अधिवेशन प्रक्रियामा सापकोटाको गम्भीर असहमति

गोरक्ष समाचारदाता

तुलसीपुर, १० कार्तिक । नेकपा एमालेको नगर अधिवेशनको नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाप्रति नेकपा एमालेका यसअघिका तुलसीपुर उपमहानगरपालिकाका नगर कमिटी अध्यक्ष केशवराज सापकोटाले गम्भीर असहमति जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख तथा निर्वाचन मण्डलको संयोजकसमेत रहेका घनश्याम पाण्डे, एमाले नेता हुकुम बस्नेत र मनोहर बुढाथोकीको डिजाइनमा आफूलाई नगर अधिवेशनमा मनोनयन दर्तासमेत गर्न नदिएको उनको अभिव्यक्ति थियो । ‘पूर्व सेटिङको डिजाइनअनुसार मलाई चाहदा चाहदै पनि नगर अध्यक्षमा उम्मेदवारी समेत दर्ता गर्न दिइएन, जुन लोकतान्त्रिक अभ्यासको पूरै वर्खिलाप हो’, नगर अध्यक्षको प्रत्यासी बन्न चाहेका सापकोटाले पत्रकारलाई भने ।

पार्टीमा लोकतान्त्रिक पद्धतिबमोजिम कुनै पनि निकायमा नेतृत्व चयन गर्ने यसअघिका परम्परालाई पूरै लत्याइएको भन्दै उनले निर्वाचन प्रक्रियाप्रति नै आपत्ति जनाएका छन् । आफू स्वयं पनि सर्वसम्मत नेतृत्व चयनका लागि निरन्तर प्रतिवद्ध रहँदा–रहँदै पनि मलाई मनोनयन दर्ता गर्ने समयमा पार्टीका जिम्मेवार नेता हुकुम बस्नेतले अधिवेशन हलभन्दा बाहिर लगेर यो र त्यो कुरा गरी हलभित्रै जान नदिइएको पनि उनको आरोप थियो ।

जसोतसो समयअगावै हलमा पुगे पनि पनि निर्वाचन मण्डलका संयोजक घनश्याम पाण्डेले मनोनयन गर्ने समय सकिएको भन्दै आफूलाई मनोनयन फाराम नै नदिएको पनि सापकोटाको आरोप थियो । लोकतान्त्रिक प्रक्रियालाई लत्याएर नगरको नेतृत्व चुनिएको बताउँदै उनी अधिवेशन बहिस्कार गरेर घर फर्केको बताएका छन् । अब उप्रान्त नगर समितिको कुनै पनि पदीय जिम्मेवारीमा नरहेर वडा सदस्यसरह पार्टीमा रहिरहने उनको अभिव्यक्ति थियो ।

‘मलाई रोकेर माधव वलीलाई नगर अध्यक्ष बनाउन ठूलो चलखेल र दादागिरी भयो,’ उनले भने– ‘मैले नेताहरुलाई मलाई पार्टी अप्ठ्यारोमा पर्दा मात्रै सम्झिनु भनेर निस्केर घर आएको हुँ ।’ उनले अधिवेशनको प्रक्रियामा घोरआपत्ति जनाए पनि एमाले परित्याग भने नगर्ने बताए । ‘यो गलत प्रवृत्तिविरुद्ध निरन्तर पार्टीभित्रै रहेर अन्तर्संघर्ष गरिरहने छु’, सापकोटाले भने । सापकोटा वि.सं. २०४६ सालदेखि नै अनेरास्ववियु कमिटीमा र विगतमा वडाअध्यक्ष दुई अवधि र नगर समिति अध्यक्षको जिम्मेवारीमा थिए । उनले संगठित सदस्य वि.सं. २०५१ सालमा लिएका थिए ।

एमालेले मंगलबार दाङसहित देशैभर पालिका अधिवेशन सम्पन्न गरेको जनाएको छ । केन्द्रीय कमिटी र केन्द्रीय अध्यक्षको निर्देशनबमोजिम माथिदेखि तलैसम्म सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकढिक्का भएको सन्देश अध्यक्ष केपी ओलीले दिन खोजेको एमालेकै नेताहरुले बताएका छन् । जसरी पनि सर्वसम्मत नेतृत्व चयन गर्ने निर्देशन भएकाले तुलसीपुरमा पनि सोही डिजाइन अनुसार निर्वाचन प्रक्रियामा प्रतिस्पर्धा नै गर्न नदिने योजना रहेको पनि एक एमाले नगर नेताले बताएका छन् ।