भूवन पोख्रेल
नेपालमा हाल ६२ दशमलव २ प्रतिशत सहरी जनसंख्या रहेको छ । यसरी सहरी जनसंख्यामा वृद्धि भएसँगै ग्रामीण क्षेत्रको जनसंख्या क्रमशः घट्दै गइरहेको छ । यसले सहरी क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय अवस्थामा सकारात्मक र नकारात्मक प्रभाव परिरहेको छ । सहरीकरणले नयाँ अवसर उपलब्ध गराउँदै आएको छ ।
त्यसका लागि थुप्रै चुनौती पनि थपेको छ । सहरीकरण विविधता र विशिष्टतामा आधारित उत्पादन प्रक्रिया र सामाजिक, आर्थिक परिवर्तनको वातावरण तयार गर्छ । यसले उन्नत आर्थिक प्रणाली, सार्वजनिक सेवा र गैरनाफामूलक सेवाहरु जस्तै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा आदिको विस्तार सहकार्यको वातावरण सिर्जना गर्दछ । आर्थिक भुमण्डलीकरण र डिजिटल टेक्नोलोजीलाई प्रयोग गरेर सहरहरुले फइदा लिनसक्ने वातावरण तयार हुन्छ ।
यो प्रविधिलाई आत्मसात गर्न सक्षम सहरहरुले तीव्र गतिमा आर्थिक विकास गर्ने अवसर पाउँछन् । अहिले नेपालमा तीव्र गतिले सहरीकरण भइरहेको छ । जनसंख्या वृद्धि र सहरीकरणले सहरी क्षेत्रको स्रोत, साधन, सेवा सुविधा, भौतिक पूर्वधार विकास, वातावरण र सुशासनमा समस्या ल्याइरहेको छ । नेपालका अधिकांश सहरुहरुले सहरी मापदण्ड पूरा गर्न सकेका छैनन् । निर्माण भइसकेको सहरी भौतिक पूर्वधार पनि जीर्ण र साँघुरा भइसकेका छन् । यी चुनौतीका रुपमा आएका छन् ।
सहरीकरणले जनसंख्या वृद्धिसँग सेवा, सुविधा, सडक, विद्युत, खानेपानी आदिको व्यवस्थापन गर्न कठिन हुन्छ । यसले गर्दा अत्यावश्यक पूर्वाधारहरु तथा सेवाहरुमा न्यून पहुँच हुन्छ । सहरमा सवारी साधनको अत्याधुनिक चाँप हुन्छ । जसले ट्राफिक व्यवस्थापनमा चुनौती भइरहेको छ । मापदण्ड बिना जग्गा प्लटिङ गर्ने, घर बनाउने कार्यले सहरी व्यवसपन र वातावरणीय समस्या सिर्जना भइरहेको छ । पुराना सहरहरुका साँघुरा गल्तीहरुमा सडक विस्तार, ढल निकास, फोहरमैला व्यवस्थापन र आपतकालीन सेवा पु¥याउन चुनौती भइरहेको छ ।
व्यवस्थित बसोवास र संरचना निर्माणले खुला स्थानको तीव्र अतिक्रमण भइरहेको छ । देशका प्रमुख सहरका सार्वजनिक जमिन र खुला क्षेत्र अतिक्रमण भइरहेको देखिन्छ । कतिपय नयाँ सहरहरुमा खुला स्थान छोडेको देखिँदैन । यसले विपद् व्यवस्थापन र वातावरण संरक्षणमा चुनौती थपिरहेको छ । सहरीकरणसँग सवारी साधन, इट्टाभट्टा निर्माण कार्य, कलकारखाना, फोहर व्यवस्थापनको अभावले वातावरण प्रदूषण गराइरहेको छ । सहरीकरणले झैझगडा चोरी, डकैती, बलात्कार, हत्या आदि जस्ता क्रियाकलापले शान्ति सुरक्षाका साथै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समस्या सिर्जना गरेको छ ।
गाउँबाट सहरी क्षेत्रहरुमा भइरहेको बसाइ सराई पनि सहरीकरणको प्रमुख समस्या हो । अनियन्त्रित आप्रवासले सहरमा यातायात, खानेपानी, उर्जा, स्वास्थ्य, शिक्षा, ढल निकास र भू–उपयोगमा चाँप बढिरहेको छ । दिगो सहरी विकासका लागि हरियाली कार्बन उत्सर्जन, सहरी तापमानको उतारचढाव नियन्त्रण र सहरी भू–उपयोगलाई सन्तुलन ल्याउन प्रयोग गर्न नसक्नु पनि चुनौती हो ।
