गोरक्ष समाचारदाता
तुलसीपुर, ११ कार्तिक । तुलसीपुर प्रादेशिक अस्पताल परिसरमा रहेको कोरोना उपचार इकाईमा बिरामी शून्य भएको छ । अस्पतालमा उपचाररत एकजना बिरामी बुधवार डिस्चार्ज भएपछि कोरोना उपचार युनिट बिरामीविहीन भएको हो । जिल्लामा संक्रमणको अवस्था नियन्त्रणउन्मुख बनेपछि अहिले दाङ जिल्लाकै सबै स्वास्थ्य संस्थाहरुमा कोरोनाका संक्रमितहरु छैनन् ।
केही गम्भीर बिरामीहरु उपचारका लागि अन्यत्र रिफर भएका छन् भने सामान्य संक्रमितहरु होम आइसोलेसनमा रहेर आराम गरिरहेका छन् । अस्पतालमा बिरामी शून्य भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई अब प्रादेशिक अस्पतालकै अन्य विभागमा व्यवस्थापन गरिने राप्ती प्रादेशिक अस्पतालका कोरोना युनिटका व्यवस्थापक दोर्ण वलीले बताएका छन् । ‘युनिटका ८० प्रतिशत स्वास्थ्यकर्मी÷कर्मचारी अन्य विभागमा व्यवस्थापन भैसकेको छ, आवश्यकता अनुसार बाँकी कर्मचारीलाई पनि अन्य विभागमा व्यवस्थापन गरिने छ’, व्यवस्थापक वलीले भने । अस्पतालमा अन्य कोरोना संक्रमित आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै केही स्वास्थ्यकर्मी कर्मचारीहरु भने स्ट्याण्डवाई राखिएको उनले बताए ।
राप्ती प्रादेशिक अस्पतालको मातहतमा रहनेगरी प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पताल बेलझुण्डीमा सञ्चालन गर्दै आएको थियो । संक्रमितहरु निकै कम हुँदै आए पनि राप्ती प्रादेशिक अस्पतालले प्रदेश सरकारको आग्रहबमोजिम दशैँअघि तुलसीपुर अस्पताल परिसरमै एउटा भिन्नै युनिट बनाएर सञ्चालन गर्न थालेको थियो । बेलझुण्डीमा भर्ना भएर उपचार सेवा लिइरहेका जम्मा ४ जना बिरामीलाई सो इकाईमा स्थानान्तर गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विधिवतरुपमा सो इकाईको उद्घाटन गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालयको बिएएमएस कलेजमा अस्थायी रुपमा सञ्चालित कोरोना विशेष अस्पताल अन्यत्र सार्न र आफ्नो पठन–पाठन सुचारु गर्न आयुर्वेद स्नातक तह बिएएमएस अध्ययनरत विद्यार्थीहरुले पटक–पटक आन्दोलन समेत गर्दै आएका थिए । विद्यार्थीको आन्दोलनसँगै कोरोना भाइरसको संक्रमणसमेत न्यून हुँदै गएपछि प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालन भइरहेको सो अस्पताललाई तुलसीपुर प्रादेशिक अस्पतालमा सार्न लिखित पत्राचार गरेको थियो । प्रदेश सरकारको निर्देशन अनुसार तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा निर्माण सम्पन्न भएको दुईतले योगा भवनमा सो इकाई सञ्चालनमा ल्याइएको हो । अस्पताल स्थानान्तर भएपछि विद्यार्थीहरुले पनि अब आफूहरुको पढाइमा कुनै समस्या नपर्ने आशा व्यक्त गरेका थिए ।
‘आइसियु, एचडियु, तथा भेन्टिलेटरको सेवासहित आधुनिक उपकरणहरु प्रयोग गरी बिरामीहरुको उपचारको प्रवन्ध मिलाइएको छ, साथै बिरामीहरुका कुरुवालाई समय कटाउनका लागि नजिकैको रेडक्रस भवनमा म्याटको समेत व्यवस्थापन भएको छ’, व्यवस्थापक वलीले भने । संघीय सरकारले तेस्रो वेभलाई मध्यनजर गर्दै राप्ती प्रादेशिक अस्पताललाई आवश्यक बेड र उपकरणहरु उपलव्ध गराएसँगै सो भवनमा कोरोना उपचार इकाई सञ्चालनमा सहजता आएको हो । विशेषगरी बालबालिकाहरुको उपचारलाई लक्षित गरेर संघीय सरकारले बेड, आइसियु मेसिन, एनआइसियु उपकरण तथा पिआइसियु उपकरणहरु उपलब्ध गराएको थियो ।
हाल सो भवनमा कोरोनासँग सम्बन्धित बिरामीहरुको उपचारका लागि कम्तीमा ५० बेड व्यवस्थापन भइसकेका छन् । अहिले सो इकाईमा एनआइसियुका १५ बेड, आइसियुका १० बेड, पिआइसियुका १५ बेड, र एचडियु १० बेड आवश्यक परेको अवस्थामा सञ्चालनको तयारीमा छन् । नियमितरुपमा अक्सिजन तथा भेन्टिलेटर समेतको सुविधासहित बिरामीहरुको उपचार हुने अस्पताल व्यवस्थापनले जनाएको छ । वैज्ञानिकरुपमा फोहर व्यवस्थापनसहित बिरामीका कुरुवाहरुका लागि समेत अस्पताल क्यान्टिनमा सबै खानेकुरा उपलव्ध हुने बताइएको छ ।
वि.सं. २०७६ साल चैत ११ गते कोरोना संक्रमितहरुको उपचारका लागि सेवा प्रारम्भ गरेको सो अस्पतालले हालसम्म १ हजार ४८ जना कोरोना संक्रमितहरुको उपचार गरिसकेको छ । उपचारका क्रममा ९ सय ९ जना निको भएर घर फर्केका छन् भने उपचारकै क्रममा बेलझुण्डीमा रहेको अस्थायी कोरोना अस्पतालमा ९६ जनाले ज्यान गुमाएका थिए । ३९ जनालाई रिफर गरिएको थियो । सो अस्थायी अस्पतालले बढीमा ७७ जना बिरामीसम्मलाई दैनिक उपचार सेवा दिँदै आएको थियो ।