शंकरप्रसाद नेपाल
केही वर्ष पहिले, खोलानालाबाट माछा मारेर खाने गरिन्थ्यो भने आजभोलिक आफ्नै पोखरीमा पालन गरिएका माछाहरु खान पउान थालिएको छ । आजकल जताततै माछापालन गर्ने व्यक्तिहरुको होडबाजी चलेको छ । माछापालन व्यवसाय देख्नमा जति सजिलो मानिन्छ त्यति भित्री रुपमा सजिलो छैन । यो व्यवसाय गर्दा धेरै कुराहरुमा ध्यान पु¥याउनुपर्ने हुन्छ । यदि एउटा मात्र खुड्किलो बिग्रन गयो भने माछाहरु सबै मर्ने गर्दछन् ।
त्यसैले पोखरी खनेदेखि माछा पालन गर्दासम्म बडो होसियारीपूर्वक काम गर्नुपर्ने हुन्छ । यदि तपाईंले पोखरी खन्दा आफ्नै तरिकाले खन्नुभएकोछ, प्रविधिको सरसल्लाह लिइएको छैन, पोखरीको पानी आउने र जाने राम्रोसँग मिलेको छैन, पानी र मलखादको अवस्था पनि राम्रो हुन सकेन भने माछा राम्रो फस्टाउन पाउँदैनन् र बढ्न पनि सक्दैनन् । त्यसैले पालन गरिने माछाहरुलाई मलखाद, दाना, पानी र समय–समयमा पोखरीको मलिलोपन जाँच गरिरहनुपर्ने हुन्छ । यदि समयमा यी कुराहरुलाई ध्यान दिइएन भने, माछाहरु मर्ने गर्दछन् । त्यसैले माछा पालन गर्ने व्यक्तिहरुले यी विषयहरुमा बढी नै ध्यान दिई माछा पालन व्यवसाय सञ्चालन गर्ने गर्नु पर्दछ ।
पोखरीमा पालन गरिने माछाहर धेरै किसिमका हुन्छन् । तिनीहरुको बस्ने र खाने बानी व्यहोरा पनि फरक हुन्छ । जस्तै – ‘कमन कार्प’ जातको माछा पोखरीको पिँधमा बसी सुक्ष्म जिवाणु, स–साना किरा, कुहिएको झारपात र कृत्रिम आहारा खाने गर्दछ भने सिल्भर जातको माछा पोखरीको माथिल्लो सतहमा बसी प्राकृतिक आहारा खाने गर्दछ । त्यस्तै बिगहेड जातको माछा पोखरीको बीच भागमा बसी पानी भित्रका प्राणीजन्य जिवाणुहरु खाने गर्दछन भने ग्रास कार्पजातको माछा पनि पोखरीको ीच भागमा बसी पानीभित्रका स–साना घाँसहरु र कृत्रिम दाना खाने गर्दछ ।
त्यस्तै ‘रहु’ जातको माछा पोखरीको बीच भागमा बसी लेउ, कुहिएको झार कृत्रिम दाना खाने गर्दछ । ‘नैनी’ जातको माछा भने पोखरीको तल्लो सतहमा बसी सडेगलेका झारपात, स–साना जिवाणु र कृत्रिम दाना खने गर्दछ । त्यस्तै ‘भाकुर’ भन्ने जातको माछा पोखरीको बीच सतहमा बसी प्राकृतिक आहार, स–साना जिवाणु खाने गर्दछ । त्यसैले यी सम्पूर्ण माछाहरुका बानी व्यवहार चालचलनमा ध्यान दिई मलखाद, दाना–पानी, समयसमयमा दिँदै गर्ने र पोखरीको मलिलोपन के–कस्तो छ भनी जाँच गर्दै जाने हो भने माछापालन व्यवसायबाट राम्रै फाइदा लिन सकिन्छ । अन्यथा घाटा मात्र हुन जाने छ ।