सहरीकरणका समस्याहरुलाई समाधानका सहरी योजनामा पर्यावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ । सहरीकरणका समस्याहरुलाई समायोजन गर्न स्मार्ट प्रविधि अपनाउनु पर्छ । हरित पार्क, खुला स्थानको जगेर्ना, सहरी कृषि, जलाधार क्षेत्रमा वृक्षारोपण र सहर विकास प्रविधिकरणको मापदण्ड अनुसार जग्गा खण्डीकरण र भावन निर्माण आचारसंहिता व्यवस्थित र योजनाकृत सहरी निर्माण गर्नुपर्छ ।
कृषिभन्दा गैरकृषिजन्य व्यवसायमा संलग्न मानिसको अनुपात बढी हुनु सहरको अर्को चरित्र हो । एकीकृत बस्ती जनघनत्व बढी भएको आधारमा सहर बन्दैन । अर्थतन्त्र यसको मूल चरित्र हो । सामान्यतया सहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हुन्छ । हाम्रो सन्दर्भमा भन्नुपर्दा जहाँ सहर भइसकेको छ त्यहाँ बस्ती विकास बढ्दो छ ।
ग्रामीण क्षेत्र भने मानवविहीन अवस्था पुगन लागेको छ । यसले गर्दा सहरमा दिन प्रतिदिन समस्या थपिँदै गएको छ । विकास पनि सहर केन्द्रित बन्दै गएको छ । गाउँको विकास गर्नुपर्ने सबै बनिसकेको सहरमा मात्रै आकर्षित हुँदा सहरी जीवन कष्टकर हुँदै गएको छ । अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन सहरीकरणले सहरी सम्पदा र प्राकृतिक सुन्दरतामा ह्रास ल्याएको छ ।
सहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई सहरी जनसंख्यालााई सोही क्षेत्रका स्रोत र साधन तथा पूर्वाधारले बहन गर्नसके मात्र त्यसले फाइदा पु¥याउँछ । तर, हाम्रो सन्दर्भमा ठिक विपरीत भएको देखिन्छ । जसका कारण फाइदाभन्दा बेफाइदालाई निम्त्याइरहेको छ । विगत चार दशकमा सहरी जनसंखा पाँच गुणाले वृद्धि भएको तथ्यांकले देखाएको छ । जनसंख्या वृद्धिकै कराण प्रकृतिले मानव कल्याण र स्वस्थ जीवनका लागि दिएको स्वच्छ हावाको गुणात्मक सुन्दरता प्रदूषित बनेको छ ।
वायु प्र्रदूषणले सहरी वातावरणलाई नराम्ररी गाँजेको छ । यातायातका साधनको वृद्धिसँगै ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । पुराना सवारी साधनबाट निस्कने धुवाँ, उद्योग, कलकारखानाबाट निस्कने धुवाँ, धुलो, कच्ची र खाल्टाखुल्टी सडक सबै अव्यवस्थित सहरीकरणका कारण हुन् । समग्र वातावरणलाई तिनै धुवाँ, धुलो र सूर्यको किरणले गर्दा विभिन्न अस्वस्थकर ग्यासको उत्पादन भइ मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।
यस्ता प्रदूषणयुक्त ग्यास वायुमण्डलमा फैलिएपछि एकातिर इकोसिस्टममा असर पर्छ भने अर्कोतिर जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ । वायुप्रदूषणले मानवदेखि जीवजन्तु, रुखविरुवा तथा ऐतिहासिक धरोहरुमाथि समेत हानी पु¥याउँछ । सहरी क्रियाकलापबाट निस्केको धुवाँले दृश्य क्षमता घटाउादै ओजोन तहको विनाश गरेर मानवीय विपक्ति निम्त्याउँछ भने हरितगृह प्रभावको माध्यमबाट वृथ्वीको तापक्रम बढाउँछ । जसले गर्दा अम्लवर्षा हुन्छ । व्यवस्थित सहरीकरणले अवसर सिर्जना गर्छ भने अव्यवस्थित सहरीकरणले समस्या निम्त्याउँछ । व्यवस्थित सहरीकरण नै विकासको मार्ग हो ।
