हिन्दू राज्य र राजसंस्थाको पुनःस्थापना : अध्यक्ष बस्नेत

नेपालको पुरानो पार्टी राप्रपाको जिल्ला अधिवेशन भर्खरै सम्पन्न भएको छ । जिल्ला अधिवेशन सकेर केन्द्रीय अधिवेशनको तयारीमा राप्रपा छ । केही समय पहिले दुई चिरामा विभाजित राप्रपा नेपाल र राप्रपा जिल्लादेखि केन्द्रमा एक भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानीय तहदेखि केन्द्रसम्म संगठन निर्माण र नयाँ नेतृत्व एक भएपछि चयन गरेको छ । अहिले पनि राप्रपाले नेपालमा सनातन हिन्दू धर्म, राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ । पार्टीलाई चलायमान गराउन र आफूले लिएको मूल एजेण्डालाई लागू गर्न राप्रपा लागेको छ ।

यसै विषयमा २०३४ सालदेखि ‘गाउँ फर्क’ अभियानदेखि राजनीति सुरु गरेका, २०४७ सालमा उरहरी गाउँ विकासका अध्यक्ष र राप्रपाका उपाध्यक्ष, कोषाध्यक्षदेखि विगत २०५६ सालदेखि राप्रपा नेपाल, राप्रपा र हाल एकीकरण भएको राप्रपाको तीन कार्यकाल अध्यक्ष भइ हाल पुनः सर्वसम्मति रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको अध्यक्षमा चयन भएका तुलसीपुर–६ निवासी राप्रपा दाङका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतसँग पार्टी संगठन, हाल भइरहेको विकास निर्माण, हिन्दू राष्ट्र, राजसंस्था पुनःस्थापना, पार्टीको संगठन निर्माण र समसामयिक विषयमाहरुमा गरिएको संक्षिप्त कुराकानी ।

 स्वागत छ तपाईंलाई गोरक्षको सातावार्तामा ?

 धन्यवाद तपाईं अनि तपाईंको पत्रिकालाई, मेरो कुराहरू प्रिन्ट मिडियाबाट राख्ने मौका दिएकोमा ।

 फेरि पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

 हो, म राप्रपा, राप्रपा नेपाल हुँदै अहिले राप्रपा र राप्रपा नेपालको एकीकरणपछि फेरि पनि जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी पाएको छु । जिल्लाको नेतृत्व गर्ने अवसर फेरि पनि मिलेको छ । यसलाई मैले अवसर र चुनौती दुवै रूपले लिएको छु । मैले पहिले पनि यो जिम्मेवारी नपाएको होइन, पाएको थिएँ र फेरि पनि साथीभाइहरूले मेरो विश्वास गरी मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।

यसले संगठनलाई चलाउन सक्छ, चलायमान गराउनसक्छ भनेर नै फेरि पनि मलाई जिम्मेवारी दिनुभएको छ । म यो जिम्मेवारीलाई कुशलतापूर्वक आप्mनो सबै काम छोडेर पार्टीको कामलाई पहिलो प्रथामिकतामा राखेर मैले पार्टीको संगठन निर्माणमा लाग्नेछु र साथीभाइ कार्यकर्ताले दिएको यो जिम्मेवारीलाई भरपूर रूपमा पूरा गर्नेछु भन्न चाहन्छु ।

 पार्टीको जिल्ला अध्यक्ष भएपछि अबका मुख्य ऐजेण्डाहरू के–के हुन् ?

 मैले पहिले पनि भने हाम्रो पार्टी विभाजन भएको थियो, भर्खरै फेरि एकीकरण भएको छ । हाम्रो पार्टीले लिएका नीति कार्यक्रमहरूलाई जनस्तरसम्म लैजाने मेरो पहिलो प्रयास हुनेछ । साथसाथै हाम्रो पार्टीको नीति सिद्धान्तलाई जनता माझ बुझाउने र पार्टीलाई बलियो र सबैलाई समेटेर एकताबद्ध बनाउने मेरो काम हुनेछ ।

हामीले अब जनतालाई गतल कुराहरूको बारेमा बुझाउने र पार्टीको संगठनमा कसरी युवा महिला सबै जातजाति, वर्ग लिङ्ग, जातजातिलाई ‘कन्भेन्स’ गर्न सकिन्छ त्यसतर्फ हामी लाग्नेछौँ । हामीले पार्टीको सदस्यता वितरणदेखि विभिन्न भेटघाटका अभियान पनि थालेका छौँ र अब राप्रपालाई राष्ट्रिय पार्टी बनाउने अभियानमा हामी सबै लाग्नेछौँ ।

 जिल्लामा संगठन विस्तारको काम के–कसरी अगाडि बढाउनुहुन्छ ?

