुलसीपुरका विभिन्न स्थानमा टोल विकास संस्था र व्यक्तिले ‘स्पीड ब्रेकर’ राखेको पाइएको बताए । उनले कुनै पनि ‘ब्रेकर’ अनुमति नलिएर राखिएको भन्दै यसले गर्दा समस्या उत्पन्न हुनसक्ने बताए । ‘प्रत्येक घर अगाडि ब्रेकर राख्नु राम्रो होइन, यसले थप जोखिम पनि निम्त्याउँछ’ – इन्जिनियर योगीले भने । उनले नियम विपरीत सडकमा निर्माण गरिएका ब्रेकर पहिले फालेको भन्दै अब पनि राख्न नहुने बताए । ‘धेरै स्थानमा मापडण्ड विपरीत ब्रेकेर राखिएको भन्ने गुनासो छ’, उनले भने । प्रत्येक घर अगाडि ब्रेकर राख्नेर र सो सडकमा स्थानीयहरू घाम तामेर बस्ने गरेका छन् ।
केही नागरिक अगुवाहरूले पनि यस्ता अवैज्ञानिक ब्रेकरको विरोध गरेका छन् तर टोल विकास संस्थाका नाममा यसरी निर्माण गरिएका ब्रेकरहरू भत्काउन स्थानीयबासी मान्दैनन् । ‘कति ठाउँमा पहल गरेर सडक कालोपत्रे योजना पा¥यौँ तर वडा कार्यालय र टोल विकास संस्थाका आडमा स्थानीयबासीले अति अव्यावहारिक र अवैज्ञानिक रूपमा ‘स्पीड ब्रेकर’ बनाइदिए’, तुलसीपुर उपमहानगरपालिका—६ का नागरिक अगुवा नहकुल केसीले भने । उनले यसरी ब्रेकर निर्माण गरिँदा सानादेखि ठूला सवारी साधनलाई बाटो पार गर्नै मुस्किल भएको पनि केसीको भनाइ थियो ।
उपमहानगरपालिका, स्थानीय वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वय गरी तत्काल यस्ता अवैज्ञानिक एवं अवैधानिक ब्रेकरहरू हटाउन पनि उनको सुझाव थियो । यस्ता ब्रेकरहरूमा टेक्टरका टायर समेत अड्किने गरेका र गाडीहरू धेरै पटक ठोक्किने गरेको पनि केसीले बताए । बे्रकरकै कारण धेरै जनाको ज्यान गएकाले सरकारले ‘स्पीड बे्रकर’ राख्न नपाइने नियम बनाएको छ । मुख्य राजमार्ग र भित्री सडकहरूमा पनि ‘स्पीड बे्रकर’ राख्न पाइँदैन । यस्ता ‘स्पीड बे्रकर’ले दुर्घटना न्यूनीकरणभन्दा दुर्घटना बढाएको सरोकारवालाहरू बताउँछन् ।
यता केही स्थानीयले भने साना–ठूला सवारीका साधनहरू तीव्र गतिमा सडकमा चलाउँदा दुर्घटना हुने भएकाले गति कम गर्न ‘स्पीड ब्रेकर’ राखिएको बताउँछन् । ‘सवारी साधन चलाउँदा तीव्र गतिमा हुइँक्याउँछन्, कुनै कसैलाई ठक्कर दिएर भागेपछि पत्तै हुन्न, त्यसैले ब्रेकर बनाएको हो’ –स्थानीय भन्छन् । उनीहरूले रहरभन्दा पनि वाध्यताले ब्रेकर राख्नुपरेको बताए । तर यसो गर्न स्थानीयलाई ऐनले छुट दिएको भने छैन । ‘बाटोमा सातो उड्ने गरी सवारी साधन चलाउँछन्, ब्रेकर बनाएर त्यसको न्यूनीकरण भने केही हदसम्म भएको छ’, एक स्थानीयबासीले फेरि दाबी गरे । तीव्र गति नियन्त्रणका लागि निर्माण गरिने ‘स्पीड ब्रेकर’का कारण दुर्घटना भएका थुप्रै उदाहरणहरू भने जिल्लामा छन् ।
सवारी साधन एक्कासी ‘स्पीड ब्रेकर’मा ब्रेक समाउँदा पनि दुर्घटना हुने र नसमाउँदा पनि सवारी साधन उफ्रिएर सडकमा नै बजारिने समस्या छ । त्यस्तै ‘स्पीड ब्रेकर’मा एक्कासी ब्रेक लगाउँदा दुई पाङ्गे्रे सवारीको पछाडि बस्ने व्यक्तिको मेरुदण्डको हड्डी भाँचिने सम्भावना हुन्छ । ‘स्पीड ब्रेकर’को अनावश्यक उचाइँका कारण कारको तल्लो भागले ‘स्पीड ब्रेकर’ छुने र स्टेरिङ ‘स्पीड ब्रेकर’मा अचानक ब्रेक लगाउँदा गाडीको पछाडि सिटमा बस्नेहरू हुत्तिएर दुर्घटना हुने गर्छ, एम्बुलेन्स, दम्कललगायतका इमर्जेन्सी काममा कुद्ने सवारी साधनहरू ‘स्पीड ब्रेकर’मा दुर्घटना भइ बिरामीको मृत्यु हुने वा अन्य ठूला दुर्घटना हुने जोखिम बढ्ने बताएको छ ।
साथै यसले रातिको समयमा कुद्ने भारी मात्रामा सामान लोड भएका टिपर, ट्रकहरू ‘स्पीड ब्रेकर’ देखेर अचानक गति कम गरेर रोकिँदा रातिको समयमा अत्यधिक ठूलो आवाज आउँदा स्थानीयमा त्रास बढाउने पनि विज्ञहरू बताउँछन् । त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुुजारा मापदण्ड विपरीत बनाएका ‘स्पीड ब्रेकर’मा दुर्घटना हुनसक्ने भन्दै त्यस्तो बनाउन नपाइने नियम भएको बताए । उनले तुलसीपुर उपमहानगरपालिकामा यस विषयमा बैठकमा पनि कुरा उठेको बताए । ‘यसरी मापदण्ड विपरीत बनाएका ब्रेकर अटाउने कुरा चलेको छ, दुर्घटना न्यूनीकरण गर्न बनाएका संरचनाले जोखिम पनि बढाउन सक्छ’ – प्रमुख पुजाराले भने ।