पोखरीमा पालिने माछाहरु मुख्यतया प्राकृतिक आहारामा बढी निर्भर हुन्छन् । त्यसैले त्यस्ता प्राकृतिक आहारा उत्पादन गर्न निम्न मलखाद प्रयोग गर्नुपर्ने हुन्छ । मलखाद दुई प्रकारका हुन्छन् । एउटा गोबर मल, अर्को रासायनिक मल । गोबर मल अथवा प्राङगारिक मल भन्नाले गाई, भैँसी, कुखुरा, बंगुर, बाख्रा, हाँस आदिको मल वा गोरग्यासबाट निस्किएको मल, हरियो मल, कम्पोष्ट मलहरुलाई जनाउँछ । रासायनिक मलहरु पनि धेरै प्रकारका छन्, ती मध्ये मुख्य युरिया मल डिएपी मल, मम्पिलिट मल आदि छन् ।
यी मलका साथै कम्पोष्ट मल पनि प्रयोग गर्दा पोखरीको मलिलोपना बढाउन मद्दत गर्दछ । अझै यसको साथसाथै चुना पनि पोखरीमा प्रयोग गर्नुपर्ने हुन्छ । यी सबै मलहरु प्रतिकठ्ठाके कति प्रयोग गर्ने भन्ने बारेमा सानो जानकारी गरिहालौँ ।चुना १५ केजी (प्रतिकठ्ठा पोखरीमा) पोखरी सुकाएको बेलामा प्रयोग गर्ने । त्यस्तै गोबर मल ३० देखि ५० केजी प्रतिकठ्ठामा १५ दिनमा एकपटक मात्रै प्रयोग गर्ने र युरियामल ५०० देखि ७५० ग्राम प्रतिकठ्ठामा २० देखि २५ दिनमा एकपटक र डिएपी मल १ देखि डेढ प्रतिकठ्ठामा १५ देखि २० दिनमा एकपटक पोखरीमा राख्नु पर्दछ ।
अब एकैछिन् पोखरीको मलिलोपना केकसरी जाँच गर्ने भन्नेबारेमा पनि जानकारी लिऔँ । पोखरीको मलिलोपना जाँच गर्नका लागि दाहिने हातलाई पोखरीको पानीभित्र डुबाउँदैजाने जब कुहिनासम्म हात डुब्छ तब हातको हत्केला हेर्ने, माथिबाट हेर्दा हत्केला देखिन्छ भने पोखरीमा मल छैन, मल दिनु पर्दछ भन्ने बुझ्नु पर्छ । यदि हत्केला पानीभित्र देखिएन भने पोखरीको पानी मलिलो छ, मल राख्नु हुँदैन भन्ने बुझ्ने सामान्यतया पोखरीको पानी मलिलो छ–छैन भन्ने पत्ता लगाउन बाहिरबाटै पानीको रँग हेरेर पनि थाहा पाउन सकिन्छ ।
जस्तै – पोखरीको पानी गाढा हरियो देखियो भने पोखरीको पानी ज्यादै मलिलो छ भन्ने बुझिन्छ । यदि फटिक सङलो पानी देखियो भने मल छैन भन्ने बुझ्नु पर्दछ । त्यसैले बढी मलिलो भएको बेला म थप्ने गरेमा अक्सिजन कम हुन गई माछाहरु पानीको छेउछाउमा आइ प्याक–प्याक गरी मर्न थाल्दछन् । त्यसैले यस्तो अवस्था आउन नदिन पोखरीको पानी जाँच गर्ने र सोही अनुसार मलखाद दिने वा नदिने गर्नु पर्दछ । जथाभावी रुपमा मल दिने गरे पोखरीमा अक्सिजन कम भई माछा मर्ने गर्दछन् ।
त्यसतो अवस्था देखापर्न थालेमा पोखरीको पानी हल्लाउने, पोखरी माथिबाट पानीको फोहरा दिने, पोखरीमा पानी थप्ने र चलाउने काम गर्नु पर्दछ । यी प्रविधि अपनाउँदा पनि रोकथाम नभए सम्बन्धित कार्यालय वा प्राविधिकसँग सम्पर्क राखी समाधान गर्ने गर्नुपर्छ । माछापालन गर्दा माथिका कुराहरुलाई ध्यान दिई सञ्चालन गर्ने हो भने अवश्य पनि मिहिनेत अनुसारको आम्पादनी लिन सक्नुहुनेछ ।