 हामीले वडादेखि जिल्ला तहको निर्वाचन सकिसकेका छौँ । हाम्रो राष्ट्रिय अधिवेशनको मिति पनि तोकिएको थियो, त्यहीअनुसार हामीले तल्लो तहसम्म अधिवेशन सकेर तयारीमा लागेका थियौँ तर अहिले अधिवेशनको मिति केही पर सरेको छ ।

हामी अहिले संगठन निर्माण सदस्यता वितरणलगायतका काममा लागेको छौँ । भर्खरै म त्यही काम सकेर यस अन्तर्वार्ताका लागि यहाँ आएको छु । दिन–रात नभनी हामी संगठनलाई चलायमान गराउन लागेको छौँ ।

 कुनै बेला नेपालको तोस्रो पार्टीको रूपमा रहेको राप्रपा टुक्रिएको छ, अब आप्mनो साख बचाउन कसरी लाग्नुहुन्छ ?

 मैले अघि पनि केही कुरा भनिसकेँ, हो हामी अब विस्तारै एकीकरण हुँदैछौँ । केन्द्रदेखि जिल्ला तथा स्थानीय स्तरसम्म अब हामीले साना–साना सभा, बैठकहरू गरेर जनताको मन जित्ने कार्यक्रमहरू ल्याउने र जनजीविकासँग जोडिएका कार्यक्रमहरू सञ्चालन गर्नेछौँ । तपाईंले अहिले देख्नुभएको छ, गाउँ–गाउँमा राप्रपाप्रति युवाहरूको पनि आकर्षण बढेको छ । हामीले गाउँ–गाउँमा गरेका भेलाले पनि त्यो पुष्टि गरेको छ ।

राप्रपा पार्टीमा सबैको विश्वास छ, पार्टीले उठाएका एजेण्डाहरू जस्तो हिन्दू धर्म राजसंस्था पुनःस्थापनालगायतका विषय सबैको मनमा छ तर भन्न मात्र नसकेको हो । सबैको यस विषयमा चासो र चिन्ता छ तर गणतन्त्र र जो अहिले बाहुवली र विभिन्न कारणले गर्दा जनता खुलेर आउन सकेको छैनन् । सबैका मनमा यो कुरा छ, अब त्यसको विकल्प छैन भन्ने सबैलाई लागेकोछ ।

 के हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना हुन्छ त ?

 हेर्नुहोस्, यो देशमा ९४ प्रतिशत हिन्दूहरू भएको देश हो । पहिले हुँदाहुँदै पनि विभिन्न नाउमा हिन्दू धर्मलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा भयो । तर हामी अहिले पनि त्यसको विरोधमै छौँ । हिन्दूधर्मको रक्षामै छौँ । मैले पहिले पनि भनेँ तपाईं–हामी सबै यसको पक्षमा छौँ । यसका लागि हामीले अब जनतालाई बुझाउनुपर्छ र हामी त्यसमा लाग्नेछौँ । नेपालमा नहुने के छ र तर त्यसका लागि जनमत संग्रह गर्दा अलि प्रभावकारी हुँदैन ।

अहिलेको अवस्थामा जनताको गणतन्त्रमा मत विभाजन हुनसक्छ । जसरी २०३६ सालमा एउटा नतिजा आएको थियो, त्यो सबैलाई थाहै छ । तर आम नेपालीले चाहेमा यो सम्भव पनि छ । तपाईंले भनेजस्तै हिन्दू राष्ट्र र राजसंस्थाको लागि अहिले पनि सबैको मनमा छ तर व्यक्तमात्र विभिन्न परिस्थितिले जनताले गर्न सकेका छैनन् । अहिलेको यो अवस्थाबाट जनता आजित भइसकेको छन् ।

नेपालमा जे पनि हुनसक्छ, नहुने के छ र ? अहिलेको अवस्था तपाईं हामीले नजिकबाट देखे–भोगेका पनि छौं । देश भद्रगोल छ, चाहे त्यो विकास निर्माण होस् वा अन्य संविधानको परिपालना जसले जे गरे पनि भएको छ । स्पष्ट रुपमा भन्ने हो भने नेपालमा छाडातन्त्र छ । यही अवस्था हो भने जनताले केही न केही विकल्प दिनेछन् । समयको माग हो, जे पनि हुनसक्छ । अहिले मोहन वैद्य, नारायणमान विजुक्षलगायतले बोल्न लागिसकेका छन् ।

सामाजिक, आर्थिक, धार्मिक जन्मदेखि मर्दासम्म हाम्रो संस्कार फेरिएको छैन, व्यवस्था मात्र फेरिएर हुदैन भन्ने सबैलाई जगजाहेरै छ ।

 केन्द्रीय अधिवशेन पनि आउँदैछ, कस्तो नेतृत्व आओस भन्नेमा हुनुहुन्छ ?

