दाङका दश पालिका हाक्ने यी हुन एमालेको नेतृत्व

दाङ, ११ कार्तिक । जिल्लाका दशै पालिकामा नेकपा एमालेको नेतृत्व चयन भएको छ । पार्टीको १०औँ महाधिवेशनअन्तर्गत मंगलवार दाङसहित देशैभरका पालिकाहरुमा एमालेको अधिवेशन भएको थियो ।

जिल्लाका दशै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाका अधिकांश पालिकाको नेतृत्वमा नयाँ अनुहार छन् । नेकपा विभाजनको समयमा जिम्मेवारीमा उभिएकाहरु नै अधिवेशनवाट पुनः जिम्मेवारी प्राप्त गरेका छन् । जिल्लाका दुई जुम्ल्या उपमहानगरपालिकामध्ये घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ५ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिव इन्द्र बुढाथोकी, उपसचिव काँशीराम खनाल र कुलबहादुर गोतामे छन् ।

त्यसैगरेर तुलसीपुर उपमहानगरपालिमा माधव वलीको अध्यक्षतामा कमिटी चयन गरिएको छ । वली तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्षसमेत हुन् । कमिटीको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिव रुपबहादुर खत्री, उपसचिव युवा करारा र छवि खराल निर्वाचित भएका छन् । त्यसैगरेर लमही नगरपालिकामा दण्डीराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर कमिटी चयन भएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा निर्वाचित भएका छन् ।

शान्तिनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा थम्मनबहादुर कनौ मगर, सचिवमा टीकाराम रिजाल, उपसचिवमा शान्ति कँडेल र राकेश बुढाथोकी निर्वाचित भएका छन् । बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा पूर्णबहादुर सारु मगर चयन भएका छन् ।

राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा गोविन्द विक, सचिवमा मन्साराम यादव, उपसचिवमा पिममाली घर्ती र लोकबहादुर खड्का निर्वाचित भएका छन् । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली निर्वाचित भएका छन् ।

राप्ती गाउँपालिकामा भएको अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उपाध्यक्षमा कमलापति चौधरीे, सचिवमा भरतमणि न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी निर्वाचित भएका छन् । दंगीशरणमा रेशम वलीको अध्यक्षतामा गाउँ कमिटि चयन गरेको छ । उपाध्यक्षमा विजया चौधरी, सहचिवमा रविसन चौधरी र मोती बोहरा निर्वाचित भएका छन् । त्यसैगरेर बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर वली निर्वाचित भएका छन् ।

त्यसैगरेर उपाध्यक्षमा शारदा शाह, सचिवमा धनबहादुर डाँगी, उपसचिवमा शोभा खड्का र टोपबहादुर चौधरी गरेर ८५ सदस्यीय निर्वाचित भएको छ । अधिवेशनबाट पालिकामा अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उप–सचिव –२ चुनिएका छन् । पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उपमहानगरपालिकामा ८५ सदस्यीय कमिटी चयन गर्ने पार्टी विधानले व्यवस्था गरेको छ । यसअघि एमालेले वडा अधिवेशन गरेको थियो । कार्तिक ६ मा भएको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

संगठन सृदृढीकरणमा विशेष ध्यान :

यसैबीच नेकपा एमाले घोराही उपमहनगरको नयाँ नेतृत्वले पार्टीको संगठनमा सुदृढीकरणमा विशेष ध्यान दिने वताएको छ । नयाँ नेतृत्वले बुधवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नगर अधिवेशनले पास गरेको एजेण्डाका बारेमा जानकारी दिनको लागि गरेको पत्रकार सम्मेलनमा नगर अध्यक्ष भुवन चौधरीले पार्टीको संगठन सुदृढीकरण र पार्टीका गतिविधि लगेर जनताका माझमा जाने बताए ।

‘पार्टीलाई अब्बल बनाउने नै हाम्रो मुख्य काम हुनेछ’, अध्यक्ष चौधरीले भने– ‘त्यसको लागि सबैसँग समन्वय र सहकार्य गरिने छ ।’ नगर कमिटीको अधिवेशनले विभिन्न १० बुँदे विशेष प्रस्तावसमेत पास गरेको छ । अध्यक्ष चौधरीले अधिवेशन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन अध्यक्ष मण्डल, मतदान अधिकृत, नगरप्रतिनिधि र अन्य सरोकारबाला सबैमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जिल्लाभर नै सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकताको सन्देश दिन सफल भएको बताए । विविध चुनौतीका बीचमा पनि छोटो समयमा हामीले सर्वसमत नेतृत्व चयन गरेर पार्टी एकताको सन्देश दिएका छौँ’, उनले भने– ‘यसले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकमा उत्साह थपेको छ ।’ पत्रकार सम्मेलनको सहजीकरण नगर सचिव इन्द्र बुढाथोकीले गरेका थिए ।