मलाई गते महिना त याद भएन तर वि.सं. २०६३ सालको वर्षा यामको सुरुआती महिना थियो, त्यो । मेरो जागिर कालीकोटको मान्म अस्पतालमा थियो । त्यहीबेला कालीकोट जिल्लाको अतिदुर्गम बस्ती साविकको सिउना गाविसमा झाडापखाला फैलियो ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशनवमोजिम हामी औषधी लिएर कालीकोटको सिउना गाउँमा पुग्नुपर्ने भयो । म, डा सर्वेश शर्मा र डा सन्तोष श्रेष्ठ हेलिकोप्टरमा सिउना पुग्न नेपालगञ्जबाट उड्यौँ । तर कुहिरो लागेको मौसमका कारण हामी सिउनाभन्दा पनि टाढाको खिनधौला गोहामा ओर्लिन पुगेछौँ । पछि गाउँलेसँग बुझ्दा सिउनामै ल्याण्ड गर्नुपर्नेरहेछ ।
पछि मैले पाइलटलाई धेरै पुकारा गरेपछि बल्ल हेलिकोप्टर सिउनाका लागि उड्यो, जहाँ हामीले करिव ४÷५ सय बिरामीको ज्यान बचाउनुपर्ने थियो । हामी दुई दिन उपचार गरेकै भरमा पूरै बिरामी निको भए । लेखिदिनुहोला मेरो खुसी सिउनामा हेलिकोप्टर ल्याण्डगर्दाको त्यो क्षण … ।
बिरामीलाई उपचार गरी निको पार्नुनै डाक्टरको सबैभन्दा ठूलो खुसी हुँदोरहेछ । एउटा दुईटा होइन, हामीले त्यो बेला करिब ५ सय झाडापखालाका बिरामीको उपचार गरी निको पारेका थियौँ । यदि हेलिकोप्टरको पाइलटले हामीलाई सिउनासम्म नपु¥याएको भए सायद सबैको ज्यान जोगिन सक्ने अवस्था थिएन ।
पैदल पनि पुग्न त सकिन्थ्यो तर त्यहाँबाट थप दुई दिन लाग्ने थियो । हामीलाई सिउनामा ल्याण्ड गर्न गाउँलेहरूले आगो बालेर धुवाँको मुस्लो निकाली इसारा दिएका थिए । पाइलटले त्यसैका आधारमा सिउनामा सकुशल हेलिकोप्टर ल्याण्ड गर्न सफल भए । ती चालकको नाम त याद छैन, तैपनि मैले उनलाई स्मरण गर्न चाहन्छु, किनकि हाम्रो खुसीमा उनको पनि अर्थपूर्ण जागरूकता थियो ।
उनी पाइलट पनि त्यो बेला सहयोग गर्ने धन्यवादका पात्र हुन् । म अहिले पनि उनलाई हृदयदेखि नै धन्यवाद दिइरहन्छु । वर्षेनी झाडापखाला फैलिइरहने त्यो गाउँमा हामीले औषधोपचार मात्र गरेका थिएनौँ । नियमित सरसफाई र खानपानको सचेतना पनि त्यहाँका गाउँलेहरूलाई थप एक दिन बसेर बाँडेका थियौँ ।
मेरो पहिलो स्थायी जागिरको नियुक्ति कालीकोटमै भए पनि जिल्ला सदरमुकामबाट दूरदराजका गाउँमा पैदल उपचार गर्न जाने सम्भव नै थिएन । त्यसमा पनि प्रकोपको समयमा पैदल पुग्न खोज्यो भने धेरै हताहत हुनसक्ने सम्भावना पनि उत्तिकै । तर अहिले सुन्छु, कालीकोटका पनि धेरै गाउँसम्म कतै साना त कतै ठूला सवारी साधन चल्ने बाटो बनेको छ रे ।
हो, मेरा धेरै खुसी स्वास्थ्यसँग जोडिएका छन् । म तपाईंलाई तनहुको तुतुरेको एउटा अविस्मरणीय घटना पनि जोड्न चाहन्छु । स्थायी जागिरे नबन्दै म वि.सं २०६२ सालमा मेरो बुबाको बरखीमा तनहुसम्म पुगेको थिएँ । तनहुको तुतुरे गाउँमा एउटा संस्थामा काम गर्ने क्रममा एकजना महिलालाई सुत्केरी व्यथाले च्यापिरहेको थियो ।
तर बच्चा जन्मनसकेको थिएन । बच्चाको हात अड्केपछि ती महिलाले बच्चा जन्माउन सकेकी थिइनन् । मैले हेरँे र प्रयास गरेँ । पछि बच्चा सकुशल जन्मियो । यद्यपि, म प्रसुती रोगको विशेषज्ञ होइन, तैपनि त्यो बेला मेरो प्रयास सफल भयो । जबर्जस्त नगरी बच्चाका कुनै पनि अङ्गहरूलाई असर नहुने गरी बच्चा जन्माउन सहजीकरण गरेँ । बच्चा र महिला दुवै स्वस्थ भएर घर फर्केका थिए ।
माथि उल्लिखित खुसीका क्षणहरू हुन्, राप्ती प्रादेशिक अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा ओम अर्यालका । उनकै भनाइमा उनका खुसीहरू धेरै त बिरामीहरूको स्वास्थ्योपचारसँगै जोडिएका छन् । तैपनि चिकित्सा क्षेत्र सुरुवातको पहिलो दिनलाई उनी जीवनको अविस्मरणीय खुसीका रूपमा स्मरण गर्न चाहन्छन् ।