 हाम्रा जिल्लातहलगायतका अधिवेशन सकिसकेका छौँ । केन्द्रीय अधिवशेन पनि यही कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने तयारी छ । अबको नेतृत्व वैचारिक रूपमा अब्बल, आफ्ना विचारहरू जनता माझ लैजानसक्ने लोकप्रिय नेतृत्वको प्रतीक्षामा हामी छौँ ।

कार्यकर्तालाई उर्जा दिनसक्ने हाम्रो एजेण्डालाई स्थापित गर्नसक्ने र एउटा देश र जनताका लागि काम गर्नसक्ने जुझारु नेतृत्व आओस भन्ने हाम्रो चाहाना हो । सबै कार्यकर्ताको मनोभाव बुझेर पार्टीलाई राष्ट्रिय र पहिलेकै स्थानमा पु¥याउनसक्ने नेतृत्व हामीले चयन गर्नेछौँ । सबै प्रजातन्त्रवादीलाई गोलबद्ध बनाउनसक्ने नेतृत्व हामीले चयन गर्नेछौँ र त्यो हुनेमा मविश्वस्त छु ।

 अघि पनि भन्नुभयो, देश भद्रगोल छ, विकास निकासदेखि सबै हुनसकेको छैन भनेर दाङको विकासलाई कसरी हेर्नुे भएको छ त ?

 हाम्रो दाङ भौगोलिकदेखि सबै हिसाबले स्वर्गजस्तै देखिने एउटा उत्पयका हो । तर प्रकृतिले दिए पनि त्यो अनुसार यसको विकास हुनसकेको छैन । विकास भएको छ तर त्यो क्वालिटीको जुन जनताले चाहेका हुन् सो अनुसार छैन । हेर्नुहोस् बाटोको अवस्था यस्तो छ, विकास हुँदा विनाश हुन्छ त्यो स्वाभाविक प्रक्रिया हो ।

तर यस्तो विकास जनताले जाहेका होइनन् परिकल्पना पनि गरेका होइनन् । अहिलको यो अवस्था र यस्तो विकासबाट सबै आजित छन् साच्चिकै जनताले चाहको र जनपक्षीय काम हुनसकेको छैन । देशलाई स्वीटजरल्याण्ड बनाउँछौँ, समृद्ध नेपाल सुखी जनता भन्ने नारामा मात्र सीमित भएको छ । चाहे त्यो दाङ होस् अन्य ठाउँ सबैतिर वेथिति छ ।

देशमा रोजगारी छैन यो देश लेवर, मजदुर उत्पादन गरी विदेशमा पठाउने ठाउँ जस्तो भएको छ । लाखौँ नेपाली विदेशिएका छन्, स्वदेशमा रोजगारी छैन यस्तो अवस्था छ । अहिले विकास होस् वा अन्य सबै बाहुबली र पैसामा चलेको छ ।

 लथालिङ्ग भताभुङ्ग विकास र यसको खबरदारी गर्ने जिम्मेवारी तपाईंको पनि होइन र ?

 हाम्रो पनि हो । त्यही भएर त हामीले बेला–बेलामा कुरा उठाउने गरेका छौँ । अब हाम्रो खबरदारी अवश्यक परे हुनेछ । हाम्रो पार्टीमात्र होइन अब सबै जनताले खबरदारी पक्कै गर्नेछन् । अहिलको विकास रङ्गले पोतेजस्तो छ, त्यसको खबरदारी गर्ने समय आएको छ ।

 अन्त्यमा केही भन्नु छ ?

 अन्त्यमा म के भन्न चाहान्छु भने राप्रपा पार्टीको जिल्लाको जिम्मेवारी मेरा काँधमा फेरि पनि आएको छ । यो जिम्मेवारीलाई पूरा गर्न सबैको साथ सहयोग आवश्यक छ । म यो जिम्मेवारी दिने सबै साथीभाइ, कार्यकर्ता, नेतालाई धन्यवाद दिन चाहान्छु र म संगठन निर्माण र जनता जीविकासँग जोडिएका काममा सधैँ लाग्नेछु र मलाई साथ सहयोग सबैले दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

साथै विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीवर्गलाई मैले यही पत्रिकामार्फत् हाम्रो घरआँगनमै आउँदै गरेको शुभदिपावली, छठ पर्वको शुभकामना व्यक्त गर्दै यस पत्रिकालाई पनि धन्यवाद दिन चाहन्छु ।