सहरमा मानिसको आकर्षण बढी देखिन्छ । सहर भन्ने बित्तिकै सबै अनुमानमा सुविधा सम्पन्न संसार रहेको हुन्छ । तर, जति सोचिएको ग्रामीण समुदायले सहरको बारेमा त्यस्तो भने हुन सकेको छैन । सहरी तथ्यांक अनुसार शिक्षा, रोजगार, सुविधा र सरल जीवनको खोजीमा लाखौँ नेपाली गाउँबाट सहर भित्रने गरेका छन् । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले सहरी भेगमा वातावरणीय असर र अव्यवस्थित बसोवास फैलन थालेको छ ।
वर्तमान समयमा नेपालको सहरी क्षेत्रलाइृ नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । तीनै प्रकारका नगरपालिका बन्नका लागि निश्चित पूर्वाधार हुनुपर्छ भनिए पनि अझै हुनसकेको छैन । न्यूनतम पूर्वाधार समेत विकास नगरी नगरपालिका घोषणा गरिएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले हिमालमा १० हजार, पहाडमा ४० हजार, भित्रि मधेशमा ५० हजार, तराईमा ७५ हजार र काठमाडौं उपत्यकामा एक लाख जनसंख्या भएमा नगरपालिका हुने भनेर मापदण्ड तोकेको छ । नेपालमा सहरीकरणको प्रकृतिलाई हेर्दा पूर्वाधारबिना नै सहरी विकास भएको मानिएको छ भने सहरी न्यूनतम आधारभूत सुविधाको समेत अभाव देखिन्छ । हाम्रो सहरीकरणमा बसाइसराई र भारतीय प्रवासीहरुले सीमा क्षेत्रको जनसंख्यामा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ ।
नेपालको असन्तुलित विकास अथवा सहरकेन्द्रित आर्थिक प्रशासनिक र शैक्षिक विकासका साथै स्वास्थ्य, रोजगार आदिका क्षेत्रको विकास पनि सहरकेन्द्रित हुँदा बसोवास जनचाँप बढेको छ । जेजति उद्योग, व्यवसाय र कलकारखाना विकास भएका छन् ती सबै सहरी क्षेत्रमा नै केन्द्रित हुँदा भविष्यमा पनि सहरी क्षेत्रमा मानवको चाँप बढ्ने चिश्चित नै छ । अव्यवस्थित सहरीकराणले जलप्रदूषणलााई अत्यधिक मात्रामा बढाएको छ ।
जलप्रदूषण मूलतः औद्योगकि फोहरमैला, घरायसी फोहरमैला, सहरी मिल र वरिपरिबाट आउने रसायनयुक्त कृषि मिलावट हुन्छ । हाम्रा धेरै नगर तथा बजार क्ष्ँेत्रमा ढलको अभाव छ र फोहरमैला व्यवस्थापनको प्रबन्ध मिलाउन सके पानीका स्रोतमा पुग्नु अगावै तिनलाई प्रशोधनको प्रक्रियाद्वारा सफा गराउन सकिन्थ्यो तर हाम्रा बहन गर्ने क्षमता नाघिसकेका सहरबाट निस्केका ढल तथा फोहरमैला बिनाप्रशोधन, नदीनाला, ताल एवं पोखरीमा पुग्ने गरेका छन् ।
एकीकृत बस्ती, जनघनत्व बढी भएको र कृषिभन्दा गैरकृषि व्यवसायको वाहुल्य, यी तैनै विशेषताले भौतिक स्वरुप र आवश्यकता पनि विशिष्ट बन्छन् । केवल एकीकृत बस्ती हुँदैमा सहर बन्दैन । अर्थतन्त्र यसको मूल चरित्र हो । सारमा अर्थतन्त्रको परिवर्तनले सामाजिक संरचनामा ल्याउने परिवर्तनको भोगोलिक अभिव्यक्ति हो, सहर ।
सहरीकरणको विकास द्रुत र अव्यवस्थित भएका कारण ध्वनिप्रदूषण पनि वातावरणीय स्वास्थ्य समस्याको रुपमा धेरैजसो सहरमा देखिएका छन् । वातावरणसम्बन्धी अध्ययनको तथ्यांकले नेपालको काठमाडौंलाई प्रदूषित सहरको रुपमा देखाएको छ । सहरमा विशेष गरी ट्राफिक, औद्योगिक क्रियाकलाप, निर्माण कार्य र भीडको कोलाहल ध्वनि प्रदूषणका कारण हुन् ।