त्यो प्रसंग उनले एसएलसी परीक्षाको नतिजालाई पनि जोडे । साँझ बिहान दाउराघाँस र गोठालोको काम भ्याउँदै बाँकी समयमा सरकारी स्कूलमा अध्ययन गरिरहँदा उनी त्यतिबेला शिक्षाको फलामे साङ्लोका रूपमा रहेको एसएलसी परीक्षा । उनलाई फस्ट डिभिजन ल्याउने चाहना थियो, तर ढुक्क भने थिएनन् । एसएलसी परीक्षा दिएर रिजल्टको प्रतीक्षामा थिए ।
मलाई समय पनि सायद याद छ, वि.सं २०४७ सालमा एसएलसी परीक्षा दिएको थिएँ । फस्ट डिभिजनमा उत्तीर्ण हुने सोचेको थिएँ तर आशा गरेको थिएन । साउन महिनाको ४ गते एसएलसी परीक्षाको नतिजा आएको समाचार रेडियोमा आयो । त्यो बेला गाउँमा फोनको सुविधा हुने कुरै थिएन । रिजल्ट गोरखापत्रमा छापिन्थ्यो । म रिजल्ट हेर्न मेरो घरबाट करिब एक घण्टाको ओरालो बाटोमा पर्ने सिम्ले बजार पुगेँ ।
दिउँसो ४ बजेतिर सिम्लेमा गोरखापत्र आयो । मेरो नतिजा प्रथम श्रेणीमा थियो । गोरखापत्रमा मेरो सिम्बल नम्बर ४०३९६ ‘आर’मा कलमले अण्डरलाइन गरेँ अनि म सोझै त्यही उकालो घरतर्फ लागेँ । सधैँ सवाघण्टा लाग्ने उकालो मैले त्यो दिन आधा घण्टामै पार गरेँ । सबैभन्दा पहिले मैले त्यो खुसी बुबा लोकप्रसाद अर्याल र आमा इन्द्रकुमारी अर्याललाई सुनाएँ । बधाई छ कान्छा, धेरै पढेर डाक्टर बन्नु उहाँहरूको आशीर्वाद थियो ।
हो मेरो खुसी एसएलसीमा फस्ट डिभिजन …। घरमा गाई गोठालोसँगै दाउराघाँस समेत भ्याएर पढ्दै गरेका अर्यालले शिक्षकले दिएका गृहकार्य त स्कूल र बाटोमै भ्याउँथे । पढाइ यो बेलाको जस्तो सुविधाजनक थिएन, निकै चुनौतीपूर्ण र संघर्षशील पनि थियो ।
सधैँ सरकारी स्कूलमा पढेको मान्छे , मैले कुनै कक्षामा तेस्रोसम्म भएँ तर धेरै कक्षाहरूमा मलाई दोस्रो पनि हुनुपरेको थिएन । त्यसबेलाको एसएलसीमा मैले जिल्ला टप गरेको थिएँ । जिल्ला टप हुँदा मेरो मार्कसिटमा प्राप्ताङ्क प्रतिशत ७५ प्रतिशत नाघेको थियो ।
सायद त्यो स्कूलबाट त्यसभन्दा पहिले र त्यसभन्दा पछि कसैले पनि जिल्ला टप गर्नसकेका छैनन् र त्यो स्कूलबाट पढ्ने म बाहेक अन्य कोही पनि डाक्टर बन्नसकेका छैनन् । थपिदिनुहोला मेरो खुसी महाकाली मावि सिम्ले धादिङ । जुन स्कूलले मलाई यो सेवासम्म दौडाएको छ ।
त्यसैले त मेरो नाम आइए (फार्मेषी)मा निस्कियो । त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसमा छात्रवृत्तिमा फार्मेषी उत्तीर्ण गरेँ । खुसीहरू एकपछि अर्को जोडिँदै गए । मेरो डाक्टर बन्ने इच्छा पनि छँदै थियो । अहिलेसम्म पनि सो स्कूलबाट पढेर डाक्टर भएको म मात्रै हुँ, इन्जिनियर र अन्य ओहदामा त्यहाँका विद्यार्थी होलान्, तर जिल्ला फस्ट भएको र डाक्टर भएको म सायद एक्लो हुँ ।
त्यसपछि मैले त्रिविवि शिक्षण अस्पतालमै स्कलरसिपमा एमविविएस पढ्ने अवसर पाएँ । त्यसपछि केही समय जागिरपछि वीर अस्पतालको नेम्समा हाडजोर्नी विषयमा एमडी गर्ने अवसर पनि पाएँ । अहिले म चिकित्सा पेशासँग जोडिएको छु ।
वि.सं २०२९ साल धादिङ जिल्लाको गोगनपानीमा जन्मिएका डा अर्यालले प्राथमिक तह सोही गाउँकै वागवछला स्कूलमा । त्यसपछि खोलापारिको महाकाली मावि सिम्लेबाट एसएलसी उत्तीर्ण गरेँ । पढाइ पूरा गरेपछि दोलखाको जिरीमा ११ महिना चिकित्सा पेशा गरेका डा अर्यालले वि.सं २०६३ सालदेखि निजामति सेवामा जोडिए ।
हाल तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा हाडजोर्नी विशेषज्ञका रूपमा कार्यरत छन् । अस्पतालको सेवासँगै अतिरिक्त समय उनी तुलसीपुरको चिनारी पाल्पाली अस्पतालमा पनि काम गर्दै आएका छन् । भन्छन्, ‘खुसी भनेको अरूको पीडामा साझेदार बन्नु, अरूको घाउमा मल्हम लगाउनु, अर्थात् अरूको सेवा नै खुसी हो, अरूलाई खुसी पार्नसक्नु नै खुसी हो ।’
प्रस्तुती : खेमराज रिजाल