काठमाडौं उपत्यकाका सहर र उपत्यका बाहिरका प्रमुख सहरलगायत राजमार्ग आसपासका सहरी क्षेत्रमा यो प्रमुख समस्या बन्दै गएको छ । सहरीकरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ भने लुटेरा, डकैती, भ्रष्टाचारी, नैतिक पतन, सामन्ती जस्ता समूहहरुको क्रिडास्थल पनि बन्न गएको छ । सहरीकरणकै कारण मानवमा व्यक्तिवादीपन समेत बढेर गएको छ भने पारिवारिक ढाँचामा पनि परिवर्तन आएको छ ।
सहरमा सडक बालबालिकाको संख्यामा वृद्धि भएको छ । बृद्धहरु अपमानित भएका छन्, बृद्धाश्रमका संख्या बढेका छन्, सामुहिकता हराएको छ । दुव्र्यसन, दूराचार, ठगी, बेरोजगारी, आत्महत्या, यौनशोषण एकांकीपन आदि पक्षको विकास भएर गएको छ । सहरीकारण गर्नु अघि पर्याप्त मापदण्ड र पूर्वाधारको विकास नगर्नु र सहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्नसके सहरीकरणका समस्यालाई बेलैमा समाधान गर्न सकिन्छ ।
सहरीकरणले मानव संसाधनलाई एकीकृत हुने अवसर प्रदान गर्दछ । फलस्वरुप विकासका नवीनतम सोच, प्रविधि, एवं स्रोतको परिचालन गर्न सकिन्छ । सहरमा जनसंख्याको चाँप सँगसँगै विकासका पूर्वाधारहरुको पनि निर्माण हुन्छ । स्वास्थ्य, शिक्षा, यातायात सञ्चार, सामाजिक सेवा तथा सांस्कृतिक गतिविधिहरुको विकास हुने भएकाले सहरका बासिन्दाहरुले सहज जीवनयापन गर्न सक्दछन् ।
संरचनागत रुपान्तरण, व्यापार विस्तार एवं कार्यको विशिष्टीकरण र क्षमताको कदर हुने अवसर सहरीकरणले प्रदान गर्दछ । सहरीकरण र आर्थिक विकास सँगसँगै अगाडि बढ्न कठिन हुन्छ । सहरीकरणले मानिसको जीवनलाई सहज मात्र नभई अप्ठ्यारो स्थितिको पनि सिर्जना गर्दछ । सहरीकरण अवसर मात्र प्रदान नगरी चुनौती तथा समस्याहरु पनि निम्त्याएको छ । सहरमा सुरक्षा प्रावधानको व्यवस्था चुनौतीपूर्ण मान्न सकिन्छ ।
भीडभाड र सामाजिक अपराध न्यूनीकरण पनि अर्को चुनौती हो । बेरोजगारी सहरको प्रमुख समस्यामध्ये एक हो । ग्रामीण क्षेत्रदेखि सहर तर्फकै बसाइसराई नियन्त्रण र यससँग सम्बन्धित आवास, पानी, सरसफाईको अभाव र स्वास्थ्यसम्बन्धी समस्या वातावरणीय प्रदूषण र यसको रोकथाम पनि ठूलै चुनौती मान्न सकिन्छ ।
बेरोजगारीले निम्त्याएका गरिबी, आर्थिक, असमानता, अव्यवस्थित बस्ती, फोहर, प्रदूषण पनि सहरीकरणले निम्त्याएका चुनौती हुन् । सहरी बसाईमा लाग्ने खर्च उच्च हुने भएकाले कमजोर आर्थिक अवस्था भएकाहरुको जीवनयापन कठिन हुन्छ ।
गाउँ र सहरलई दुई भिन्नाभिन्नै इकाईको रुपमा बुझ्नुभन्दा दुईबीचको सम्बन्धलाई दृष्टिगत गर्नु बढी महत्वपूर्ण मानिन्छ । वास्तवमा सहर र गाउँको समबन्धबाट नै दीर्घकालीन परिवर्तन सम्भव हुन्छ । सहर र गाउँबीचको सम्बन्ध जीविकोपार्जन र स्थानीय अर्थतन्त्रमा मात्र सीमित नभई सामाजिक तथा सांस्कृतिक पक्षहरुसँग पनि उत्तिकै सम्बन्धहरुको विकास हुन्छ ।
गाउँसहर सम्बन्धले गरिबी निवारणको सम्भावना बढेर जान्छ । कतिवष्य मुलुकहरुमा ग्रामीण क्षेत्रमा पनि औद्योगिक विकास, सेवामुखी व्यवसायको विकासजस्ता गैरकृषि गतिविधि भएको पाइन्छ । सहरीकरणका चुनौती कम गर्न वा समस्या समाधान गर्न ग्रामीण क्षेत्रको पनि विकासमा जुट्नु पर्छ ।